वाग्मती प्रदेशमा ५ वर्षमा सवारी खर्च अर्बभन्दा बढी- वाग्मती - कान्तिपुर समाचार

वाग्मती प्रदेशमा ५ वर्षमा सवारी खर्च अर्बभन्दा बढी

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले ५ वर्षको अवधिमा झन्डै सवा अर्ब रुपैयाँ बराबरको सवारीसाधन खरिद, मर्मत र इन्धनमा खर्च गरेको छ । वित्तीय संघीयता कार्यान्वयन सुरु भएसँगै प्रदेशअन्तर्गतका मन्त्रालय, महाशाखा, विभाग र विभिन्न संरचनाहरूले सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी कुल १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च गरेको हेटौंडास्थित प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्ष ०७८/७९ मा मात्रै कुल ४७ करोड २६ लाख ६७ हजार रुपैयाँ यो शीर्षकमा खर्च भएको छ । प्रदेश सरकारले साबिकका ७ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएपछि अन्य शीर्षकको तुलनामा सवारी खरिद, मर्मत र इन्धनमा बढी खर्च भएको हो । मन्त्री, राज्यमन्त्री तथा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूका लागि मात्रै गत आवमा ३० करोड १० लाख ४९ हजार ४ सय ६९ रुपैयाँ बराबरको सवारी साधन खरिद गरिएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए । उनका अनुसार प्रदेशका विभिन्न निकाय र कार्यालयले सवारी मर्मतमा मात्रै ८ करोड १ लाख १४ हजार ७ सय ४९ रुपैयाँ खर्च गरेका छन् । इन्धनमा मन्त्री, कर्मचारीहरूले ९० लाख ३० हजार ८ सय ६४ रुपैयाँ र कार्यालय प्रयोजनमा ८ करोड २४ लाख ७२ हजार २ सय ३८ रुपैयाँ खर्च भएको छ ।

कार्यालयको तथ्यांकअनुसार आव ०७५/७६ मा प्रदेशले २६ करोड ४७ लाख ८३ हजार ४ सय ६४ रुपैयाँ, आव ०७६/७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र आव ०७७/७८ मा १६ करोड २९ लाख ७ हजार रुपैयाँ सवारी साधन शीर्षकमा खर्च गरेको थियो । हरेक वर्ष सवारीसाधन थपिएसँगै तिनको मर्मत र इन्धनमा पनि करोडौं रुपैयाँ व्ययभार थपिरहेको छ । सवारीसाधन मर्मतमा आव ०७५/७६ मा ३ करोड ९९ लाख ५२ हजार रुपैयाँ, आव ०७६/७७ मा ५ करोड ४० लाख ५८ हजार रुपैयाँ र ०७७/७८ मा ६ करोड ८८ लाख ७ हजार रुपैयाँ खर्च प्रदेशले खर्च गरेको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूले आव ०७५/७६ मा इन्धनमा १ करोड ६८ लाख ६१ हजार ६ सय २६ रुपैयाँ खर्च गरेका थिए । यो वर्ष कार्यालय प्रयोजनमा २ करोड ६ लाख ५६ हजार ८ सय ९६ रुपैयाँ खर्च भएको थियो । आव ०७६/७७ मा पदाधिकारीतर्फ ३६ लाख ९० हजार ६ सय ३४ रुपैयाँ र कार्यालय प्रयोजनमा ५ करोड ३६ लाख १९ हजार १७७ रुपैयाँ बराबरको इन्धन खर्च भएको थियो । आघिल्लो आवमा ४५ लाख ९८ हजार ८ सय ६४ रुपैयाँ पदाधिकारीतर्फ र ६ करोड ५४ लाख १३ हजार ४ सय ३१ रुपैयाँ बराबरको इन्धनको कार्यालय प्रयोजनमा खर्च भएको थियो ।

प्रदेशले सवारी साधनको भाडा खर्चबापत पनि रकम भुक्तानी गरेको छ । जसअनुसार आव ०७५/७६ मा ३ लाख २५ हजार ६ सय ६१ रुपैयाँ, आव ०७६/७७ मा १ लाख ६६ हजार २ सय ५० रुपैयाँ, आव ०७७/७८ मा ३३ हजार ९ सय रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा पनि सोही अनुपातमा सवारीसाधन भाडाबापत रकम भुक्तानी भएको छ ।

२८ करोडको गाडी किनिँदै

प्रदेशले चालु आर्थिक वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको सवारीसाधन किन्ने योजना बनाएको छ । सावरी मर्मतसम्भारका लागि ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले सवारीसाधनमा बर्सेनि खर्च बढ्नु स्वाभाविक भएको दाबी गरे । ‘बर्सेनि सवारीसाधान पुरानो हुँदै जान्छन् । जसले गर्दा खर्च बढ्ने नै भयो ।

मन्त्रालय र मातहतका कार्यालयका दैनिक कामकाजलाई सघाउ पुग्ने भएकाले आवश्यकताको आधारमा सरकारले सवारीसाधन खरिद गरेको हो,’ उनले भने । मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारीसाधनको आवश्यकता बढी भएको उनको तर्क छ । बर्सेनि बढ्दो सवारी खर्च नियन्त्रण गर्न सरकारले अध्ययन सुरु गरिसकेको उनले बताए । ‘चालु आवमा मन्त्रालयहरूले नयाँ सवारी नकिन्ने भनेका छन्, बजेट पनि त्यहीअनुसार बनाएका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन १२, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् । वैश्विक सार्वजनिक मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप बुझ छलफलहरूमा पनि सहभागी हुनेछिन् ।

ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुन:स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नेछिन् ।

नेपालसँगै उनले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । बुधबारदेखि सुरु हुने उनको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र 'रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद' गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७९ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×