कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारको फोहोर बगरमा

चितवन महोत्सव आयोजना गर्न नारायणगढ बजारको फोहोर लगेर नारायणीको बगरमा पुरिएपछि वातावरण संरक्षण अभियन्ताको विरोध
रमेशकुमार पौडेल

चितवन — चितवन महोत्सवका लागि ठाउँ बनाउन नारायणगढ बजारको फोहोर लगेर नारायणीको बगरमा पुरिएको छ । चितवन उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवका लागि नदीले बनाएको खाल्डोमा बजारको फोहोर हालेर सम्याइएको हो ।

बजारको फोहोर बगरमा

उक्त कार्यको सरसफाइ तथा वातावरण संरक्षण अभियन्ताले विरोध गरेका छन् । अभियन्ताले त्यहाँबाट फोहोर निकालेर सुरक्षित रूपमा अन्यत्र विसर्जन गर्न भरतपुर महानगरसँग माग पनि गरेका छन् ।

‘नारायणी नदीमा महोत्सव आयोजना गर्ने नाममा १५० भन्दा बढी ट्र्याक्टर फोहोर डम्प गरिएको छ । नारायणी नदी मात्र नभएर जलप्राणीहरूको घर पनि हो । यसलाई दूषित बनाएर हामी कसरी उत्सव मनाउन सक्छौं ?’ अभियन्ताले महानगरलाई बुझाएको खबरदारी पत्रमा उल्लेख छ । बेटर चितवन, वे ग्रुप, नेपाल विकास समाज र हाम्रो दृष्टि राम्रो दृष्टि नामक संस्थाले पत्र बुझाएका हुन् ।

७० वर्षीय दीपनारायण श्रेष्ठ नदी किनार नजिकै बस्दै आएको ३५ वर्ष जति भयो । नारायणी नदीको भँगालो आएर उनको घर आडै ठोक्किने गर्दछ । त्यसैले गर्दा ठुल्ठूला खाडल बन्छ । त्यही खाडल पुर्न यो पटक फोहोर प्रयोग भयो, जुन कुरा श्रेष्ठलाई पनि उचित लागेको छैन । ‘पालिकाले नै ल्याएको भनेपछि कसैले विरोध गरेनन् । तर यसरी पुरे पनि बर्खामा भेल आएर यहीं ठोक्किन्छ । अनि पुरेको नपुर्‍यै भइहाल्छ । फोहोर सबै छिरलिने भयो । यस्तो कच्चा काम किन गरेको हो ?’ उनले भने ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ विज्ञहरूको परामर्शका आधारमा फोहोरले खाल्डो पुरेको दाबी गर्छन् । श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति निकाल्दै वातावरणीय प्रभावको अध्ययन गरेर महानगरको समन्वयमा विज्ञहरूको राय लिएर कुहिने फोहोरलाई खाल्डोको पिँधमा राखेको र त्यसलाई राम्रोसँग माटोले छोपेको जानकारी गराएका छन् । तर नकुहिने फोहोर पनि खाल्डोमा राख्दै गरेको तस्बिर सार्वजनिक भएको छ । श्रेष्ठले त्यसलाई भ्रामक भनेर खण्डन गरेका छन् ।

भरतपुरले दशकौंदेखि बजारको फोहोर नदी किनारमा लगेर पुर्ने गरेको छ । नगरपालिका हुँदा नै नदी किनारमा फोहोर थुपार्न र पुर्न सुरु भएको हो । पहिला फोहोर जलदेवी सामुदायिक वनभित्र थुपार्ने गरिन्थ्यो । जैविक महत्त्वको वनमा फोहोर फालेको भनेर तत्कालीन पुनरावेदन अदालत हेटौंडाले रोक लगायो । त्यसपछि १७ वर्षयता नदी किनारमा फोहोर फाल्ने गरिएको छ । जलदेवीमै ल्यान्डफिल साइट बनाउन सरकारले २०६८ सालमा निर्णय गरेर पालिकालाई १५ बिघा जग्गा दिएको छ 

महानगरले फोहोर व्यवस्थापनको गुरुयोजना बनाउन कोरियाको सुडोकोन ल्यान्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनसँग २०७५ भदौमा समझदारी गरेको थियो । समझदारी भएको १५ महिनाभित्र गुरुयोजना तयार हुने र त्यसपछि ल्यान्डफिल साइट निर्माणले गति लिने भनिएको थियो । तर एक वर्षअघि मात्रै गुरुयोजना तयार भयो । ल्यान्डफिल साइटको काम सुरु हुने अझै टुंगो छैन ।

भरतपुर महानगर प्रमुखमा रेनु दाहालको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा नै उनले ल्यान्डफिल साइट बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । गुरुयोजना तयार भएपछि बजेट प्रबन्धका लागि प्रयास भइरहेको महानगरकी सूचना अधिकारी मेनुका पण्डितले जानकारी दिइन् ।

बजार र बस्तीदेखि पर लगेर नदी आडमा फोहोर फाल्दा खासै विरोध भएको थिएन । तर अहिले बजारको मुखमै फोहोर थुपारेर खाल्डो पुरेपछि विरोध सुरु भएको हो । दैनिक ८० टन फोहोर यसरी नै नदी किनारमा पुर्ने गरिन्छ । आफूहरूको अभियान फोहोरको दिगो व्यवस्थापन र ल्यान्डफिल साइट निर्माणका लागि दबाब दिनु रहेको बेटर चितवनका अभियन्ता सचिन चापागाईंले बताए ।

प्रकाशित : मंसिर १५, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?