१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धानको बालामा ‘बिटल’ को बास

रमेशकुमार पौडेल

चितवन — पसाउँदै गरेको धानको बाला ढाकेर कालो सानो खपटे किरा (बिटल) बस्न थालेपछि किसानहरू चिन्तित भएका छन् । भरतपुर महानगरपालिका-१४ बरौंजीका किसान घननाथ सापकोटाको धानखेतमा यस्तो किरा छपक्कै देखिएको हप्तादिनभन्दा बढी भयो । ‘पसाउँदै गरेको धान यो किराले सखापै बनायो झैं छ । यस्तै हो भने खेती स्याहार्न पाइएलाजस्तो छैन‚’ सापकोटाले चिन्तित हुँदै भने ।

धानको बालामा ‘बिटल’ को बास

बरौंजी वरपरका ५० बिघा जति धानखेतमा यस्तो किरा छपक्कै देखिएको उनले बताए । उनका छिमेकी नरनाथ पौडेलले यो किसारले धानमात्रै नभएर रुख-बुट्यानहरूमा पनि असर गरेको सुनाए । खेतको आलीमा बस्ने यो किरा बिस्तारै-बिस्तारै धानको बुटोमा बस्न जाने र बाला खाँदै अगाडि बढ्ने गरेको उनी बताउँछन् । कृषि ज्ञान केन्द्रमा उनले यो समस्याबारे जानकारी गराएका छन् ।

किसानहरूले समस्या सुनाएपछि भरतपुरको कृषि केन्द्रका कृषि प्रसार अधिकृत मीनबहादुर पुन खेती हेर्न पुगेका थिए । ‘पसाउँदै गरेको धानको बालामा गएर यो किरा बसेको छ । यो समस्या यसअघि खासै देखिएको थिएन । किरा नौलो त हैन तर यसरी छपक्कै बस्ने गरेको थाहा थिएन‚’ पुनले भने । नयाँ समस्या भएका कारण यो विषय विज्ञहरूलाई जानकारी गराएको उनले बताए ।

‘मैले सम्पर्क गरेका किट विज्ञहरूले यो किराले बाली नोक्सान गरेको खासै सुनिएको छैन भन्नु भएको छ । तर‚ किसानहरू आत्तिएका छन् । हामी पनि के गर्ने नगर्ने निचोडमा पुगेका छैनौं‚’ पुनले भने । आफूहरूले विज्ञहरूकै राय पर्खेर बसेको उनले बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका किट विज्ञ घनश्याम भण्डारीले किराले गर्ने असरबारे बुझ्नुपर्ने बताए ।

भण्डारीका अनुसार यो किरा धानको ब्याडमा देखिन्थ्यो । यसको लार्भाले ब्याडको धानको बीउको जरा खाने गर्दथ्यो । ‘तर यति धेरै मात्रामा धानको बालामा बसेको पहिलोपल्ट देखिएको छ । धानको बालामा बस्दैमा नोक्सान हुने होइन । तर‚ असर गर्ला/नगर्ला यसबारे सानो अध्ययन गर्दै छु । एक दुई दिनभित्रै निचोडमा पुगिएला,’ भण्डारीले भने । बरौंजी आडको शिवनगरमा पनि यस्तो समस्या देखिएको छ ।

खेतमा गएर हेर्दा धानको बाला काटे झैं पनि देखिएका कारण असर पर्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनबहादुर पुनले सुनाए । असर गर्ने अवस्था आए सिफारिस गरिएका विषादीहरू प्राविधिकहरूको रेखदेख र सुझावमा राख्न लगाउने उनले बताए । तर ठूलो जमिन ढाकेर किरा बसेका कारण विषादी छर्कन सहज नभएको र छर्नै पर्ने अवस्था आए सरकारले विशेष सहयोग गर्नुपर्ने किसानहरूको माग छ ।

प्रकाशित : आश्विन १४, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?