मन्दिर पुनर्निर्माणमा ढिलाइ

निर्माण कम्पनीले डेढ महिनायता ईशानेश्वर मन्दिरको निर्माण कार्य गरेको छैन
मन्दिरको पुनर्निर्माण सम्पन्न गर्नुपर्ने ०७५ वैशाख २४ कायम
कान्तिपुर संवाददाता

लमजुङ — सन्तानेश्वर महादेवको नामले चिनिएको यस क्षेत्रकै प्रख्यात मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर पुनर्निर्माण हुँदै । तस्बिर : आश गुरुङ/कान्तिपुर

निर्माण कम्पनीले डेढ महिनायता निर्माणकार्य नगरेको स्थानीयले बताए ।

मन्दिरको छानो छाउने र पेटी निर्माण गर्ने काम हुँदै गर्दा रोकिएको हो । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले क्षति पुर्‍याएको मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मन्दिरको करिब ९० प्रतिशत निर्माण सकिँदाको समय रोकिएको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे (शास्त्री) ले बताए ।

उनका अनुसार छाना छाउने, पेटी बनाउने र गजुर राख्नलाई ठाउँ बनाउने कार्य बाँकी छ । ‘डेढ महिना भयो काम रोकिएको । छानामा तामाको पाता राख्ने भनेर नापचाँज गरी लगिएको छ । केही दिनमा आउला र काम सुरु होला,’ उनले भने । प्यागोडा शैलीमा निर्माण भइरहेको उक्त मन्दिरको छानाका लागि काठका फलेकहरू ठोकिएका छन् ।

झ्याल, ढोका तथा टुँडालमा विभिन्न देवीदेवता विष्णु, शिव, भैरवलगायत कुँदिएका मूर्ति राखिएको छ । मन्दिरमा भक्तपुरे इँटा प्रयोग गरिएको छ । ‘अब छाना छाउन र सरसफाइमा धेरै समय नलाग्ने भएकाले माघ महिनाभित्रै पुनर्निर्माण सक्छौं,’ उनले भने ।

उनका अनुसार २०७३ माघ ३० मा पुनर्निर्माणको सम्झौता भएको थियो । ०७४ वैशाखबाट मन्दिर पुनर्निर्माण थालिएको थियो । सम्पन्न गर्नुपर्ने ०७५ वैशाख २४ गते कायम थियो । मन्दिर पुनर्निर्माण कार्य सानो सुवाल एसटी जेभी भक्तपुरले गरिरहेको छ ।

मन्दिर पुनर्निर्माण कार्य ढिलाइ भएको उनले स्वीकारे । उनले माघ महिनाभित्र सक्ने बताएका छन् । ‘७/८ महिना ढिला भयो । सुरुमै ढिला भयो । फागुनमा धार्मिक महोत्सव छ । माघमा निर्माण सक्छौं,’ उनले भने । उनका अनुसार पुरातत्त्व विभागको १ करोड २० लाख ९० हजार रुपैयाँमा पुनर्निर्माण भइरहेको अध्यक्ष घिमिरेले बताए ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको ईशानेश्वर महादेवको मन्दिरलाई सन्तानेश्वर महादेव मन्दिरको रूपमा समेत चिनिन्छ । भूकम्पले मन्दिरको सबै संरचनामा क्षति पुर्‍याएपछि मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभागले चासो देखाएको हो ।

देश तथा विदेशका भक्तजनलाई भित्र्याएर धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन लागिएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार मन्दिरको नाममा १४ रोपनी जग्गा रहेको र उक्त जग्गामा १ सय ८ धारा निर्माण गर्न लागिएको समेत उनले बताए ।

ईशानेश्वर मन्दिर संरक्षण गर्न २०६५ मा ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति गठन गरिएको थियो । क्षेत्र विकास समिति स्थापना भएपछि साबिक जिल्ला विकास समिति र तत्कालीन गाविसको ९ लाख रुपैयाँको आर्थिक सहयोगमा ईशानेश्वर मन्दिरबाट डेढ सय मिटर परको गणेश मन्दिर जाने बाटो र मूल सडकबाट मन्दिर स्थलसम्म पुग्ने बाटो निर्माण गरिएको छ ।

पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध ईशानेश्वर मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गरेको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताउनुभयो । उनका अनुसार धार्मिक महत्त्व रहेको ठाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आर्थिक समृद्धिका लागि धार्मिक महोत्सवसमेत आयोजना गर्न लागिएको उनले बताए । उनका अनुसार फागुन १६ गतेदेखि २१ गतेसम्म ‘मध्यनेपाल धार्मिक महोत्सव तथा धार्मिक मेला’ हुँदै छ ।

स्थानीयका अनुसार करिब ६ सय वर्षअघि मन्दिरको निर्माण भएको भए पनि १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहले मन्दिर निर्माण गरेका थिए । हालसम्म श्रद्धालु भक्तजनद्वारा पूजा अर्चना हुँदै आएको छ ।

प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिंग जोतिन गई रगत बग्न थालेको र हलगोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिंग उत्पत्ति भएको किंवदन्ती छ ।

किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए ।

त्यतिबेलादेखि नै ईशानेश्वर महादेवलाई सन्तानको चाहना राख्ने नरनारीले ठाडो बत्ती (उठेर बाल्ने बत्ती) बाल्ने चलन रहेको छ । महाशिवरात्रिका अवसरमा उक्त मन्दिरमा मेला लाग्ने गर्छ । सन्तान नभएकाले सन्तानको माग गर्दै ठाडो बत्ती बाल्ने र सन्तान पाएकाले देखाउन ल्याउनेको संख्या बढेको घिमिरेले बताए ।

प्रकाशित : पुस २२, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

सुर्तीजन्य पदार्थमुक्त बनाउने योजना

कान्तिपुर संवाददाता

कास्की — पर्यटकीय सहर पोखरालाई धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगमुक्त पार्न महानगरपालिकाले कार्ययोजना बनाउने भएको छ ।

स्वास्थ्य मन्त्रालय, एक्सन नेपाल, द युनियन एसिया प्यासिफिक र स्वास्थ्य पत्रकार मञ्चले शनिबार आयोजना गरेको कार्यक्रमका नगरप्रमुख मानबहादुर जिसीले यस्तो बताएका हुन् ।

‘हामीलाई आएको प्रस्तावमा सहकार्यका लागि तयार छौं,’ उनले भने, ‘पोखरालाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त सहर बनाउन पहिलो चरणमा कार्ययोजना बनाउँछौं, त्यसपछि अभियानका रूपमा काम गर्छौं ।’

एकैपटक घोषणा गर्नुभन्दा अवस्थाको अध्ययन गरेर गर्न सकिनेसम्मका योजना तयार पारिने उनले बताए । ‘पोखरालाई सुर्तीजन्य पदार्थमुक्त सहर बनाउन हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘सभ्य सहरका लागि यो जायज कदम हुनेछ ।’ छलफलका आयोजकहरूबाट आएको प्रस्तावमाथि महानगरपालिकाले छलफल गरेर कार्ययोजना बनाउने उनले बताए ।

मुलुकमा धुम्रपान सेवनबाट हुने रोगका कारण वर्षमा २५ हजार जनाको ज्यान जाने गरेकाले सुर्तीजन्य पदार्थमुक्त अभियान आवश्यक भएको स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रकुमार श्रेष्ठले बताए । सुर्तीजन्य पदार्थ बिक्री र सेवनलाई नियमनसँगै नियन्त्रण गरे पोखरालाई देशको नमुना बनाउन सकिने भएका प्रस्ताव ल्याइएको भनाइ उनको थियो ।

आफ्नो स्वास्थ्य आफ्नै हातमा रहेकाले धुम्रपानरहित सहर बनाउने अभियानको सुरुवात नगरवासीले आफ्नै घरबाट गर्नुपर्ने डा. बद्री पौडेलले बताए । कार्यक्रममा उनले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले हुने रोगका बारे जानकारी दिएका थिए ।

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव पुष्कर नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेका ऐनकानुन र कार्यान्वयनको अवस्थाबारे बताएका थिए ।

प्रकाशित : पुस २२, २०७५ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्