कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

क्यामा खोला पुल ९ वर्षदेखि अधुरै

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको उत्तर पूर्वी गाउँ गुम्देलको क्यामा खोलामा निर्माणाधीन पुल ९ वर्षमा पनि अधुरै छ । १३ मिटर लामो उक्त अधुरो पुल निर्माणमा अझै सम्बन्धित निकायको चासो पुगेको छैन । पुल नबन्दा गुम्देलको क्यामा लगायतका गाउँका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

क्यामा खोला पुल ९ वर्षदेखि अधुरै

क्यामा खोलाको पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिले ठेक्का लगाएको थियो । जिल्ला विकास समिति खारेज भएको पनि ६ वर्ष बितेको छ । जिविस हुँदा उक्त पुलको ठेक्का भई प्राविधिक रेखदेखको काम तत्कालीन प्राविधिक कार्यालयले गरेको थियो ।

तत्कालीन जिविसका इन्जिनियर डिल्लीबहादुर अधिकारीका अनुसार स्वीस सरकारको सहयोगमा सञ्चालित स्थानीय ग्रामीण सडक पुल कार्यक्रम अन्तर्गत काम गर्ने गरी उक्त पुलको निर्माण थालिएको हो । उक्त आयोजनाले रस्नालु, फर्पुखोला, बोहोरो खोला, भटौली खोला, खानी खोला जस्ता स्थानमा पुल निर्माण गरेको थियो । अरु ठाउँमा पुल निर्माण सम्पन्न भई स्थानीयले आवागमनमा सुविधा उपयोग गरेका छन् । तर क्यामा खोलाको पुल सकिने अझै टुंगो छैन ।

करिब २ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पुल बनाउने जिम्मा खम्पाचे/थापा जेभीले पाएको थियो । उक्त जेभीले कहिले बाढीपहिरो, कहिले कोरोना जस्ता कारण देखाएर निर्माण कार्य अधुरो राख्दै आएको छ ।

निर्माण व्यवसायी डेण्डि शेर्पाले कोभिड र गत वर्षको बाढीपहिरोको कारण पुल निर्माणमा केही ढिलाइ भएको बताए । ‘अब थोरै काम बाँकी छ, हामी चुनावको लगत्तै काम थालेर यो पटक पुरा गर्छौं,’ शेर्पाले भने । उनका अनुसार जिल्ला विकास समिति खारेजीमा परेपछि पुल निर्माण कार्य कुन निकायको दायित्वमा पर्ने भन्ने विषयले समेत केही अवधि अन्योल पारेकोले पनि निर्माण कार्यमा यति लामो समय लागेको हो । जिविसले लगाएको ठेक्का हेर्ने र बाँकी कामको भुक्तानीको जिम्मेवारी अहिले प्रदेश सरकार अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले पाएको छ ।

स्थानीय वाङ्छु शेर्पाका अनुसार क्यामा खोलाको करिब १३ मिटर लामो पुलमा स्ल्याब हालिएको छैन । दुईतिरको बिम राखेर छोडिएको छ । स्ल्याब हालेको अर्को सानो खोल्सीको पुलमा समेत गएको वर्षायाममा आएको बाढीपहिरोले क्षति पुगेकोले पुरै मर्मत गर्नुपर्ने अवस्था रहेको शेर्पाले बताए ।

प्रकाशित : मंसिर २, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?