एकीकृत बस्तीको पर्खाइमा लाप्राकी

भूकम्पपीडितका लागि एनआरएनएले गुब्सीपाखामा बनाउन लागेको एकीकृत बस्तीको निर्माण सुस्त
लाप्राकीलाई चारवटा हिउँद र बर्खामा टहरोको बसाइँ निकै कष्टकर
हरिराम उप्रेती

लाप्राक, गोरखा — बारपाकको नाम नसुकेकाले पनि २०७२ वैशाख १२ को भूकम्पपछि सुने । भूकम्प त्यसबेला त्यो गाउँलाई केन्द्रविन्दु बनाएर आएको थियो । बारपाक जतिकै क्षति छिमेकी गाउँ लाप्राकमा पनि भयो ।

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको गुब्सीपाखामा भूकम्पपीडितका लागि निर्माणाधीन एकीकृत बस्ती । तस्बिर : हरिराम/कान्तिपुर 

बारपाक जसरी घर भत्किएकै ठाउँमा लाप्राकीले बस्ने अवस्था भएन । यसको कारण भूकम्पकै केही वर्षअघिको पहिरो थियो । दुई घटनाले बस्तीको जमिन धाजा फाट्यो । भूकम्पपछि जोखिम बस्ती अध्ययनमा पुगेको भूगर्भविद्को टोलीले लाप्राकको पुरानो बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दियो । थातथलो भत्किएर जोखिम भएपछि लाप्राकीले नजिकको गुब्सीपाखामा टहरो बनाई आश्रय लिएका थिए ।

जिल्लाका अधिकांश पीडितका घर सरकारी अनुदानबाट बनिरहँदा लाप्राकका ५ सय ७३ घरधुरी निर्माणको जिम्मा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लियो । गुब्सीपाखामा घर बन्ने भएपछि लाप्राकी शरण लिन लाखापाखा लागे । धेरैले पुरानो थलो नै मर्मत गरेर मुन्टो लुकाउन मिल्ने बनाए ।

२०७३ माघ ३ मा आठ महिनाभित्रै बस्ती निर्माण सकेर हस्तान्तरण गर्ने योजनासहित नमुना बस्तीको काम सुरु भयो । संघलाई घर बनाउन नेपाली सेनाले पनि आफ्नो जनशक्ति पठाएर सहयोगको हात बढायो । छिटै सुविधासम्पन्न घर पाउने आशमा बसेका लाप्राकी अब भने निराश छन् । घरहरू अझै तयार भइसकेका छैनन् ।

लाप्राकको पुरानो बस्तीभन्दा केही माथि रहेको डाँडा गुब्सीपाखा हिउँदमा अत्यधिक हिमपात हुने ठाउँ हो । भौगोलिक अवस्थिति र मौसमको हेक्का नगरी एनआरएनएले घोषणा गरेको एकीकृत बस्तीको योजना अझै कहिले पूरा हुन्छ भन्ने टुंगो छैन ।

‘सुरुमा आठ महिनामा काम सकिन्छ भन्दा आशावादी थियौं । त्यो बेला घडेरी खार्ने काम भयो,’ स्थानीय आशबहादुर गुरुङले भने, ‘फेरि एक वर्षमा जसरी पनि सक्छौं भन्नुभयो । यसरी म्याद सरेको तीन वर्ष बित्यो ।’ यतिबेला हिमपातले गुब्सीपाखा सेताम्य छ । अत्यधिक चिसो भएकाले निर्माणको काम रोकिएको छ ।

एनआरएनएले पछिल्लो पटक आगामी वैशाख १२ अगावै निर्माण सक्ने भन्दै स्थानीयलाई आश्वस्त पारेको छ । अवस्था यस्तै रहे उक्त अवधिमा पनि घर नबन्ने स्थानीय मारिससिं गुरुङ बताउँछन् । ‘घडेरी खार्दासम्म पनि समयमै काम सकिन्छ भन्ने लागेको थियो,’ उनले भने, ‘घडेरी खारेपछि काममा निकै सुस्तता भयो । थोरै कामदार छन्, यस्तै तरिकाले काम भए यो वैशाख होइन, अझै दुई/तीन वर्ष यस्तै हो ।’ कामदार बढाएर भए पनि छिटो पुनर्निर्माण सक्नुपर्ने उनले बताए ।

‘यहाँको भूगोल, मौसम, बाटोको अवस्थाको ख्याल नै नगरी काम भइरहेको छ,’ उनले भने, ‘बर्खामा गाडी चल्दैन । बाटो नबिग्रँदै निर्माण सामग्री ल्याएर स्टक गर्नुपथ्र्यो । त्यतातिर ध्यान छैन, अहिले हिउँ परेर काम रोकिएको छ । मौसम सफा हुँदा कामदार बढाएको भए धेरै काम सकिन्थ्यो ।’ यहाँ भेटिएका अधिकाश स्थानीयले अबको तीन महिनाभित्र बस्ती बनिसक्नेमा ढुक्क नभएको बताएका छन् ।

एनआरएनएको ढिलाइले चारवटा हिउँद र बर्खामा टहरोको बसाइँ कष्टकर बनेको स्थानीय तेजमाया गुरुङले बताइन् । ‘यति समयमा उति समयमा भ्याइन्छ त पटक–पटक सुनेका छौं । यो भन्ने कुरा रहेछ,’ उनले भनिन्, ‘गुब्सीको घरमा सर्ने भनेर भत्किएको घरको काठपात बारेर टहरोमा बसेका छौं । चाँडो सकिंदैन भनेर पहिल्यै भनेको भए राम्रै घर बनाउँथे होला । अहिले आसैआसमा दु:ख पाइयो ।’

गुब्सीपाखामा बन्ने घरका लागि यहाँका लाभग्राहीले आठ ट्याक्टर ढुंगा र ४० बोरा गिटी उपलब्ध गराएका छन् । पछिल्लो समय एनआरएनएले काठ ढुवानीमा पनि सघाउनुपर्ने अर्को सर्त अघि सारेको स्थानीय गणेश गुरुङले बताए । ‘काम जति ढिला हुँदै गयो, नयाँ–नयाँ सर्त आएको छ,’ उनले भने, ‘पहिले ढुंगा र गिटी दियौं । अहिलेकाठ बोक्न पर्छ भनेका छन्, सम्झौतामा यस्तो छैन ।’

बस्ती निर्माणले पूर्णता नपाउँदा गाउँले पुरानै घर मर्मत गरेर बस्न थालेका छन् भने घर मर्मतको क्षमता नभएकाहरू टहराकै ओतमा दिन काटिरहेका छन् । गुब्सीपाखामा एनआरएनएले बनाइरहेका घर साँघुरो हुने र चिसोले बाह्रैमास बस्न गाह्रो पर्ने अधिकांश लाप्राकीको भनाइ छ । एकातिर बस्ती निर्माणमा ढिलाइ, अर्कातिर डाँडामा हुने हिमपातले बस्न गाह्रो पर्ने भन्दै अधिकांशले जोखमि रहेको भनिएको पुरानै बस्तीमा स्थायी र अस्थायी प्रकृतिको घर निर्माण गरिसकेका छन् । आर्थिक अवस्था कमजोर रहेका पविारहरू भने नयाँ घर पर्खिरहेका छन् ।

‘खेती गर्ने जग्गा पुरानै बस्तीमा छ । गुब्सीपाखाबाट बारीसम्म आउजाउ गर्न आधा दिन लाग्छ,’ जुनी गुरुङले भनिन्, ‘लाप्राकको मान्छेको घरमा धेरै सामान र अन्नपात हुन्छ । त्यो साँघुरो कोठामा सबै अँट्दैन ।’ वर्षभरी खाने अन्न उब्जाउने जग्गा छाडेर गुब्सीपाखामा स्थायी रुपमा बस्न गाह्रै पर्ने उनले बताइन् । समुद्र सतहबाट २७ सय मिटर उचाइको गुब्सीपाखामा हिउँद याममा चिसो अत्यधिक हुन्छ । ‘बूढाबूढी मान्छेलाई गुब्सीको घरमा बस्न गाह्रो छ । घर नबन्दै यहाँका बूढाबूढीले गुब्सीको घर गए त चिसोले मरिन्छ भन्ने गरेका छन्,’ उनले भनिन् ।

नमुना बस्ती निर्माणलाई तीव्रता दिइएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले दाबी गरे । ‘एकीकृत बस्ती भनेपछि बाटो र पानीलगायतका संरचनाहरू पनि पर्ने भए । यी काम सक्न समय लाग्ला,’ उनले भने, ‘कम्प्लीट हाउस वैशाख १२ अगावै हुन्छ ।’ सबैको जग, डीपीसी र पहिलो तलाको झ्यालमुनिको काम सकिएको उनले बताए ।

उनका अनुसार ३ सय ८५ को ट्रस्ट लगाउने, ८९ को छाना राख्ने र १ सय ३० वटा घरको दोस्रो तलामा एसी ब्लक लगाउने काम सम्पन्न भइसकेको छ । ‘पहिलो तलाको ९५ र दोस्रो तलाको ३० प्रतिशत प्रगति छ,’ उनले भने । नेपाली सेनाका १ सय ६० सहित एनआरएनएका १ सय ३५ कामदार निर्माणमा खटिएका छन् । ‘३५ ग्रुप बनाएर काम भइरहेको छ । लक्ष्य भेटाउन मौसम सफा हँुदा बिहान ७ बाट साँझ ५ बजेसम्म काम हुन्छ,’ उनले भने, ‘यहाँको मौसमले काममा बाधा पारिरहन्छ । पानी पर्ने, हिउँ पर्ने, घाम लाग्ने १ घण्टामा पाँचवटा मौसम देख्न सकिन्छ ।’

गुब्सीपाखामा घर निर्माणमा सघाउने नेपाली सेनाको संख्या बढाउन पनि भनिएको उनले बताए । १८.३ हेक्टर क्षेत्रफल जग्गा स्वामित्वमा लिएर गुब्सीपाखामा दुईतले चारकोठे घर निर्माण भइरहेको हो । श्रमदानसहित एक घर निर्माणका लागि १२ लाख लाग्ने अर्यालले बताए ।

बस्ती निर्माण चाडो सक्न पहल भइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘काम ढिलो भयो । योपल्ट वैशाख १२ को लक्ष्यभित्र सक्न भनेका छौं,’ उनले भने, ‘स्कुल माथि सरिसक्यो, तल बस्तीबाट बच्चाहरूलाई पुग्न एक/डेढ घण्टा लाग्छ ।’ ४२ जना पीडित लाभग्राही सूचीमा समावेश नभएकाले सम्बोधनका प्रयास जारी रहेको उनले बताए ।

प्रकाशित : माघ २०, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

तल्लो सेती जलविद्युत्‌ : प्राविधिक प्रस्ताव मूल्यांकन गरिंदै

आशयपत्र मार्फत छनोट भएका ६ वटा कम्पनीका प्रस्ताव मूल्यांकनपछि परामर्शदाता छनोट गरिने
कान्तिपुर संवाददाता

दमौली — प्रस्तावित आयोजना १०४ मेगावटको तल्लो सेती निर्माणको काम अघि बढाउन परामर्शदाता फर्मको प्राविधिक प्रस्तावको मूल्यांकन अन्तिम चरणमा पुगेको छ । आशयपत्र मार्फत छनोट भएका ६ वटा कम्पनीका प्रस्ताव मूल्यांकनपछि परामर्शदाता छनोट गरिने तनहुँ हाइड्रोपावर कम्पनीका उपप्रबन्धक श्यामजी भण्डारीले बताए ।

तनहुँमा तल्लो सेती जलविद्युत् आयोजनाको पानीको बहाव मापनका लागि यन्त्र जडान गरिँदै ।तस्बिर : कान्तिपुर

‘क्षमता, अनुभव र जनशक्तिलगायतका विषयमा परामर्शदाताको प्राविधिक प्रस्तावको मूल्यांकन हुन्छ,’ उनले भने, ‘त्यसपछि एउटा परामर्शदाता छनोट हुन्छ ।’ यसका लागि आर्थिक प्रस्ताव पनि खोलेर मूल्यांकन गर्ने तयारी रहेको उनले बताए । परामर्शदाता छनोटपछि तल्लो सेती जलविद्युत् आयोजनाको सम्झौता हुनेछ । स्विटजरल्यान्ड, जर्मनी, चीन, अमेरिका, नर्वे र जापानका परामर्शदाता कम्पनीले फारम बुझाएका छन् ।

‘छनोट भएपछि २० महिनाभित्र आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेस गरिसक्नुपर्छ,’ उनले भने, ‘नक्सांकन, डिजाइन, वातवरणीय तथा सामाजिक अध्ययन, बाँध, पावरहाउसको प्रकृति, साइजलगायतका बारेमा विस्तृत अध्ययन हुनेछ ।’ अध्ययनका लागि ३६ करोड रुपैयाँ अनुदान रकम आइसकेको उनले बताए । विस्तृत अध्ययनपछि आयोजना निर्माण चरणमा प्रवेश हुनेछ ।

तनहुँ जलविद्युत् आयोजनाको लागत केही महँगो हुने भएकाले तल्लो सेती जलविद्युत् आयोजना निर्माणपछि केही फाइदा हुने अपेक्षा रहेको उनको भनाइ छ । ‘तनहुँ जलविद्युत् आयोजनाबाट खेर गएको पानी र मादी नदीको पानी उपयोग गरी तल्लो सेती जलविद्युत् आयोजना बनाउने उद्देश्य छ,’ उनले भने, ‘तनहुँ हाइड्रोभन्दा यसबाट केही बढी लाभ हुने सोचका साथ तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।’

तनहुँ जलविद्युत्बाट आउने पानी र मादी नदीबाट निस्केको पानी प्रयोग हुने हुँदा तल्लो सेती आयोजना आर्थिक हिसाबले आकर्षक देखिने अनुमान छ ।

तनहुँ जलविद्युत्को बाँधस्थलबाट तल्लो सेतीको बाँध करिब २० किमिको दूरीमा रहने आयोजनाले जनाएको छ । पावरहावस भने घुमाउनेघाट नजिक गाइघाटमा बनाउने प्रस्ताव छ । आयोजनाबाट वार्षिक करिब ४४ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । तल्लो आयोजनामा प्रभावित र सर्वसाधारणलाई सेयर लगानी गर्न दिने उपप्रबन्धक भण्डारीले बताए ।

प्रकाशित : माघ २०, २०७५ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्