साततले दरबार पुनर्निर्माण माघदेखि- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साततले दरबार पुनर्निर्माण माघदेखि

कृष्ण थापा

नुवाकोट — २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त नुवाकोटका साततले दरबारलगायत पुरातात्त्विक सम्पदाको पुनर्निर्माण आगामी माघदेखि सुरु हुने भएको छ । चीन सरकारको सहयोगमा पुनर्निर्माण हुने भनिए पनि भूकम्प गएको झन्डै साढे ७ वर्ष भइसक्दा यहाँ काम सुरु हुन सकेको छैन ।


चीनले कोरोना महामारीका कारण ढिलाइ हुँदै आएको बताउँदै आएको छ । एक महिनायता चिनियाँ प्राविधिक टोलीले दरबारको विस्तृत अध्ययन गरिरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटले जनाएको छ ।

‘३–१० जनासम्मको प्राविधिक टोलीले दरबारका इँटालगायतको अध्ययन गरिरहेको छ,’ कार्यालय प्रमुख अर्जुन फुँयालले भने, ‘चिनियाँ नयाँ वर्ष आउन लागेकाले उक्त पर्व मनाएर फर्किएपछि आउँदो माघबाट काम गर्ने चिनियाँ पक्षले बताएको छ ।’ उनका अनुसार काठमाडौंस्थित हनुमानढोका, वसन्तपुर दरबार पुनर्निर्माण गर्ने कालीगडले नै साततलेलगायत यहाँका सम्पदा पुनर्निर्माण गर्नेछन् ।

बाह्य तथा आन्तरिक पर्यटक आउने मुख्य सिजन भए पनि खण्डहरजस्तै बनेका सम्पदास्थल बेलैमा पुनर्निर्माण नहुँदा सुनसानजस्तै छन् । ‘भूकम्पले ढलेका घरहरू नयाँ बनिसके । बल्ल दरबार र मठमन्दिर पनि ठडिने आस जागेको छ,’ स्थानीय शिव मल्लले भने, ‘यत्रो समयसम्म नबन्दा यहाँको व्यापार–व्यवसाय त चौपटै भएको छ ।’

विदुर नगरपालिका–२ मा रहेका साततले दरबारलगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तलेजु भवानी मन्दिरलगायतको पुनर्निर्माण हुने कार्यालयले जनाएको छ । अहिले यी सम्पदालाई फलामे टेको लगाई जस्तापाताले छोपेर राखिएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वसन्तपुर दरबार पुनर्निर्माण सकिएपछि मात्रै नुवाकोटका सम्पदा पुनर्निर्माण थाल्ने भनेको थियो । साततले दरबार १९९० सालको भूकम्पअघि ९ तला थियो । त्यसबेला २ तला भत्किएको थियो । यो दरबार पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकीकरणपछि १८१७–१९ सालसम्ममा बनाउन लगाएका थिए । जसका लागि ललितपुरबाट कालीगड झिकाइएको इतिहास छ ।

प्रकाशित : कार्तिक २२, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

एमालेलाई सघाएको भन्दै गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै

नारायण शर्मा

नवलपरासी पूर्व — आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ । आचार्य गत निर्वाचनमा गोर्खाबाट  बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।

मन्त्री आचार्यलाई मन्त्रीबाट हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखलाई पत्र पठाउने भएका छन् । आचार्य भट्टराई नेतृत्वको पार्टीबाट गोर्खा क्षेत्र नम्बर २ को १ बाट उनी विजयी भएका हुन् । उनलाई त्यतिबेला नेपाली कांग्रेसले सर्मथन गरेको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा उनलाई टिकट नदिएर फणिन्द्र देवकोटालाई प्रदेशसभामा उम्मेदवार बनाइएको छ । देवकोटा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन् । आफूलाई पार्टीले फेरि उम्मेदवार नबनाएपछि आचार्य असन्तुष्ट रहेको बताइन्छ ।

पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका हुन् । यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउन एमालेसँग साँठगाँठ गरेको भन्दै उनलाई हटाउने तयारी गरिएको हो ।

मन्त्री आचार्य मन्त्रीकै हैसियतमा एमालेको प्रचारमा बागलुङलगायतका जिल्लामा समेत सक्रिय रहेको पाइएपछि पार्टी उनकै पार्टीको निर्देशनमै हटाइने भएको स्रोतको भनाइ छ ।

गण्डकी प्रदेश सरकारमा बाबुराम भटराई नेतृत्वको पार्टीबाट २ प्रदेश सभासदस्य रहेका थिए । अर्की गोर्खाकै धनमाया लामा हुन् । उनी समानुपतिकबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

प्रकाशित : कार्तिक २२, २०७९ १२:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×