गोरखा दरबार पुनर्निर्माण : १४ महिनामा जगमात्रै

हरिराम उप्रेती

गोरखा — गोरखा दरबार पुनर्निर्माण सुरु भएको १४ महिना जगकै निर्माणमा बितेको छ । पुरातत्त्व विभागको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण दरबार पुनर्निर्माणको काममा ढिलाइ भएको हो ।

२०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनेको गोरखा दरबार । तस्बिर : हरिराम/कान्तिपुर

निर्माणका लागि २०७४ कात्तिक २९ मा ठेक्का सम्झौता गरेको पचली सिवाको जेभी कन्स्ट्रक्सनले सोही वर्ष पुस २ बाट काम सुरु गरेको थियो । २०७६ मंसिरमा पुनर्निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौतामा उल्लेख छ । बितेको १४ महिनाको प्रगति हेर्दा लक्ष्य भेट्न मुस्किल पर्ने सरोकारवाला बताउँछन् ।

हालसम्म दरबार पुनर्निर्माणको २५ प्रतिशत प्रगति रहेको पुरातत्त्व विभागका प्राविधिक कुवेर पोखरेलले बताए । ‘जगको काम लगभग सकियो,’ उनले भने, ‘ढुंगा राख्ने, जग सम्याउने काम सकेर लकासी राख्न बेस स्टोन राखेका छौं ।’ निर्माणस्थलमा भेटिएको ढुंगाले जगलाई ‘लेवल’ मा ल्याउन समय धेरै लागेको उनको भनाइ छ ।

एक सातायता पुनर्निर्माणको काम फेरि रोकिएको छ । काठ अभावमा पुनर्निर्माण रोकिएको पोखरेलले बताए । ‘कम्तीमा डेढ सय क्युबिक फिट काठ तत्काल चाहिने भयो । काठ नहुँदा काम भएन, कामदार पनि घर गए,’ उनले भने, ‘अब थामको काम सुरु गर्ने हो । ३२ वटा थाम चाहिन्छ, दुई–चार दिनमा काठ आएपछि काम सुचारु हुन्छ ।’

टिम्बर कर्पोरेसनबाट काठ ल्याउन प्रक्रिया चलिरहेको उनले बताए । ‘लोकल काठ राखेर भएन, ठूलो साइजको पनि चाहिन्छ । पुरातत्त्व विभागको मापदण्डअनुसार पनि हुनुपर्‍यो,’ उनले भने । २ वर्षको समयसीमा पाएको ठेकेदार कम्पनीले आवश्यक पर्ने काठलगायतका निर्माण सामग्रीको समयमै जोहो गर्न नसक्दा पुनर्निर्माण पटक–पटक रोकिने गरेको छ । ‘थाम राखेपछि झ्याल–ढोका राख्ने र गारो लगाउने काम एकैचोटी सुरु गर्न मिल्छ,’ प्राविधिक पोखरेलले भने ।

ठेकेदार कम्पनीले निर्माणस्थलमा कामदार निकै कम संख्यामा खटाउँदा पनि पुनर्निर्माणले गति लिन नसकेको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले बताए । ‘काम गर्ने मान्छे आठ–दसजना छन्, काममा निकै ढिलाइ भएको छ,’ उनले भने, ‘एकातिर काठ ल्याएर काम गर्ने, अर्कातिर गारो लगाउने गरेको भए धेरै काम सकिन्थ्यो ।’ पुनर्निर्माणलाई गति दिन पटक–पटक सचेत गराएको उनले बताए । ‘राजगद्दीको भागमा एउटा चट्टान छ, त्यहाँ एउटा थाम राख्न पर्नेछ । त्यो ढुंगा चलाउन मिल्ने नमिल्ने यसै भन्न सकिएन, स्ट्रक्चर इन्जिनियरलाई देखाएर प्रतिवेदन नबनाई त्यो काम पनि अघि बढाउन मिलेन,’ उनले भने ।

शाहवंशीय राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मले राज्य गरेको समयको ऐतिहासिक दरबार पुरानै स्वरूपमा पुनर्निर्माण हुने कट्टेलले बताए । राम शाहले उक्त दरबार विसं १६६६ मा निर्माण गरेको इतिहासमा उल्लेख छ । ४ करोड ३७ लाखको लागतमा दुई वर्षभित्र दरबार पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । दरबार पुनर्निर्माणको क्रममा यसअघिका काष्ठकलाका सामग्री र इँट्टा पुनर्निर्माणका क्रममा प्रयोग गर्न सुरक्षित स्थानमा राखिएको छ ।

पुरातत्त्व विभागले दरबार पुनर्निर्माणस्थलमा अनुगमन निरीक्षणलाई तीव्रता दिनुपर्ने स्थानीयहरू बताउँछन् । १४ महिनाको अवधिमा कहिलेकाहीं मात्र अनुगमन हुने गरेको भन्दै यहाँ भेटिएका स्थानीय र कर्मचारीले असन्तुष्टि जनाए । दरबार पुनर्निर्माण निर्धारित समयमै सक्न पनि यहाँका स्थानीयले माग गरे । ‘बाटोभरि निर्माण सामग्री छन्, खुला ठाउँ छैन,’ स्थानीय दीपक योगीले भने, ‘भक्तजन हिँड्न–डुल्नै गाह्रो छ, कामलाई तीव्रता दिएर समयमै सके त सबैलाई सजिलो हुन्छ नि ।’ दरबार पुनर्निर्माण सके यहाँ आउने भक्तजनको संख्यामा उल्लेखनीय वृद्घि हुने उनको बुझाइ छ ।

‘ठेक्का लिएपछि समयमै काम सक्नुपर्छ, कामदार कम भएर हो वा अरू केही कारणले ढिला भयो बुझ्न सकेका छैनौं,’ उनले भने, ‘कामदारको व्यवस्था गर्ने काम त ठेकेदारकै हो ।’ यहाँ भेटिएका अधिकांश स्थानीयले दरबार पुनर्निर्माणमा ढिलाइ भएको भन्दै चिन्ता जनाए । ‘जति सजिलो गरी भत्काए, त्यसैगरी बनाउन सकेनन्,’ गोरखा नगरपालिका–५ गैरीकुवाका हरेराम अर्यालले भने, ‘भत्काउन समय नै लागेन, एक वर्षभन्दा बढी समय भयो, कामको अवस्था निकै निराशाजन छ ।’

डाँडाको चुचुरोमा रहेको दरबारसँगै बनेको कालिका मन्दिर पनि जीर्ण बन्दै गएको छ । भूकम्पका कारण गारोको केही भाग चर्किएको छ भने कालिका मन्दिरको छानाको झिंगटी बाँदरले खसालेर पानी चुहिन थालेपछि जस्ता राखिएको छ । ‘गोरखा दरबार पुनर्निर्माण नसकी कालिका मन्दिरको काम सुरु गर्ने अवस्था छैन,’ हेरचाह अड्डाका कट्टेलले भने, ‘यताको सामान पनि उता लगेर राखेका छौं, दुईवटा संरचना एकैचोटि बनाउँदा ठाउँको पनि अभाव हुन्छ ।’ २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि गोरखा दरबारको पुनर्निर्माण सुरु भएको हो ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

प्राविधिक कक्षाका लागि कोष

कान्तिपुर संवाददाता

बागलुङ — गाउँमा रहेको विद्यालयमा प्राविधिक धारको कक्षा सञ्चालन गर्न आर्थिक सहयोग संकलन थालिएको छ । ताराखोला गाउँपालिकाको नेपाल माविले स्वर्ण महोत्सवको अवसरमा कोष स्थापना गरेर कृषि प्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको हो ।

कम्तीमा डेढ करोड रुपैयाँ संकलन गरेपछि उक्त कोषको ब्याजले कक्षा सञ्चालन गर्न सकिने व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए । उनका अनुसार अभियान सुरु भएको दुई सातामै सहयोगीले ७० लाख रुपैयाँ बराबरको सहयोग दिने वचन दिएका छन् ।

ताराखोला गाउँलाई नै अर्गानिक गाउँ बनाउने गरी गाउँपालिकाले योजना अगाडि सारेपछिप्रयोगातात्मक अभ्याससमेत हुने गरी विद्यालयले योजना अगाडि सारेको हो । गाउँपालिकाका सबै वडामा कृषि फसल, नगदेबाली र पशुपालनका बृहत् योजना बनाइएको छ । ती योजनाअनुसार धेरै किसानले कामसमेत थालेका छन् ।

‘किसानको उत्पादनको बजारसमेत बढाउन यस्ता योजना सहयोगी हुनेछन्’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘प्रदेश सरकारले हालै जारी गरेको नीतिले पनि हाम्रो गाउँपालिका सूचीकृत हुने देखिएको छ ।’ ताराखोलामा अल्लो, नेपाली हातेकागज, अलैंची, आलु, किवी, तरकारी र दूध उत्पादन प्रशस्त भइरहेको छ । गेडागुडीको उत्पादन बजार क्षेत्रमा पनि सहजै बिक्री भइरहेको छ ।

लिमे र पाराकोटे जातका भैंसी संरक्षणको अभियानसमेत यो गाउँपालिकामै सञ्चालित छ । पशुपालन गरेका किसानले दैनिक सदरमुकाममा दूध पठाउने गर्छन् । पशु चरन क्षेत्र र घाँस पाइने भएकाले किसानलाई प्रोत्साहनको कार्यक्रमसमेत गाउँपालिकाले ल्याएको छ । स्थानीय जातका भैंसीका पाठापाडी संरक्षण गर्दा हरेक सुत्केरी भैंसीलाई १ हजार रुपैयाँ भक्ता दिने कार्यत्रमसमेत बनाइएको छ । ताराखोलाकै किसानले ट्राउट माछा पालनको काम पनि थालिसकेका छन् ।

ताराखोलामै साना सिँचाइका योजना पनि दर्जनभन्दा बढी सञ्चालनमा छन् । घरघरमै कृषि उद्यमी बनाउने लक्ष बनाएर गाउँपालिकाले लगानीसमेत गरेपछि किसान पनि उत्साहित छन् । ‘हामीले खेती गरेको देखेर लगानीसमेत गरिदिएपछि उत्पादन बढाउने हौसला पलायो’ ताराखोला–२ का टोपबहादुर रोकाले भने, ‘कृषिको व्यावसायिकीकरणका लागि सडकको मर्मतसमेत भइरहेको छ ।’ राम्रो सडक भएमा सहजै बजारमा कृषि उत्पादन लैजान सकिनेउनले बताए ।

तारा माविमा अहिले पनि ५ सय विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीमध्ये विद्यालय तहको परीक्षा उत्तीर्ण गरेपछि गाउँमै उच्च शिक्षा पढाउने लक्ष्य बनाइएको हो । ‘पहिलो चरणमा उच्च मावि तहको पढाइ सञ्चालन गर्दै पछि क्याम्पस तह पनि चलाउने योजना छ’ खत्रीले भने, ‘हाम्रो अभियानलाई राज्यका सबै तहले साथ दिनैपर्छ ।’

स्वर्ण महोत्सवको साताव्यापी कार्यक्रमको बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । उनले पनि कृषिको उर्वर क्षेत्रमा व्यावसायिक खेती विकास गर्ने, युवालाई कृषि क्षेत्रमै रोजगार बनाउने गरी सरकारका योजना आएको बताए । आगामी दिनमा पनि थप योजना ल्याएर युवालाई पलायन हुन बाट रोक्ने उनले आश्वासन समेत दिएका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्