कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुली–१ : प्रदेशसभाका प्रतिस्पर्धी प्रतिनिधिसभामा पनि आमनेसामने

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा अघिल्लो निर्वाचनमा प्रदेशसभाका प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुँदैछ । २०४८ सालदेखि एमालेले जित्दै आएको क्षेत्र नं १ मा यो पटक सत्ता गठबन्धनका कारण एमालेलाई विगत जस्तो सहज छैन ।

सिन्धुली–१ : प्रदेशसभाका प्रतिस्पर्धी प्रतिनिधिसभामा पनि आमनेसामने

गठबन्धनलाई वर्तमान मुद्दाहरुले त्यति सजिलो भने छैन । क्षेत्र नं १ मा २०५१ को मध्यावधि चुनावमा कांग्रेसका विपीन कोइराला बाहेक एमालेलाई हराउन सकेका छैनन् । माओवादीको वर्चस्व भएको बेला २०६४ को संविधानसभा निर्वाचनमा समेत एमालेका विषमलाल अधिकारी दनुवारले झिनो मतान्तरमा जित हात पारेका थिए । गठबन्धनका तर्फबाट कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे एमालेको २५ वर्षे विरासत भत्काउन लागेका छन् भने एमालेका निवर्तमान वाग्मती प्रदेससभा सदस्य प्रदीप कटुवाल जोगाउन दाउमा छन् । अघिल्लो निर्वाचनमा घिमिरे र कटुवालबीच क्षेत्र नं १ को ‘२’ मा प्रतिस्पर्धा हुँदा वाम गठबन्धनका कटुवाल विजयी भएका थिए । उनै पुराना प्रतिस्पर्धी यो पटक प्रतिनिधिसभामा आमनेसामने हुँदा चुनावमा रोचक प्रतिस्पर्धा हुने आकलन छ । दुवै उम्मेदवारले जित हात पार्ने दाबी गरेका छन् ।

दुवै प्रतिस्पर्धी एकै गाउँपालिकाबासी हुन् । फिक्कल गाउँपालिकाको चनौटेमा जन्मिएका कटुवाल हाल तीनपाटन गाउँपालिका ११ निवासी भएका छन् भने घिमिरे वडा नं १ बेलघारीका हुन् । दुवै उम्मेदवारको ५७ वर्षका छन् । कटुवालले घिमिरेलाई दाइ भनेर सम्बोधन गर्छन् । ०७४ को निर्वाचनमा कटुवालले घिमिरेलाई पराजित गरेका थिए । पहिला पनि श्याम दाइलाई मैले पराजित गरेकाले अहिले पनि कठिन छैन्, एमाले उम्मेदवार कटुवालले भने, ‘म सधैं जनताको सुख दु:खमा रहेकाले मेरो जित निश्चित छ । फारकिलो अन्तरले चुनाव जित्ने लक्ष्य छ ।’ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री कार्यकालमा कटुवाल एक महिनाजसो वाग्मती प्रदेसको स्वास्थ्यमन्त्री भएका थिए । स्वास्थ्य, शिक्षा, सडक र अन्य भौतिक पूर्वाधारहरु एमाले सरकारमा हुँदा धेरै बनेकाले जनताले मन पराएको कटुवालको जिकिर छ ।

कटुवालले भनेजस्तो स्थिति भने अहिले छैन । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट जित हात पारेका कटुवाल यतिखेर ठ्याक्कै उल्टो स्थितिमा छन् । माओवादी केन्द्रको साथ कांग्रेसलाई छ भने एकीकृत समाजवादीको साथ पनि घिमिरेले पाएका छन् । अघिल्लो निर्वाचनमा गठबन्धन भएकाले मलाई निकै गार्‍हो थियो, कांग्रेस उम्मेदवार घिमिरेले भने, ‘एक त अहिले गठबन्धन छ, अर्को भनेको लामो समय एमालेले क्षेत्र नं १ को प्रतिनिधित्व गर्दा समेत विकास धीमा गतिमा भएकाले जनता रुष्ट हुनु नै मेरो जित पक्का जस्तै हो ।’ एमालेले क्षेत्र नं १ मा २५ वर्ष शासन गर्दा नगरेको विकास आफूले ५ वर्ष भित्रमा गर्ने भनेर घिमिरेले जनतालाई आश्वस्त तुल्याउने गरेका छन् ।

स्थानीय तह अन्तर्गत दुधौली नगरपालिका, तीनपाटन, फिक्कल, गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकाको वडा नं ९, १३ र १४ क्षेत्र नं १ मा पर्छ । दुधौली नगरपालिकामा मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसका छन् । तीनपाटन गाउँपालिकामा कांग्रेसका अध्यक्ष र माओवादी केन्द्रका उपाध्यक्ष छन् भने फिक्कल र गोलन्जोर अध्यक्षमा एमालेले जित हात पारेको छ । गोलन्जोरको उपाध्यक्षमा माओवादी केन्द्र छ । सत्ता गठबन्धनमा प्रतिनिधिसभातर्फ क्षेत्र नं १ कांग्रेस र क्षेत्र नं २ माओवादी केन्द्रको भागमा परेको छ । क्षेत्र नं १ को (१) मा माओवादी केन्द्रबाट प्रदेससभा सदस्यमा मातृका भट्टराई छन् भने (२) मा कांग्रेसका रामकुमार पहाडी उम्मेदवार छन् । एमाले भने यो क्षेत्रमा एकल प्रतिस्पर्धामा छ । प्रदेशतर्फ एमालेबाट (१)मा पूर्व सञ्चारकर्मी समेत रहेका सुवास देवकोटा छन् भने (२) मा एमाले जिल्लाध्यक्ष कुमारबहादुर कार्की (रामकुमार) प्रतिस्पर्धामा छन् ।

स्थानीय तहमा वडाध्यक्षहरुले पाएको मतमा एमाले र कांग्रेस हाराहारीमा छन् भने माओवादी केन्द्रको मतले पल्ला भारी बनाउने देखिन्छ । क्षेत्र नं १ को ४१ वडाबाट एमालेका वडाध्यक्षहरुले २८ हजार ६२० मत प्राप्त गर्दा कांग्रेसले २८ हजार १७ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १३ हजार ३६९ मत प्राप्त गरेको छ भने एसमाजवादीको १८७ मत रहेको छ । सत्ता गठबन्धनको ४१ हजार २७३ मत रहेको छ भने एमाले १२ हजार ६५३ मतले पछाडि छ ।

निर्वाचन क्षेत्र नं १ मा एकलाख सातहजार १३६ मतदाता रहेका छन् । ७७ मतदानस्थल रहेको उक्त क्षेत्रमा १२७ मतदान केन्द्र रहेको छ ।

प्रकाशित : कार्तिक ११, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?