सडक नबन्दा आउनै छाडे पर्यटक

कृष्ण थापा

नुवाकोट — नुवाकोट ककनीमा पासाङ ह्लामु मार्ग नबन्दा पर्यटकको संख्या घट्दै गएको छ । उनीहरूले ८ वर्षदेखिको पुनर्निर्माण गर्न भनेर ठाउँठाउँमा भत्किएका सडक अझैसम्म नबन्दा आवतजावतमा समस्या भएको छ भने ककनी आउने पर्यटकसमेत आउन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

‘बाटो बनाउँछौं भनेर नेताहरू आए,’ स्थानीय सोममाया तामाङले भनिन्, ‘भोट दियौं, सडक बनेन । आवतजावत गर्न बर्खामा समस्या छ । यहाँ आउने पर्यटकको संख्या यसअघिभन्दा धेरै घटेको छ ।’ यो काठमाडौं नजिकको पर्यटकीय स्थल हो । यहाँ सरकारी, गैरसरकारी कार्यालयदेखि विद्यार्थीसम्मको वनभोज खान आउने ठाउँ हो । यहाँबाट आकाश खुल्ला भएको समयमा लाङटाङ, गणेश, मनास्लु, दोर्जे ल्हाक्पा, अन्नपूर्ण, सान्जेनलगायत दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ भने नुवाकोटको थानसिङ, चौघडा, छहरे फाँटहरूको समेत अवलोकन गर्न सकिन्छ ।

‘पहिला आन्तरिकसँगै बाह्य पर्यटक पनि आउने गर्थे,’ ककनी गाउँपालिका ५ घमाइलोका स्थानीय विष्णु तामाङले भने, ‘पहिला धेरै मान्छेहरू आउँथे । व्यापार हुन्थ्यो । अहिले पर्यटक फाटफुटमात्रै आउँछन् । व्यापार पनि घट्यो ।’

ककनी काउले भन्ज्याङदेखि अन्तर्राष्ट्रिय स्काउट तालिम केन्द्रसम्म दुई दर्जनभन्दा बढी साना ठूला होटलहरू छन् । बालाजुदेखि ककनीसम्मको दुरी २० किमि छ । काठमाडौंको मुड्खु, तीनपिप्लेलगायत ठाउँमा सडक सुधार भए पनि नुवाकोटतर्फको सडकको अवस्था अझै पनि उस्तै छ ।

पासाङ ल्हामु सडकको लागि संघ र प्रदेश सरकारसँग हारगुहार गरेर बनाउन लागिपरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए । ‘०७१ सालदेखि सडक हुँदा कति व्यापार हुन्थ्यो‚ अहिले निराशाजनक अवस्था छ,’ उनले भने । यो नै जिल्लाबाट काठमाडौंसम्म यात्रा गर्ने पहिलो सडक हो ।

प्रकाशित : पुस ११, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपा सरकारमा सहभागी नहुने, सत्ता बाहिरबाटै सरकारलाई समर्थन

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने जनाएका हुन् । 

उनले भने, 'हामी अहिले सरकारमा सहभागी नहुने भनेका छौं । बाहिरबाटै समर्थन गर्ने निर्णय गरेका छौं ।'

राप्रपा सरकारमा सहभागी नहुने भएपछि अब गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी हुने भएका छन् ।

त्यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।

प्रकाशित : पुस ११, २०७९ १३:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×