सवारीचालकलाई उच्च रक्तचाप

सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले बेंसीसहर–२ मा सवारीचालकको रक्तचाप र आँखाको परीक्षण
कान्तिपुर संवाददाता

लमजुङ — स्वास्थ्य परीक्षण गरिएका अधिकांश सवारीचालकमा उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) को समस्या देखिएको छ । आँखाको समस्या भने खासै नदेखिएको स्वास्थ्यकर्मीले बताएको छ । 

डुम्रे–बेंसीसहर सडकको बेंसीसहर नगरपालिका–२ मनकामनामा गाडी रोकेर चालकको स्वास्थ्य परीक्षण गरिँदै ।तस्बिर : कान्तिपुर

सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले बेंसीसहर–२ मनकामना मन्दिर सडकमै सवारीचालकको रक्तचाप र आँखाको परीक्षण गराएको हो । काठमाडौं, पोखरा र चितवनलगायत लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका चालकको बिहीबार स्वास्थ्य परीक्षण गरिएको हो । बाटो रोकेर उभिएका ट्राफिक प्रहरी देखेपछि सवारी चेकजाँच होला भनेर पालो कुरेर बसेका चालकहरूलाई ओर्लिन लगाएर स्वास्थ्य परीक्षण गराइएको थियो ।


बेंसीसहर–२ भकुन्डेस्थित सहरी स्वास्थ्य केन्द्रकी अहेव चन्दु भण्डारीका अनुसार परीक्षण गरिएका अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको छ । ‘केहीको ब्लड प्रेसर सामान्य भए पनि २/४ जनाको ‘लो’ भएको पनि पाइयो,’ उनले भनिन्, ‘५०/५५ जनाको चेकजाँच गर्दा धेरैलाई हाइ ब्लड प्रेसर भेटियो । धेरै हुनेको माथि २ सय र तल १ सय २० सम्म प्रेसर देखियो ।’ असन्तुलित खानपान र जीवनशैलीका कारण यस्तो भएको हुनसक्ने उनले बताइन् ।


‘सामान्यतया छोरा मान्छेमा १ सय २० का तल ९० देखि १ सय आसपासलाई राम्रो नै मानिछ । तर, चालकमा ब्लड प्रेसर हाइ नै देखिएको छ,’ उनले भनिन्, ‘मादक पदार्थ सेवन र चिन्ताले पनि रक्तचाप बढाउँछ । कसैको वंशाणुगत गुण नै हुन्छ ।’ राम्रोसँग परीक्षण गराउन र उचित खानपानमा ध्यान दिन सल्लाह दिइएको थियो । उनका अनुसार केहीले भने उच्च रक्तचापको औषधि खानुपर्ने हुनसक्छ । आँखाको सामान्य समस्या देखिए पनि उपचार नै गराउनुपर्ने नदेखिएको उनले बताइन् ।


ट्राफिक प्रहरी असई रामऔतार चौधरीका अनुसार सडकमा गरिएको चालकको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिइनेछ । ‘हामी सकेसम्म साताको एकपटक चालकको स्वास्थ्य परीक्षण गर्नेछौं’ उनले भने । दुर्घटना न्यूनीकरण साथै सवारी चालकलाई आफ्नो कर्तव्यपालना पूरा गराउन सवारी चालकको सडकमै स्वास्थ्य परीक्षण थालिएको उनले बताए । बेंसीसहर–डुम्रे बसचालक बमबादुर खडकाले ट्राफिक प्रहरीको अभियानले चालकलाई फाइदा पुगेको बताए । ‘हामीलाई बस चलाउने र यात्रु खोज्ने चटारो हुन्छ । समस्या आइहाले मात्रै हो, बेला–बेलामा परीक्षण गर्न पनि भ्याउँदैनौं । आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने ज्ञान प्राप्त भो,’ उनले भने ।


प्रहरी हवल्दार भूमिराज घिमिरेका अनुसार बिहीबार पहिलो दिन बेंसीसहर आउँदै र जाँदै गरेका ५१ सवारी चालकको स्वास्थ्य अवस्था, सवारीको अवस्था चेकजाँच गरिएको थियो । बस २३, ट्रयाक्टर ४, जिप/कार १५ र मालबाहक ट्रक ९ का चालकको २ घण्टामा चेकजाँच गरिएको उनले बताए । ‘हामीले चालकको स्वास्थ्य परीक्षण साथै सवारीको पनि चेकजाँच गर्‍यौं । सधैं सवारीको चेकजाँच मात्रै भयो । सवारीको अवस्था र कागजात पनि चेक गर्‍यौं,’ उनले भने ।

प्रकाशित : माघ ४, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

भरिभराउ कारागार

रवीन्द्र उप्रेती

महोत्तरी — बढ्दो कैदी संख्याले जलेश्वर कारागार भरिभराउ छ । क्षमता विस्तार र सेवासुविधा नथपिने कैदी मात्र बढ्दा कारागारमा मानवीय समस्या देखिन थालेको छ । कैदीलाई खानेबस्ने समस्या छ ।

महोत्तरीको जलेश्वर कारागार, जहाँ स्थानाभावका कारण कैदीबन्दीले समस्या व्यहोर्दै आएका छन् ।  तस्बिर : रवीन्द्र/कान्तिपुर

सुत्ने स्थान र शौचालय समस्याको असर स्वास्थ्यमा परेको कैदीले पीडा पोखेका छन् । अवस्था उकुसमुकुस छ । उनीहरूले भोग्नु परेका समस्याका फेहरिस्त लामो छ ।

‘धारामा घण्टांै लाम लाग्नुपर्छ , बस्ने ठाउँ छैन, खानासमेत उभिएर खानुपर्छ, शौचालयमा तीन घण्टापछि मात्र पालो आउँछ...’ कैदी बन्दीले सुनाएका पीडाले जलेश्वर कारागारको अस्तव्यस्तता देखाएको छ । त्यति मात्र हैन पानी, स्थान र शौचालय जस्ता आधारभूत आवश्यकताका लागि कैदीबन्ीदबीच दिनहुँको तनाव, झडप, विवाद र नाराबाजी हुने गरेको छ । सरकारी उदासिनताका कारण कारागारको समस्या अमानवीय हँुदै गएको सवै कैदीमा आभाष गरेका छन् ।

‘सरकारले जलेश्वर कारागारको ऐनामा आफ्नो अनुहार हेरोस् ऊ कति मानवीय छ छर्लङ्ग हुन्छ,’ मानव अधिकारका क्षेत्रमा लामो अनुभव बटुलेका रतौली युवा कलवका कार्यकारी निर्देशक वैधनाथ चौधरीको प्रतिक्रिया छ । जेलर चिरिञ्जीवी थापाको भनाइमा जलेश्वर कारागारमा देखा परेका यी समस्याको मूल कारण हो क्षमताभन्दा दोब्बर तेब्बर कैदीको संख्या । बढदो कैदी संख्याले जलेश्वर कारागार अस्तव्यस्त बनेको उनले स्विकारे । राणाकालीन जलेश्वर कारागारको कैदी क्षमता १ सय ३५ मात्र हो । तर बुधबार त्यहाँ ४४ महिला १ आश्रित र ४ सय ५० पुरुष गरी ४ सय ९४ जना कैदी थिए ।

‘यो संख्या क्षमताको झन्डै चार दोब्बरले बढी हो,’ उनले भने । बढदो कैदी संख्याले मानवीय समस्यामात्र बढाएको छैन । व्यवस्थापन र प्रशासनिक जटिलतासमेत थपेको छ । क्षमता र सुविधा नभए पनि कैदी थप्दै जाने कारण त्यहाँ अनौठा र अकल्पनीय घटनासमेत घटने गरेका छन् । पुस २७ गते भन्सार चोरी पैठारी आरोपमा धनुषा जिल्लाबाट पुर्पक्षका लागि जलेश्वर कारागार ल्याइएका ६ जना बन्दीलाई कैदीले नै प्रवेशमा रोक लगाएको घटनाले कारागार प्रशासन र सुरक्षा निकायलाई नै अस्तव्यस्त बन्यो ।

कारागारकर्मी र त्यहाँ तैनाथ सुरक्षाकर्मीले निकै सम्झाइबुझाइ गरे तर कैदीहरू भने आफनो अडानबाट टस्मस् भएनन् । ‘बन्दीगृहमा खुट्टा राख्ने ठाउँ छैन नयाँ आउनेलाई कहाँ राख्ने ?’ कैदीको प्रश्न थियो । तर कारागार प्रशासन र सुरक्षाकर्मीसँग यसको जवाफ थिएन । लामो जिरहपछि जेलर चिरञ्जीवी थापाले पुर्पक्षका नयाँ थुनुवालाई छुट्टै राख्ने प्रतिबद्धता जनाएपछि २ घण्टापश्चात उनीहरूले बन्दीगृहको ढोका खोले । प्रतिबद्धताबमोजिम नयाँ आएका बन्दीलाई अहिले छतमा पाल टाँगेर बस्ने व्यवस्था मिलाएको छ । त्यो पाल पनि अहिले भरिभराउ भएको छ ।

चौकीदार श्रीनारायण साहका अनुसार कैदी संख्या अत्यधिक भएपछि स्थान अभावमा एक कैदीलाई सुत्न १४/१५ इन्ची पनि ठाउँ पुग्दैन । अझ समस्या नथपियोस् भनेर उनीहरूले अवरोध गरेका हुन् । बढ्दो चापको असर कैदीको स्वास्थ्यमा समेत परेको उनले बताए । ‘हामीलाई बाख्रापाठा कोचेसरी राखिएको छ,’ कैदी अरुण झाले भने, ‘बन्दीगृहको अवस्था दयनीय छ ।’ कारागारमा ठाउँ नभएको जानकारी गराउँदा गराउँदै त्यसको २ दिनपछि पुस २९ गते धनुषा जिल्लाबाट फेरि पुर्पक्षका लागि ५ बन्दी पठाएपछि कारागार प्रशासन तनावमा पर्‍यो ।

विवाद चर्कने देखेर योपटक उसले बन्दीगृहमा पठाएन । जिल्ला प्रहरीमा पत्र लेखेर राख्ने ठाउँको व्यवस्था नभएसम्मका लागि ५ थुनुवालाई प्रहरी हिरासतमै राखिदिन आग्रह गर्‍यो । ‘कारागारमा पठाउँदा तनाव चर्कने देखेर मैले नै लिखित आग्रह गरेपछि प्रहरीले बल्ल जिम्मा लिएको हो,’ जेलर थापाले भने । यो आग्रह र कारागारको अवस्थालाई हेरेर पुर्पक्षका थुनुवालाई हिरासतमा राखेको डीएसपी खगेन्द्रबहादुर खडकाले स्विकारे । तर थुना आदेश गरिएकालाई हिरासतमा राख्नु कानुनको बर्खिलाप भएको भन्दै प्रमुख जिल्ला अधिकारीले आपत्ति गरे । तीन दिनपछि उनीहरूलाई पुन: कारागार पठाएको थियो ।

‘लोकतन्त्र बहाली भएको यति वर्षपछि पनि मुलुकका ठूल्ठूला नेता बसेको जलेश्वर कारागार सुविधा र मानवीय दृष्टिले अहिले पनि राणाकलकै अवस्थामा हुनु दुखदायी र आपत्तिजनक हो,’ अधिकारवादी चौधरीले थपे । केही समयअघि सरुवा भएका जेलर थापाको बुझाइमा मुख्यत: दुई कारणले जलेश्वर कारागारमा समस्या मौलाएको हो । एउटा धनुषा जिल्लामा कारागार नहुनु र अर्को सर्लाही जिल्लाका कैदीसमेत यहीं थपिनु ।

‘यस कारागारमा रहेका ९० प्रतिशत कैदी बन्दी धनुषाका हुन्,’ थापाले भने, ‘उसमाथि सर्लाहीको मलंगवाबाट समेत यहीं पठाउँदा अवस्था उकुसमुकुस भएको हो ।’ त्यसबाहेक कारागारको स्तरोन्नतितर्फ ध्यान नदिएको अवस्थाले पनि समस्याले अमानवीय रूप लिँदै गएको हो । उनका अनुसार कारागार यति जर्जर अवस्थामा पुगेको छ कि सेवा सुविधा थपेर मात्र सुधार हुनेवाला छैन ।

प्रकाशित : माघ ४, २०७५ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×