कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल निर्माणमा लापरबाही

आश गुरुङ

लमजुङ — दुई वर्षमा बनाइसक्ने सम्झौता थियो । काम सुरु पनि भयो तर, बेंसीसहरको चिती र नौथर जोड्ने मोटरेवल पुल ७ वर्षसम्म पनि पुरा भएको छैन ।

पुल निर्माणमा लापरबाही

निर्माणमा ठेकेदारले चरम लापारबाही गरेको भन्दै स्थानीय आक्रोशित छन् । पुलले चितीको चित्रे र दोर्दी गाउँपालिका–४ नौथरको शेरालाई जोड्ने थियो । ६० मिटर लम्बाई र ६ मिटर चौडाइको पुल गत मंसिर पहिलो साता ढलान सकिएको थियो । ढलान सकिएयता निर्माणका काम फेरि ठप्प छ । ढलानपछि २ महिनामै सक्ने उद्घोष गरेको ठेकेदार कम्पनीले पूल निर्माणकार्य लथालिंग गरी छाडेको स्थानीयको गुनासो छ ।


२०६८ चैतमा शिलान्यास गरिएको दोर्दीखोलाको पूल ०७० असार मसान्तसम्म सक्ने गरी हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले सम्झौता गरेको थियो । पुल निर्माणका क्रममा स्थानीयले ठेकेदार (निर्माण व्यवसायी) को मुख देखेका छैनन् । सपनाको लिडिङमा काम भइरहे पनि जयबाबालाई जिम्मा लगाएकोमा पछिल्लो समय यी दुइ कम्पनीबीच कुरा नमिल्दा पुल निर्माण पूरा हुन नसकेको स्रोतले बताएको छ । पुल निर्माणका विषयमा कम्पनीबीच एक अर्को पछि हट्दै गएपछि निर्माणकार्य अलपत्र परेको हो ।


सरकारले पछिल्लो समय काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही थाल्ने प्रक्रिया अघि बढाएपछि गत जेठबाट पुल निर्माणकार्यले गति लिन थालेको थियो । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले मंसिर पहिलो साता ढलान सकेयता काम नभएको बताए । उनका अनुसार जेठबाट सुरु भएपछि असार महिनामै काम सक्ने भनिएको थियो । ‘त्यतिबेला नसकेपछि दसैंमा सक्ने भनियो, सकेनन् । तिहारमा सक्ने भन्यो सकेनन् । बल्लबल्ल मंसिर पहिलो हप्ता ढलान सकियो । त्यतिबेला २ महिनामा सवै काम सक्ने भनेको पुल अहिलेसम्म निर्माण सुरु भएको छैन । ठेकेदार कहाँ हो कहाँ’ उनले भने । पुलमा तीनवटा स्ल्याब ढलान जोड्न ‘एक्सपान्सन ज्वाइन्ट’ राख्न बाँकी छ ।


रेलिङ र दायाँ–बायाँ एप्रोच सडक निर्माण गर्न बाँकी छ । पुल निर्माणकार्य ८५ देखि ९० प्रतिशत सकिएको दाबी निर्माणपक्ष र सडक कार्यालयले गरिरहेका बेला निर्माण कम्पनी र सडक डिभिजन कार्यालय दमौलीले वास्ता नगरेको स्थानीयको गुनासो छ । भ्याटबाहेक २ करोड ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको उक्त पुल निर्माणका लागि अब बढीमा २० लाख बजेट भए पुग्ने र एक महिनामै सवै काम सकिने अवस्थामा रहेको सडक डिभिजन दमौलीका प्रमुख डिभिजनल इन्जिनियर विष्णुप्रसाद काफ्लेले बताए । ‘मुख्य काम सकियो । निर्माण व्यवसायीलाई गएर छिटो काम गर्न भनिसकेको छु । अब केही दिनमा काम होला’ उनले भने ।


पुल निर्माणको जिम्मा पछिल्लो समय जयबाबालाई दिइएको थियो । जयबाबाले पुलको ढलान गरेको थियो । ढलानपछि जयबाबा पछि हटेको सपना निर्माण सेवाका निर्देशक हरि ढकालले बताए । यसअघि एउटा काम गरेर सपना निर्माण सेवा पछि हटेको जयबाबाका प्रमुख श्यामकुमार श्रेष्ठले आरोप लगाउने गरेका थिए । ‘पुल निर्माणका बेला यी दुई निर्माण कम्पनीबीच असमझदारी देखियो । एउटाले अर्कोलाई लगाउने, अर्कोले अर्कोलाई लगाउने । समयमा काम बनेन’ डिभिजनल इन्जिनियर काफ्लेले भने, ‘अब छिटो काम गर्न निर्देशन दिएका छौं । काम सुरु नगरिए दुवै निर्माण कम्पनीलाई कालोसूचीमा राखिनेछ ।’


पुल निर्माणमा ढिलाइ गरेपछि सडक कार्यालयले निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना गरेको छ । जरिवाना रकम करिब २८ लाख रुपैयाँ हुन आउँछ । कार्यालयका अनुसार बिलिङबाट उक्त रकम विस्तारै घटाउँदै लगिनेछ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले ठेकेदार र सडक कार्यालयलाई पटक–पटक दिइएको ताकेतापछि पुलको ढलान भएको बताए ।


‘ठेकेदार कम्पनीलाई तत्काल काम नथाले पक्राउ गर्ने चेतावनी दिएका छौं । सडक कार्यालयले निर्माण कम्पनीलाई बुधबार (माघ १६ गते) देखि काम थाल्न चेतावनीसहितको पत्र पठाएको छ । तोकिएको समयमा काम सुरु नगरे सडक कार्यालयले कालो सूचीमा राख्नेछ । हामी ती व्यवसायीलाई पक्राउ गर्छौं र कारबाही प्रक्रिया अघि बढाउँछौं’ उनले भने ।


पुल निर्माणसँगसँगै निर्माण कम्पनीले भुक्तानी लगेको छ । काफ्लेका अनुसार निर्माण कम्पनीलाई ७५ प्रतिशत बढी रकम भुक्तानी भइसकेको बताए । भौतिक र वित्तीय प्रगति अन्तिम चरणमा पुगे पनि अझै पुल निर्माण समयमा हुनेमा स्थानीय ढुक्क छैनन् ।


उक्त पुल निर्माणाधीन अवस्थामा सडक कार्यालय दमौलीमा ४ जना प्रमुख फेरिएका छन् । दोर्दी गाउँपालिका उपाध्यक्ष डिलबहादुर घलेका अनुसार पुल नबन्दा सिंगो दोर्दी गाउँपालिका साथै दोर्दीखोलामा निर्माणाधीन ४ वटा जलविद्युत् आयोजनाले बर्खायाममा निर्माण सामग्री ल्याउन नसक्दा समस्या झेलिरहेको बताए । ‘हामीले २०६३/६४ देखि पुलको माग गरेका थियौं । ६८ को अन्तिममा सुरु भयो । तर, अहिलेसम्म बनेन । आफ्नै घरआँगनमा पुल निर्माण गर्ने व्यवसायीलाई समेत चिन्न पाएनौं,’ उनले भने ।

प्रकाशित : माघ १६, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?