कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षले तलबको रकमबाट विद्यालयलाई दिए कम्प्युटर

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका वडा ८ का अध्यक्ष विमलप्रसाद पौड्यालले आफ्नो तलबभत्ताबापत पाउने रकमले वडाभरका विद्यालयलाई कम्प्युटर, प्रिन्टर लगायत सामग्री सहयोग गरेका छन् ।

वडाध्यक्षले तलबको रकमबाट विद्यालयलाई दिए कम्प्युटर

मासिक रुपमा आहिलेसम्म पाएको तलबभत्ता एक लाख ६० हजारमा अपुग रकम थपेर वडाध्यक्ष पौड्यालले आहिलेसम्म एउटा माध्यमिक र तीन आधारभूत विद्यालयलाई यस्ता प्रविधिका सामग्री किनिदिएका हुन् । निर्वाचनअघि नै आफूले गरेको प्रतिबद्धता अनुरुप अहिले सहयोग गरेको उनले बताएका छन् ।

‘मासिक रुपमा मैले पाउने २० हजार हो, त्यही जम्मा पारेँ, अपुग रकम थपेँ अनि सबै विद्यालयमा कम्प्युटर दिने लक्ष्यसहित वितरणमा लागिरहेको छु,’ पौड्यालले भने । उनका अनुसार बाह्रबिसे नगर ८ मा एउटा माध्यमिक र ६ वटा आधारभूत गरी सात वटा विद्यालय छन् । बाँकी विद्यालयलाई पनि यस्तै सामग्री दिने लक्ष्य राखेको र वडा कार्यालयमा तलबभत्ताकै रकमले एउटा सीसीटीभी किनिदिएको उनले बताए।

बाह्रबिसे नगरको दुर्गम क्षेत्रका विद्यालयलाई पहिलो प्राथामिकतामा राखेको र अन्यलाई अर्को महिनामा सहयोग गर्ने उनको भनाइ छ । उनले हाल यस वडाको जम्बुस्थित सेतीदेवी पञ्चकन्या आधारभूत विद्यालय,सीताराम आधारभूत विद्यालय, महाकाली आधारभूत विद्यालय र भद्रकाली माध्यमिक विद्यालयलाई सामग्री दिएका छन् ।

बाह्रबिसे नगरको शीर घुडे लेकक्षेत्रमा रहेको सीताराम आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेलले कम्प्युटरसहित अन्य सामग्री यहाँका बालबालिकालाई वरदान सावित भएको प्रतिक्रिया दिए ।

‘लेकमा कम्प्युटर नभएर समस्या थियो, आहिले वडाध्यक्षज्यूले किनिदिनु भएपछि धेरै सहज भएको छ, आहिले पाठ्यक्रमबाहेक या इन्टरनेटको माध्यमबाट नयाँ कुरा पढाउन र अध्यापन गराउन धेरै सहज हुने विश्वास छ, ’पौडेलले भने ।

यसैबीच बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले आफ्नो तलबभत्ताको रकम गाउँपालिकाभरका बेसाहारा र पीडितलाई आवश्यक पर्ने खाद्यन्न, लत्ताकपडाजस्ता काममा खर्च गर्ने बाचा गरेका छन् ।

‘पीडितसँग मेयर ’अभियान लिएर गाउँटोल पुग्दै मासिक रुपमा तलबभत्ता बापत पाउने ३९ हजारसहित अन्य भत्ता रकमले नगरभरका अशक्त, पीडित र वृद्धवृद्धालाई आवश्यक सामग्री पनि सहयोग गर्ने उनले बताए ।

बाह्रबिसे नगरक्षेत्रमा रहेका विपन्न वर्गका पीडितको अवस्था अध्ययन गर्दा अनेक अभाव भएको पाएपछि आफूले यस्तो अभियान चलाएको बस्नेतले बताए । स्थानीय कविता थामीको मृत्युपछि शोकमग्न बनेका थामीको विपन्न परिवार र दुई महिने शिशुलाई पौष्टिक आहारका लागि उनले नगरबाट २ वर्षसम्म मासिक ५ हजार उपलब्ध गराउने व्यवस्था गरेको पनि बताए ।

प्रकाशित : पुस १३, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?