बसमा हतियारसहित गस्ती- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसमा हतियारसहित गस्ती

लागूपदार्थ सेवन गर्ने तीन चालक नियन्त्रणमा
प्रताप विष्ट

हेटौंडा — बसहरूमा रात्रिकालीन सुरक्षा जाँच तथा हतियारसहित प्रहरी टोलीलाई गस्तीमा खटिएको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले रात्रिकालीन बसहरूमा हतियारसहित प्रहरी गस्ती सुरु गरेको हो ।

हतियारसहितका प्रहरीलाई बसमा राखेर बारा र मकवानपुरको सिमाना हेटौंडाको चुरियामाइदेखि मकवानपुर र चितवनको सिमाना मनहरीको लोथरसम्म हतियारसहितको गस्ती सुरु गरिएको हो ।

चाडपर्वको समयमा आम नागरिकहरूको रात्रिकालीन यात्रा पनि सुरक्षित होस् भन्ने उद्देश्यले हतियारसहितको गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए । चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले गस्ती सुरु गरेको हो ।

'हेटौंडाको बसपार्कबाट पूर्व-पश्चिम रुटमा चल्ने यात्रुवाहक बसहरूलाई रोकी जाँच गर्नुका साथै रातको समयमा हुन सक्ने लुटपाट तथा चोरीलाई मध्यनजर गरी रात्रिकालीन बसहरूमा चुरियामाइदेखि मनहरीको लोथरसम्म हतियारसहित प्रहरी टोलीले गस्ती गर्ने गरिएको छ,' उपरीक्षक गौतमले भने ।

राजमार्गमा पर्ने जंगलसहितको एकान्त क्षेत्रमा लुटेराहरूले बस रोकेर यात्रुहरूको लुटपाट गर्ने गरेकाले प्रहरीले यात्रालाई सुरक्षित बनाउन यो अभियान सुरु गरेको जनाएको छ । विशेषगरी चाडपर्वमा काठमाडौंबाट गन्तव्यतर्फ जान लागेका यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर यो काम सुरु गरिएको प्रहरी उपरीक्षक गौतमले भने ।

यसैगरी, प्रहरीले हेटौंडा उपमहानगरपालिका-१ तिरतिरे धारामा हेटौंडा–भिमफेदी–काठमाडौं रुटमा चल्ने साना–ठूला सवारी साधनहरूलाई रोकी चालकहरूको लागूपदार्थ सेवनको जाँच गर्न थालेको छ । जाँच गर्ने क्रममा ३ जना चालकलाई लागूपदार्थ सेवन पोजिटिभ देखिएकाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीको मार्गमा लागूपदार्थ सेवन गरी सवारीका साधन चलाउने गरेको यात्रुहरूको गुनासो आएपछि प्रहरीले जाँच सुरु गरेको हो । 'हेटौंडा–भीमफेदी, कुलेखानी–फाखेल हुँदै काठमाडौं रुटमा सवारी साधन चलाउने चालकको मादक पदार्थ तथा लागूपदार्थ सेवन गरे/नगरेको जाँच गरेर पठाउने क्रममा तीन जना चालकले लागूपदार्थ सेवन गरेको प्रमाणित भएपछि पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं,' जिल्ला ट्राफिक मकवानपुरका प्रमुख मुनेन्द्र थापाले बताए ।

प्रकाशित : आश्विन १४, २०७९ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

निर्वाचन निष्पक्ष गराउन पाल्पाका आठ दलको प्रतिवद्धता

माधव अर्याल

पाल्पा — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन पाल्पाका ८ राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । शुक्रबार तानसेनमा ती दलका नेता तथा प्रतिनिधिहरूले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

पाल्पा विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा एमालेका धनेन्द्रराज घिमिरे, कांग्रेसका हिमालदत्त श्रेष्ठ, माओवादी केन्द्रका राजेन्द्र विक, एकीकृत समाजवादीका कमल पाण्डेय, राष्ट्रिय जनमोर्चाकी नरमती सिंजाली, राप्रपाका डुलबहादुर कुँवर, स्वतन्त्र पार्टीका सुमन गैरे, जसपाका खिकबहादुर रेश्मीले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस क्रममा उनीहरुले मतदाताले रोजेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्ने हकको संरक्षण र सुनिश्चितताप्रति आफूहरू संवेदनशील रहेको बताए । साथै दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गर्ने प्रतिवद्धता पनि जनाएका थिए।

राजनीतिक दल र उम्मेदवारहरुले आफ्ना विचार, घोषणापत्र, एजेण्डा खुला रुपमा मतदाता समक्ष राख्ने, बहस गर्ने वातावरण सिर्जना गरी एक अर्काप्रति सम्मानजनक व्यवहार गर्ने पनि उनीहरूको प्रतिवद्धता थियो । दलका नेताहरूले निर्वाचन आचारसंहिता पाल्ना गर्दै आपसमा आरोप, प्रत्यारोप तथा मान, प्रतिष्ठामा आक्षेप लाग्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित : आश्विन १४, २०७९ १५:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×