कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सिन्धुली अस्पतालमा फोहोर प्रशोधन मेसिन संचालनमा

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमाडी अस्पतालले फोहोरको वर्गीकरण गरेर व्यवस्थापन सुरु गरेको छ । स्वास्थ्य संस्थाजन्य फोहोरको नयाँ प्रविधिबाट व्यवस्थापन सुरु गरिएको हो । 

सिन्धुली अस्पतालमा फोहोर प्रशोधन मेसिन संचालनमा

औषधिका रित्ता डब्बा, स्लाइनका बोतल, सिरिन्ज, मेटल, बाक्लो कागज, पानीका बोतललगायतका फोहोरलाई संकलन केन्द्रमा भण्डारण पछि वर्गीकरण गरेर पुन: प्रशोधन गर्न थालेको अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले बताए ।

अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन हुन नसक्दा जथाभावी छरिएर स्वास्थ्यकर्मी, सेवाग्राही समेतलाई असर गर्दै आएको थियो । स्वास्थ्यजन्य फोहोर उठाउन नगरका सफाइ कर्मचारी समेत आनाकानी गर्ने गर्थे । ‘अब अस्पतालले नै फोहोरलाई मोहोरमा परिणत गर्न सुरुवात गरेको छ,’ अध्यक्ष पोखरेलले भने, ‘अस्पतालबाट निस्किने फोहोर व्यवस्थापनका कर्मचारी भने अपुग छन् । दक्ष जनशक्ति भएमात्र फोहोरबाट आम्दानी लिन सकिन्छ ।’

फोहोरको वर्गीकरण गर्न र पुन: प्रशोधन गर्न मिल्ने वा नमिल्ने अत्याधुनिक मेसिनबाट थाहा हुने भएकाले अस्पताललाई आम्दानीको स्रोत समेत हुने प्राविधिक कर्मचारीहरु बताउँछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत फोहोर व्यवस्थापन महाशाखाका प्राविधिक नवीनलाल अमात्यका अनुसार फोहोर वर्गीकरण गर्ने अटो क्लेभ मेसिनमा फोहोर राखेपछि कागज, प्लास्टिक, धातु पहिचान हुने भएकाले व्यवस्थापनमा सजिलो हुन्छ । ‘प्लास्टिक हो भने पुन: प्रयोगमा ल्याउन मिल्यो,’ उनले भने, ‘मेटल हो भने किलोको हिसाबमा बिक्री गर्न मिल्छ । अन्य फोहोरबाट पनि वर्गीकरण भएपछि आम्दानी लिन सकिन्छ ।’


अत्याधुनिक अटोक्लेभ मेसिनमा फोहोर हालेपछि त्यसबाट फोहोरको वर्गीकरण हुन्छ । शून्य फोहोरको अवधारणाअनुसार संक्रमित फोहोरलाई स्मार्टअटोक्लेभको प्रयोग गरी निर्मलीकरण गरिने फोहोर व्यवस्थापन केन्द्र निर्माणमा प्राविधिक सहयोग गरेको हेकाफका कार्यक्रम प्रबन्धक श्रावस्ती कर्माचार्यले बताए । उनका अनुसार अस्पतालका वार्डहरुमा संकलित फोहोरलाई तालिम प्राप्त जनशक्तिबाट व्यवस्थापन गरिन्छ ।

सिन्धुलीमाडीमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाले समेत सदस्य बनेर फोहोर संकलन केन्द्रमा जम्मा गर्न सकिने छ । स्वास्थ्यजन्य फोहोरका लागि अब नगरपालिकाले उठाउनुपर्ने झन्झट सकिएको छ । स्वास्थ्य संस्थाहरुले दैनिक वा दिन बिराएर फोहोर संकलन गरी संकलन केन्द्रमा ल्याएमात्र हुने स्वास्थ्कर्मीहरुको भनाइ छ । यो नेपालमै नयाँ प्रविधि भएकाले अस्पतालजन्य फोहोर व्यवस्थापनमा सबैले सघाउ पुर्‍याउनु पर्ने जनाइएको छ ।

स्वास्थ्य संस्थाजन्य फोहोर संकलन केन्द्रको संघीय स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले बुधबार उद्घाटन गरेका थिए । संकलन केन्द्र र मेसिन राख्नका लागि प्लान इन्टरनेशनल नेदरल्याण्ड्स र वास एसडीजीले दुई करोड रुपैयाँ खर्चिएका छन् । यसबाट सुनकोसी गाउँपालिका हेल्थपोष्टमा समेत फोहोर व्यवस्थापन केन्द्र निर्माण र वर्गीकरण गर्ने मेसिन जडान हुनेछ ।

प्रकाशित : मंसिर १४, २०७९ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?