कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरेलु मदिरा बनाउन छुट दिन गुरुङको माग

लमजुङ — ‘हाम्रो संस्कार अनुसार पा (घरेलु मदिरा) मर्दापर्दा चाहिन्छ । परपाहुनालाई स्वागत गर्ने पनि यही हो । यो बिना हामी आफ्नो संस्कार पुरा गर्न सक्दैनौं । हाम्रो इज्जतको सवाल पनि यसमै हुन्छ ।’

तमु हृयुला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाईका अध्यक्ष मोहनप्रसाद गुरुङले यसो भनिरहँदा भांग्रा लगाएर मञ्चमा बसेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई आफ्नो नोटबुकमा लेख्दै थिए ।


मोहनप्रसादले थपे, ‘घरेलु मदिरा नियन्त्रण गर्ने नाउँमा हाम्रो संस्कारमाथि हस्तक्षेप भएको छ । घरका लागि पारिएका रक्सी प्रहरीले उठाउने गरेको छ । सीडीयो साप, अब यसो गरिदिनुभएन ।’ जिल्लाका गुरुङ समुदायले बुधबार बेंसीसहरस्थित तमु संग्रहालयमा प्रजिअ भट्टराईको स्वागत तथा सम्मान गर्दै घरकै लागि र सांस्कृतिक क्रियाकलापका लागि तयारी तथा तयार पारिएका मदिरा नियन्त्रण नगर्न माग गरेका हुन् ।


तमु प्ये ल्हु संघका अध्यक्ष मिलबहादुर गुरुङले सांस्कृतिक कार्यमा मदिरा अनिबार्य रहेको बताए । ‘हाम्रो पितृकार्यका समेत मदिराको प्रयोग हुन्छ । विवाह, पुटपुटे, छेवर, अर्घुंलगायत कार्यमा घरेलु मदिरा नभई हुँदैन । यो हाम्रो रहर होइन,’ उनले भने, ‘यसलाई नियन्त्रण गरिए हाम्रो संस्कृतिलाई नमाने पनि भयो ।’ उनले संस्कारसंस्कृति र पाहुनालाई स्वागतस्वरूप दिइने कार्यका लागि तयार गरिने मदिरामा रोक नलगाउन उनले आग्रह गरे ।


तमु हृयुला छोंज धींका गण्डकी प्रदेश उपाध्यक्ष खडबहादुर गुरुङले संस्कार र संस्कृति मनाउन पाउने संवैधानिक अधिकार भएको जिकिर गरे ।


‘हाम्रो संस्कारमा मदिराबिना कुनै कार्य हुँदैन । यो हाम्रो सदियौंदेखिको परम्परा हो । यो हाम्रो इज्जतसँग जोडिएको विषय पनि हो,’ उनले भने, ‘बरु मदिरा खाएर कुनै पनि गुरुङ बाटोमा देखिए भने हामीलाई खबर गर्नुस् । वा सम्झाइबुझाइ घर पठाइदिनुस् ।’ तमु हृयुला छोंज धींका जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङले व्यावसायिक रुपमा घरेलु मदिराको बिक्रीवितरण रोक्नुपर्ने तर, व्यावहारिक कार्यका लागि घरमै उत्पादन गरिएका मदिरालाई नियन्त्रणमा नलिन प्रजिअलाई आग्रह गरे । ‘संस्कार संस्कृति माथिको नियन्त्रणले समुदायमा शान्तिसुरक्षा कायम हुन सक्दैन । यसले उल्टै समुदाय र प्रशासनबीचको दूरी बढ्न सक्छ,’ उनले भने ।

प्रकाशित : वैशाख २८, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?