दुई वर्षदेखि वडासचिवविहीन

कान्तिपुर संवाददाता

नवलपुर — बुलिङटार– १ का वडाध्यक्ष दिलबहादुर सूर्यवंशी झोलामा स्टाम्पलगायत सामग्री बोकेर गाउँ डुल्छन् । जहाँ आवश्यक पर्छ, त्यहीँ वडावासीको निवेदन र सिफारिस तयार गर्छन् । यस्तो काम कर्मचारीको हो ।

सूर्यवंशीले यो काम रहरले गरेका होइनन् । वडामा २ वर्षदेखि सचिव नहुँदा उनको दिनचर्या यसरी नै बितेको छ । ‘केन्द्रले वडासचिव पठाएन,’ उनले भने, ‘विकट गाउँ भनेर कर्मचारी नआउँदा जनप्रतिनिधी आफै सिफारिस लेख्ने, हस्ताक्षर गर्ने र कार्यालय चलाउनु पर्ने अवस्था छ ।’


बुलिङटार गाउंपालिका नै विगत दुई वर्ष देखी वडासचिव विहीन छ । कर्मचारी नहुँदा प्रशासनिक काम प्रभावित बनेको छ । ६ वटा वडा रहेका गापामा स्थानीय चुनावपछि नै सचिव छैन्न । भौगोलिक विकटताको कारण कर्मचारी आउन नमान्ने गाउंपालिकाका प्रमुख प्रशासिकय अधिकृत विष्णुप्रसाद ढुङ्गानाले बताए ।


दरबन्दी अनुसार कर्मचारी आउन नमान्ने र प्रमुख प्रशासकयि अधिकृत पनि दुई वर्षमा तीन जना फेरीदा कामकाज प्रभावित हुने गरेको छ । कर्मचारी अभावमा केही वडामा स्वास्थ्य शाखाका कर्मचारीले वडासचिवको जिम्मा लिएपनि दुई वटा कार्यालय एकै पटक संचालन गर्न असहज भएको छ ।


वडा ६ मा पनि वडासचिव नहुँदाको मर्का उस्तै छ । दुई वर्षअघि निर्वाचित भएर आएपछि सचिवको काम आफै गर्ने गरेको वडाध्यक्ष सूर्यबहादुर रानामगरले बताए । ‘सचिवको माग गर्दै सम्बन्धित निकायमा पुगियो,’ उनले भने, ‘तर अहिलेसम्म व्यवस्था भएको छैन ।’ वडाअध्यक्ष विभिन्न कार्यक्रममा सहभागी हुनुपर्छ । विकट पहाडी क्षेत्र भएकाले एउटै वडामा पनि एकडेढ घण्टा हिंड्नुपर्ने अवस्था छ । सेवाग्राही वडाध्यक्ष खोज्दै घण्टौ हिंड्नुपर्ने बाध्यता रहेको वडा ३ का दिलिप सारुले गुनासो गरे ।


गापा अध्यक्ष शशिकिरण बस्ताकोटीले भौगोलिक विकटताका कारण कर्मचारी गाउँमा नटिक्ने बताए । कर्मचारी समायोजनमा समेत बुलिङटारलाई बेवास्ता गरिएको र कर्मचारीको रोजाइमा नपरेपछि कर्मचारी अभाव भएको हो । प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्थानीय तहमा उद्यमी बढाइँदै

कान्तिपुर संवाददाता

बागलुङ — जिल्ला रेडक्रसको अगुवाइमा ४ स्थानीय तहमा विपद् व्यवस्थापन प्रतिकार्य योजना निर्माण गरिएको छ । बागलुङ र जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् ।

स्थानीय तहमै विपद्विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै जोखिम र क्षति कम गर्ने योजना बनाइएको हो । योजनाले उद्धारकर्ताको क्षमता विकास गर्ने ऊद्देश्यसमेत राखेको रेडक्रसका कार्यत्रम संयोजक श्यामप्रसाद कोइरालाले बताए ।

योजना बनाइएका स्थानीय तहका हरेक वडामा १२ जनाको दरले खोजी तथा उद्धार कार्यदल बनाइएको छ । हरेक वडामा ११ देखि १७ जनासम्मको व्यवस्थापन समिति र उद्धार कार्यदल बनाएर आवश्यक सामग्री पनि वितरण गरिएको छ । ‘समूह र कार्यदलले प्रारम्भिक रूपमा काम गरिरहेका छन्,’ कोइरालाले भने, ‘सबै स्थानीय तहको समन्वयमा सबै वडामा यस्ता कार्यदल र उद्धार समितिहरू बनाउने तयारी छ ।’ कार्यदल र समितिमा रहेका सदस्यलाई नेपाली सेना, प्रहरी र रेडक्रसले तालिम र सामग्री दिने उनले बताए ।

गाउँ र नगरपरिषदहरूले विपद् व्यवस्थापन ऐन पनि बनाएका छन् । ‘गत वर्ष संसदले ऐन बनाएपछि स्थानीय ऐन बनाएका छौं,’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, ‘कुनै पनि घटनाबाट हुने क्षति न्यूनीकरणमा ऐन र योजना उपयोगी हुनेछन् ।’

२०७२ को भूकम्पपछि नेपाल सरकारले विधेयकमार्फत विपद् व्यवस्थापनको नीति ल्याएको थियो । अब हरेक वडातहमै कार्यदल बन्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । योजनामा घटनाको एकदेखि २४ घण्टासम्म घटनास्थल पुगेर गरिने खोजी र उद्धारदेखि १ महिनासम्ममा पुनःस्थापना, राहत तथा अन्य व्यवस्थापनसहितका काम समावेश छन् ।

रेडक्रसको अध्ययनबाट जिल्लामा सबैभन्दा धेरै आगलागीका घटना हुने देखिएको छ । आगलागी नियन्त्रणका लागि पूर्वतयारी तथा सहयोगी सामग्री सबै तहमा पुर्‍याइएको रेडक्रस सभापति जब्बरबहादुर लामिछानेले बताए ।

‘बाढीपहिरोबाट बच्न गाउँ तहमा निर्माण गरिने सडक व्यवस्थापन पहिलो आवश्यकता हो,’ लामिछानेले भने, ‘मानव निर्मित संरचनालाई सुरक्षित बनाउन हरेकनागरिक सचेत बन्नुपर्छ ।’ विपद् व्यवस्थापनबाट बचाउन यहाँका विद्यालय तहमा पनि सुरक्षा योजना बनाउन थालिएको छ ।

त्यस्तै विद्यालय तहमा कृत्रिम घटनामार्फत उद्धारमा सक्रिय बनाउने कामसमेत थालिएको तित्याङ माविका प्रअ कुमार पौडेलले बताए । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका गरी ४० बढी बिद्यालयमा योजना बनिसकेको हो । योजना बनाएका विद्यालयका अभिभावक र विद्यार्थीलाई सेनाको विज्ञ टोलीले उद्धारसम्बन्धी तीन तीनदिने तालिमसमेत दिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×