खुलामञ्चमुनि पार्किङ बनाउने निर्णयको विरोध- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुलामञ्चमुनि पार्किङ बनाउने निर्णयको विरोध

दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानगरपालिकाले खुलामञ्चमुनि तीनतले पार्किङ बनाउने भएपछि विरोध सुरु भएको छ । महानगरको गत साता बसेको १० औं कार्यपालिका बैठकले डीपीआर बनाउने निर्णय गरेपछि स्थानीय र सम्पदा संरक्षणकर्मीले खुलामञ्चको जमिन बिगार्न नहुने भन्दै निर्णय फिर्ता लिन माग गरेका छन् । 


‘अकुपाई टुँडिखेल’ का संयोजक विजय श्रेष्ठले सम्पदा जोगाउने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने भन्दै आएका मेयरले यस्तो निर्णय गरेकोमा आश्चर्य लागेको बताए । ‘मेयर बालेन्द्रले राम्रो काम गर्दै आउनुभएको छ, हामीले समर्थन नै गर्दै आएका छौं,’ उनले भने, ‘तर यो ऐतिहासिक खुलामञ्चमुनि सवारी पार्क गर्ने आइडिया कसले दियो उहाँलाई ? हामी यो ठाउँको जमिन नबिगार्न आग्रह गर्छौं ।’ महानगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाहले त्रिपल बेसमेन्ट पार्किङ र रिचार्जको डीपीआर तयार पार्नेसम्बन्धी प्रस्ताव पेस गरेका थिए । त्यसको अध्ययन र प्राविधिक सहयोगका लागि ‘टाउन डेभलपमेन्ट फन्ड’ लाई अनुरोध गर्ने उनको प्रस्ताव छ ।

महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा खुलामञ्च नजिकैको खाली ठाउँमा पार्क बनाउने योजना समावेश गरिएको थियो । वार्षिक बजेट पुस्तिकाको सहरी यातायातसम्बन्धी नीतिको १११ नम्बर बुँदामा ‘काठमाडौंको बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ’ लेखिएको छ ।

‘१० औं कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउन सम्भाव्यता अध्ययन गर्ने भनियो तर नीति तथा कार्यक्रम बनाउने बेलामा खुलामञ्च नजिकै भनेर भ्रम छर्ने काम भयो,’ सम्पदा संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘नीति कार्यक्रमका भने जस्तै खुलामञ्च ११ वडा पनि होइन । खुलामञ्च नजिकैको स्थल भन्नासाथ त्यतिबेलै खुलामञ्चै मास्न लागेको भन्ने शंका लागेको थियो, हो रहेछ ।’ ८६३ कित्ता नम्बर रहेको खुलामञ्च २८ वडामा पर्छ । सैनिक मञ्च, टुँडिखेलसम्मको कित्ता एउटै हो ।

पार्किङ स्थलका लागि बहुउद्देश्यीय भवन बनाएर खुलामञ्चको विकल्प खोज्न सकिने र नेपाल वायुसेवा निगमको भवन भएको ठाउँ प्रयोगमा ल्याउन सकिने स्थानीयवासीले सुझाव दिएका छन् । यसबाहेक धरहरामा बनेको दुई तले पार्किङ स्थललाई प्रयोगमा ल्याउन सकिने सुझाव अभियानकर्मीले दिएका छन् । ‘पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरमा पार्किङस्थल बनिरहेको छ । यी ठाउँलाई प्रयोगमा ल्याइहाल्नुपर्छ,’ श्रेष्ठले भने, ‘यसबाहेक एनएसीलगायतका ठाउँमा बहुतले पार्किङ बनाउन सकिन्छ । त्यस्ता विकल्प नहेरी सिधै खुलामञ्च ताकिएको छ, यहाँको जमिन हामी छुन दिँदैनौं ।’

महानगर स्रोतका अनुसार यही ठाउँमा भूमिगत पार्क बनाउन केशव स्थापित मेयर भएको बेलादेखि नै प्रयास भएको हो । स्थानीयको विरोधले काम अघि बढ्न सकेन । विद्यासुन्दर शाक्य मेयर हुँदा पनि खुलामञ्चलगायत टुँडिखेलमुनि भूमिगत पार्किङ बनाउने चर्चा चल्यो । अकुपाई टुँडिखेल अभियान सञ्चालन भइरहेकाले महानगरले यसलाई प्रस्तावका रूपमा भने अघि बढाएन । ‘अहिलेको जति ठाउँ छ, त्यो डबलीका रूपमा रहन्छ, भूमिगत मात्र पार्किङ गर्ने हो भनेर मेयरले म्यासेज गरेका थिए,’ श्रेष्ठले भने, ‘खुलामञ्चमा पार्किङ बनाउन सोच्नसमेत नहुने बताएको थिएँ । हामीले सार्वजनिक सम्पत्ति र काठमाडौंको पानीको मुख्य भरण हुने ठाउँ नचलाउन अनुरोध गरेका छौं ।’

खुलामञ्चमा पार्किङ बनाउनुभन्दा पनि कोर सिटीमा सवारी प्रवेशमै रोक लगाउनुपर्ने माग सम्पदाप्रेमीले गर्दै आएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्षअघि तयार गरेको बृहत् टुँडिखेल पार्क गुरुयोजनामा यो क्षेत्रलाई सवारी निषेध गरेर रिक्सा मात्र चलाउने भनिएको छ । माथिल्लो क्षेत्रमा जाने सवारी सिंहदरबार, पुतलीसडक हुँदै जमलतिर पठाउने, कलंकीतिर जानेलाई माइतीघर, त्रिपुरेश्वरतिरबाट पठाएर बीचको क्षेत्र सवारी निषेध गर्ने साथै रानीपोखरीबाट शान्ति वाटिका, रत्नपार्क, खुलामञ्च, सैनिक मञ्च, टुँडिखेल हुँदै दशरथ रंगशालासम्म विस्तार गर्ने गुरुयोजनामा उल्लेख छ ।

खुलामञ्च ठूला राजनीतिक परिवर्तन भएका बेला सभा गरिएको ऐतिहासिक स्थल हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापित हुँदा यही ठाउँमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायतले सम्बोधन गरेका थिए । २०६२/२०६३ मा लोकतन्त्र पुनःस्थापित भएपछि पनि दलहरूले यही ठाउँलाई आफ्नो अभिव्यक्ति राख्ने ठाउँको रूपमा प्रयोग गरेका थिए । ‘यो नागरिकको आवाज राख्ने ठाउँ हो । लोकतन्त्रमा नागरिकको आवाज राख्ने ठाउँ महत्त्वपूर्ण हुन्छ । यस्तो महत्त्वपूर्ण स्थानलाई संरक्षण गरिएका थुप्रै अन्तर्राष्ट्रिय नजिरसमेत छन्,’ अधिवक्ता सञ्जय अधिकारीले भने, ‘यो ठाउँलाई बिगार्न कानुनी र नैतिक रूपले मिल्दैन ।’

महानगरले भने भूमिगत पार्क बनाउन सम्भाव्यता अध्ययन मात्र गर्न लागेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नआएको जनाएको छ । ‘सभ्याव्यता अध्ययन गरेपछि के गर्ने भनेर छलफल हुन्छ,’ महानगर प्रवक्ता नवीन मानन्धरले भने, ‘सार्वजनिक सुनुवाइ हुन्छ, त्यसमा उठेका आवाज सुनिन्छ ।’ संरक्षणकर्मीले भने अनावश्यक ठाउँमा अध्ययन गर्न जरुरी नै नभएको बताएका छन् । ‘बनाउनै नहुने ठाउँमा सम्भाव्यता अध्ययन गरेर किन बजेट खेर फाल्नु ?’ श्रेष्ठले भने, ‘प्रक्रिया अगाडि बढाउनु नै ठीक छैन ।’

रिभर्स बोरिङसहितको पार्किङ बनाउने नीतिको त्यतिबेलै वडाअध्यक्षहरूले विरोध गरेका थिए । विधान मस्यौदा समितिका अध्यक्ष तथा वडा नम्बर २३ का अध्यक्ष मच्छाराजा महर्जनले निर्णय सच्याउन माग गरेका थिए । ‘प्रस्तावित नीति तथा कार्यक्रममा रहेको खुलामञ्चसँगै रहेको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङबारे उल्लेख गरेको बुँदा पूर्ण रूपमा हटाउन प्रस्ताव गर्छु,’ महर्जनले राखेको प्रस्तावमा छ, ‘किनभने यी क्षेत्र काठमाडौंको नेचुरल पानीको भण्डारण गर्ने क्षेत्र पनि भएको पूर्वजले मान्दै आएको भएर यो क्षेत्रमा बोरिङ गरी भूमिगत पार्किङ गर्दा हाल भएको पानीको नेचुरल स्रोत घट्ने सम्भावना बढी छ ।’

खुलामञ्च पटकपटक अतिक्रमणमा पर्दै आएको छ । भुइँचालो जानासाथ आधा भाग काटेर बसपार्क बनाइयो । छेउमा राख्न थालिएका पसल टहरा संरक्षणकर्मीको विरोधमा भत्काइएको थियो । वीर अस्पताल, दरबार हाइस्कुल बनाउने ठेकेदारको निवाससमेत यहीं बनाइएको थियो । अकुपाई

टुँडिखेल अभियान सञ्चालन भएपछि खुलामञ्च हाल खाली गरिएको छ ।


प्रकाशित : मंसिर ७, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

दैनिक ३ मोहरमा पूजा

राजा महेन्द्रका पालामा बढेको पुरोहितको पारिश्रमिक अझै
पूजा सामग्री खर्चबापत दिनको १७ रूपैयाँ निकासा
दामोदर न्यौपाने

ललितपुर — ललितपुर मंगलबजारस्थित सानो कृष्ण मन्दिर (च्यासेन देगः) मा हरेक दिन बिहान नित्य पूजा हुन्छ । जसको जिम्मेवारी ८२ वर्षीय गुरुदत्त मिश्रलाई छ । नित्य पूजा गरेबापत उनले पाउने पारिश्रमिक कति होला ? सुन्दा अचम्म लागे पनि गुठी संस्थानबाट उनले पाउने मासिक पारिश्रमिक तीन मोहर अर्थात् १ रुपैयाँ ५० पैसा मात्रै हो ।


‘अचेल तीन मोहोरमा के आउँछ ?,’ मन्दिरका पुरोहित मिश्रले भने, ‘एक छाक खान पुग्ने त परको कुरा, एउटा चकलेट पनि आउँदैन । यहीअनुसार सय रुपैयाँ जुटाउन पनि तीन महिना लाग्छ ।’

गुठी संस्थानले मन्दिरको पूजा खर्च भन्दै दिनको १७ रुपैयाँ दिने गरेको छ । नित्य पूजाका लागि चाहिने चामल, जौ, तिल, श्रीखण्ड, सिन्दुर, केसरी, धूप, कातेको बत्ती, घिउ, फूल, फलफूल, नैवेद्य, भेटी गरी १६ प्रकारका सामान चाहिन्छ । यी सबै सामान आफैं किनेर जुटाउँदै आएको मिश्रको भनाइ छ । पूजा सामग्री खरिदका लागि मात्रै महिनामा ६ हजार ६ सय ४० रुपैयाँ खर्च हुने विवरण मिश्रले ३ वर्षअघि नै संस्थानमा पेस गरेका थिए ।

‘अहिले त बजार भाउ त्यतिबेलाको भन्दा तेब्बर बढेको छ,’ मिश्रले प्रश्न गरे, ‘अहिले कति पर्छ हिसाबै निकालेको छैन । गुठीले महिनाभरिका लागि दिने खर्चले एक दिनलाई पनि पुग्दैन । अनि कसरी गर्नु पूजा ? कसरी जोगाउनु परम्परा ?’

ज्वाला नरसिंह मन्दिरको पुजारी पनि उनै मिश्र हुन् । त्यहाँको पूजा खर्च र पुरोहितको पारिश्रमिकबापतको रकम कौशीतोषाखाना (हाल निवृत्तीभरण शाखा) ले दिन्छ । शाखाले पूजाका सामग्री किन्ने ठेक्का न्युरोडका एक पुस्तक व्यापारीलाई दिएको छ । तर, सामग्री लिन जान टाढा र खर्च पनि निकै कम दिने गरेको उनले गुनासो गरे । यसबाहेक हरिशंकर मन्दिरको पूजा पनि मिश्रले नै गर्नुपर्छ । संस्थानले यो मन्दिरको पनि पूजा खर्च १७ रुपैयाँ र पारिश्रमिक ३ मोहर नै दिने गरेको छ । ‘यी तीनै मन्दिरमा आफ्नै बुँताले खर्च गरेर पूजा गर्दै आएको छु,’ मिश्रले भने ।

पूजा खर्च बढाउन ३ वर्षअघि मिश्रले संस्थानको ललितपुर शाखामा निवेदन दिएका थिए । त्यहाँबाट सिफारिश भएर केन्द्रमा पुग्यो । केन्द्रमा पनि धाए मिश्र । ‘हामी गर्दिन्छौं, जानूस् बाजे भने,’ मिश्रले भने, ‘तर केही प्रगति भएन ।’ पितापुर्खादेखि चल्दै आएको परम्परालाई अहिले निरन्तरता मात्रै दिएको उनको भनाइ छ । यसअघि उनका बुबा गुरुदत्त तीनै मन्दिरका पुरोहित थिए । २०२६ सालमा बुबाको मृत्यु भएपछि मिश्रले आफूलाई पुरोहित नियुक्त गर्न संस्थानमा निवेदन दिएका हुन् । मिश्रका अनुसार बुबाको पालामा झन् दैनिक ४ पैसा थियो पूजा खर्च । खर्च बढाउन गुरुदत्तले राजा महेन्द्रसामु विन्तीपत्र पेश गरेका थिए । महेन्द्रले बढाएर ३ मोहर पुर्‍याइदिएपछि अहिलेसम्म वृद्धि भएको छैन ।

गुठी संस्थानले पूजा खर्चवापतको रकम कम भएको स्विकारेको छ । ‘कोही ठाउँमा जग्गा दिएर खान्की (खाने कुरा वा तलब) को व्यवस्था गरिएको छ, ती पुरोहितलाई मर्का परेको छैन,’ गुठी संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसालले भने, ‘कतै संकलन हुने भेटीबाटै राम्रो आम्दानी हुन्छ । भेटी पनि नहुने, जग्गा, खान्की पनि नहुने मन्दिरका पुरोहितलाई समस्या भएको छ । त्यसलाई के गर्ने भनेर अध्ययन गर्न समिति नै बनाएका छौं ।’

मिश्रले पूजाको जिम्मा लिएका मन्दिरमा न जग्गाको आम्दानी आउँछ, न त भेटी नै उठ्छ । यस्ता मन्दिर थुप्रै छन् काठमाडौंमा । त्यसैमध्येमा पर्छन् विश्वेश्वर, महालक्ष्मी, लगगनखेल, भस्मेश्वर मन्दिरलगायत । ‘हामीले परम्परा जोगाउन मात्र पूजा गरिराखका छौं,’ तिनै मन्दिरका पुरोहित कृष्ण बोधनीले भने, ‘राज्यले नै मठमन्दिरलाई हेला गरेको छ ।’

मिश्र अहिले आफूलाई धर्म संकटको अवस्था आइलागेको बताउँछन् । ‘परम्परा छोड्न पनि भएन । निरन्तरता दिन पनि कठिन छ । यसरी कहाँ जोगिन्छ संस्कृति ?,’ उनले भने, ‘एक छान खान पुग्ने आम्दानी त होस् । बाँच्नै नसक्ने आम्दानी भएपछि संस्कृति भनेर को बस्न सक्छ ? राज्यको नीतिले गर्दा नै धर्म संस्कृति मासिएर जाने भयो ।’

प्रकाशित : भाद्र २७, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×