कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृतिमा झुमे तामाङ

दोस्रो तामाङ साँस्कृतिक महोत्सव

लमजुङ — बिहानैदेखि मौलिक पोसाकमा सजिएका तामाङ समुदाय बुधबार दिनभर संस्कार र संस्कृतिमा रमाएका छन् । आफ्नो जातीय पहिचानलाई जगेर्ना तथा उजागर गर्न उनीहरूले बेंसीसहरको फूलबारी मञ्चमा महोत्सव आयोजना गरे ।

संस्कृतिमा झुमे तामाङ

गत वर्षदेखि महोत्सव गर्दै आएका उनीहरूले २८५५ औं सोनाम ल्होछारको अवसरमा ‘दोस्रो तामाङ सांस्कृतिक महोत्सव’ आयोजना गरेका हुन् ।


गत वर्ष २ दिन गरिएको महोत्सव यस वर्ष १ दिन गरिएको थियो । मध्याह्न मनाङे चौतारादेखि जातीय पोसाकमा सजिएर झाँकी तथा र्‍याली निकालेका उनीहरूले अबेरसम्म फूलबारी मञ्चमा नाचगान गरेका हुन् ।


निम्त्याइएका पाहुनालाई दहीचामलको टीका र टटेला, खादा र टोपी लगाइदिएर स्वागत गरेका थिए । गाउँ–गाउँबाट ल्याइएका म्हेन्दोमाया, सेलो, लामा, ताम्बा, बोन्बोलगायत लोपुन्मुख सांस्कृतिक नाच प्रदर्शन गरेका थिए । पहिलो नेपाल आइडल बुद्ध लामा साथै मन्द्ररराज तामाङ, लक्ष्मी तामाङ, निमा तामाङ, विशाल तामाङ, प्रशान्त तामाङलगायतले सास्कृतिक प्रस्तुति गरेर दर्शकलाई नचाएका नेपाल तामाङ सांस्कृतिक घेदुङका जिल्ला अध्यक्ष आशिष तामाङले बताए ।


महोत्सव उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संस्कृतिले जातीय पहिचानको संरक्षण गरेको बताए । ‘हाम्रो देशजस्तो फूलबारीमा धेरै थरीका फूलहरू फुलेका छन् । सबैका आ–आफ्नै संस्कृति, भाषा, रीतिरिवाज छन् । सुन्दर फूलबारीले बनेको बगैंचा नेपाल हो । हामी सबैले सबैको सम्मान गर्नुपर्छ । अनि मात्रै देश बन्छ,’ उनले भने ।


नेपाल संस्कृति र प्रकृतिमा धनी देश भएकाले संस्कृति र प्रकृतिबाटै समृद्धि खोजिनुपर्ने उनले बताए । एक अर्को प्रशंगमा उनले युवालाई स्वदेशमै रोजगारी दिलाउने गरी सरकारले योजना बनाएको बताए । उनले आगामी वर्षदेखि वृद्धभत्ता बढाउनेसमेत बताए ।


महोत्सवमा तामाङ समुदायको जातीय पहिचान खुल्ने किसिमका ९ वटा स्टल राखिएको महोत्सव आयोजक संस्था नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समितिका अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार महोत्सवस्थलमा तामाङ जातिको फोटो प्रदर्शनी, तामाङ संग्रहालय, लामा संग्रहालय, तामाङ सांस्कृतिक संग्रहालय, बोन्बो संग्रहालय, तामाङ जातिको लिपिबद्ध सामग्रीको पुस्तकालय, तामाङ खाना परिकारलगायत राखिएको थियो ।


‘हामीले आफ्नो पहिचान जोगाउन, संस्कृति बचाउन र यसको संरक्षण सम्बद्र्धन गर्न जातीय महोत्सव आयोजना गर्न थालेका छौं । यसले संस्कृति र संस्कारलाई एकीकृत गर्न सहयोग पुगेको छ । संरक्षण र सम्बद्र्धनमा सरकारको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष तामाङले भने ।


प्रकाशित : माघ १७, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?