पौडी खेल्ने क्रममा हेटौंडाका तीन बालक बेपत्ता- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्ने क्रममा हेटौंडाका तीन बालक बेपत्ता

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिका ७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा १० देखि १२ वर्ष उमेर समूहका तीन जना बालक बेपत्ता भएका छन् ।


शुक्रबार साँझ ५:३० बजेतिर ४ जना बालकहरू पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको बताइएको छ ।खोलाबाट उद्धार गरिएका एक बालकले घटनाबारे जानकारी दिएका हुन् ।

हराइरहेका बालकहरूको वाग्मती प्रदेश प्रहरी कार्यलयबाट आएको उद्धार टोलीले खोजी गरिरहेको छ । सकुशल उद्धार गरिएका बालकका अनुसार उनीहरू हेटौंडा ८ कमानेबाट पौडी खेल्न आएका थिए ।

हराइरहेका बालकहरूको पहिचान हुन नसकेको खोजी कार्यमा संलग्न वडा प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए ।

प्रकाशित : आश्विन ७, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षाले जोडेको बनारस

राजेश मिश्र

वाराणसी — ‘न्याय नपाए गोरखा र विद्या नपाए बनारस जानू’  नेपाली समाजका पुराना पुस्तामाझ चलनचल्तीको उखान हो । उखानमा उल्लेख भएजस्तै नेपालको शिक्षामा बनारसको महत्त्वपूर्ण योगदान छ । राणा शासनमा जतिखेर नेपालमा विद्यालयहरू थिएनन् । त्यतिबेला पढ्न चाहनेका लागि बनारस नै केन्द्र थियो । धेरैले यहाँबाटै शिक्षा आर्जन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको स्थापना नहुँदासम्म नेपालका कतिपय कलेजहरूले काशी हिन्दू विश्वविद्यालयकै मान्यता लिएर अध्ययन अध्यापन गराएका थिए । नेपालका पुराना पुस्ताका राजनीतिज्ञहरू, कर्मचारीवर्गदेखि शिक्षक, प्राध्यापकहरूले बनारसबाटै शिक्षा आर्जन गरेका भेटिन्छन् ।

पहिले बनारस र पछि वाराणसी भन्न थालिएको यस ठाउँमा ४६ वर्षदेखि बस्दै आएका धनकुटा शिवुआका डा. गोपलप्रसाद अधिकारी बनारसले नेपाललाई धर्म, संस्कृतसँग मात्रै जोडेको नभई नेपालको राजनीतिक परिवर्तन र आधुनिक शिक्षामै ठूलो योगदान गरेको बताउँछन् । श्री रामानुज दर्शन महाविद्यालयका प्रिन्सिपल रहेका अधिकारी सन् ९० को दशकसम्म पनि नेपालका ७५ वटै जिल्लाका विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गरेको बताउँछन् ।

‘वि.सं. २००७ सालअघि र त्यस वरपर शिक्षाका लागि बनारस नै केन्द्र थियो । पछिसम्म पनि परीक्षा दिन यहाँ आउनुपर्ने स्थिति थियो,’ उनले भने‚ ‘नेपालमा शिक्षा क्षेत्रमा भएको विस्तारसँगै त्यो क्रम घट्दै गए पनि केही वर्षअघिसम्म पनि नेपाली विद्यार्थीको संख्या धेरै भएर नेविसंघ र अनेरास्ववियूको अधिवेशन यहाँ चर्चित हुन्थ्यो ।’

बनारस र नेपाललाई धेरै विषयले जोड्ने गरेकोमा त्यसमध्ये शिक्षा एउटा महत्त्वपूर्ण पक्ष रहेको उनले बताए । उनी स्वयं शिक्षा आर्जनकै लागि यता आएका बेला यतै सरकारी जागिर प्राप्त गरेर अध्यापनमा लागे ।

नेपाली राजनीतिज्ञहरूले राणाविरुद्धको लडाइँमा होस् वा निरकुंश राजतन्त्र फाल्न थालेको आन्दोलनको नेतृत्व बनारसबाटै गरेका थिए । कांग्रेसका बीपी कोइराला, गणेशमान, कृष्णप्रसाद भट्टराईसहित धेरै नेताहरूदेखि कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीहरूले धेरै समय यहाँ बिताएका थिए ।

कुनै बेला नेपालको राजनीतिक, सामाजिक क्रान्तिको बहसको केन्द्र रहेको बनारसमा अहिले पनि नेपालबारे अध्ययन, अध्यापन र अनुसन्धान हुन्छ । भारतकै पुरानोमध्येको काशी हिन्दू विश्वविद्यालय (बीएचयू) मा नेपाल अध्ययन केन्द्र नै स्थापित छ । जहाँ नेपालबारे रुची राख्नेहरूले अध्ययन गर्छन् । विश्वविद्यालयमा सन् १९७६ मै उक्त केन्द्रको स्थापना गरिएको थियो ।

४६ वर्ष अगाडि स्थापित उक्त केन्द्रले नेपालको विभिन्न क्षेत्रका विषयहरूमाथि अध्ययन र अनुसन्धान गर्दै आएको छ । विद्यार्थीहरुले नेपालसँग जोडिएको विभिन्न विषयमा यही केन्द्रको मातहत रहेर पीएचडीसमेत गर्दै आएका छन् । धेरै भारतीय तथा नेपाली विद्यार्थीले नेपालको विषयमा यहाँबाट पीएचडी गरेका छन् । वि.स २०५० मा तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बनारस भ्रमणमा आउँदा नेपाल अध्ययन केन्द्र भवनको शिलान्यास गरेका थिए । त्यही भवनमा केन्द्र सञ्चालित छ‚ जहाँ पढाइन्छ नेपाल ।

नेपाल अध्ययन केन्द्रका प्रमुख प्राध्यापक नृपेन्द्रप्रताप सिंह विश्वविद्यालयअन्तर्गतको यो केन्द्र नेपालबारे अध्ययन गर्न चाहने विद्यार्थीका लागि सहयोगी रहेको बताउँछन् । ‘नेपालबारे जिज्ञासा राख्ने, अध्ययन र अनुसन्धान गर्ने युवाहरु यहाँ आउँछन्,’ उनले भने‚ ‘नयाँ पुस्ताबीच नेपालबारे जानकारी दिन केन्द्रले भूमिका खेल्दै आएको छ । त्यसले दुई देशबीचको सम्बन्धलाई निरन्तर बलियो बनाउनसमेत सघाएको छ ।’ नेपालको राजनीतिक, आर्थिक, तत्कालका घटना क्रमलगायतका धेरै विषयमा स्नातक, स्नात्तोकर र विद्यावारिधिसम्मका विद्यार्थीलाई तोकिएको पाठ्यक्रमअनुसार अध्यापन गराइने गरिएको उनले बताए ।

भारतभरिमा यहाँ मात्रै यस्तो नेपाल अध्ययन केन्द्र रहेको उनले बताए । ‘भारतका सबै विश्वविद्यालयहरूमध्ये यहाँमात्रै एउटा केन्द्र छ‚ जहाँ नेपालको सबै पक्षबारे पढाइन्छ तथा नियमित अध्ययन र अनुसन्धान गराइन्छ,’ उनले भने‚ ‘यसले भारतमा नेपाल चिनाउन योगदान गरेको छ ।’ केन्द्रमा नेपालबारे पढाउन ४ जना प्राध्यापकको दरबन्दी रहेको उनले जानकारी दिए ।

नेपाली राजनीतिमा महिलाको स्थान, राजनीतिक संक्रमण, मानव बेचविखन, नेपाल‚ भारत र चीनको सम्बन्ध, रेमिट्यान्स, कृषि, मधेसी समस्या, आमसञ्चारको भूमिका, भारत–नेपालको व्यापारलगायत विषयमा पछिल्लो एक दशकमा यस केन्द्रले रिसर्च गराएको छ । प्राध्यापक सिंहले नेपालमा विकसित कुनै पनि राम्रा वा नराम्रा घटनाक्रमबारे ‘अप टु डेट’ रहने विद्यार्थीसँग त्यसबारे सेयरिङ गर्ने आफ्नो प्राथमिकता रहेको बताए । नेपालले आफ्नो ऊर्जा शक्ति र पर्यटन दुई क्षेत्रलाई सम्हाल्न सके धनी देश बन्न धेरै समय नलाग्ने उनले उल्लेख गरे । तर, राजनीतिक अस्थिरता र भारतसँगको खटासपूर्ण व्यवहारमै अल्झिँदा चाहेको प्रगति नभएको उनको विश्लेषण छ ।

विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्रबाहेक कला संकायमा नेपाली भाषाको समेत पढाइ हुने गर्छ । यहाँ भारतीय भाषा विभागअन्तर्गत पढाइ हुने धेरै भारतीय भाषाको सूचीमा नेपाली भाषा पनि छ । नेपाली भाषा पढाउने छुट्टै प्राध्यापकहरू छन् । नेपालबाट समेत एक जना प्राध्यापकको दरबन्दी उक्त विभागअन्तर्गतको नेपाल पीठमा छ । नेपालले प्राध्यापक नपठाउँदा तीन वर्षयता उक्त पद खाली छ ।

भारतीय भाषा विभागका अध्यक्ष प्राध्यापक दिवाकर प्रधान सन् १९४३ देखि नै अतिथि प्राध्यापकका रुपमा नेपालबाट एक जना शिक्षक आउने चलन यहाँ रहेको बताउँछन् । नेपाली भाषाको प्रचार-प्रसार र त्यसको अध्यापन गराउन उक्त व्यवस्था गरिएको उनले बताए । सन् १९१६ मा काशी हिन्दू विश्वविद्यालयको स्थापना हुँदा नेपालका राजा र राणाहरूले पनि यसमा आर्थिक सहयोग गरेका थिए । त्यही भएर पनि नेपाली भाषाको यहाँ पढाइ हुने र त्यसका लागि नेपालबाट शिक्षक आउने व्यवस्था पछि राखिएको थियो । जुन अहिलेसम्म पनि निरन्तर छ ।

नेपालको प्रशासन र विश्वविद्यालयबीच प्राध्यापक पठाउने सम्झौतामा बेला-बेलामा नवीकरण हुँदै आएको छ । यसै वर्ष सन् २०२२ को फेब्रुअरी १२ मा उक्त सम्झौताको अवधि पूरा भएपछि नवीकरण प्रक्रिया अघि बढाइसकिएको प्राध्यापक प्रधानले बताए । ‘विश्वविद्यालयका तर्फबाट सम्झौताको प्रस्ताव गइसकेको छ; नेपालले सम्झौतामा हस्ताक्षर गरेर प्राध्यापक पठाएसँगै नेपाल पीठको रिक्त पदको पूर्ति हुनेछ,’ उनले भने‚ ‘त्रिभुवन विश्वविद्यालयले नेपाली भाषमा एमए र पीचडी गरेको, नेपालको अन्य विषयबारे पनि जानकारी राख्ने व्यक्तिलाई पठाउनुपर्ने प्रावधान रहेको छ ।’ नेपालबाट यहाँ आउने प्राध्यपकको तलब भत्ता भने नेपालले नै बेहोर्ने गर्छ ।

नेपाली भाषा पढ्नेको भीड थामिनसक्नु रहेको उनले बताए । स्नातकको ६ वटा सेमेस्टरमा अहिले पनि ८/९ सय विद्यार्थीहरूले नेपाली भाषासमेत पढ्दैछन् । स्नात्तक र स्नात्तोकतर समेत गर्दा नेपाली भाषा पढ्नेको राम्रै चाप यहाँ रहेको उनले जानकारी दिए । नेपाली प्रभागमा दुई जना भारतीय र एक जना नेपाली प्राध्यापकको पद छ ।

बीए पढ्ने विद्यार्थीले अनिवार्य रुपमा सय पूर्णांकको कुनै एउटा भारतीय भाषा पढ्नुपर्ने भएपछि हिन्दी भाषी क्षेत्रका विद्यार्थीहरूको रोजाइमा नेपाली पर्ने गरेको उनले बताए । लिपी मिलेपछि पढ्न र बुझ्न सुविधा हुने भएकाले नेपाली रोज्नेहरुको संख्या बढेको हो ।

बनारस नेपाली विषय लिएर पढ्न चाहने तथा संस्कृत विद्या, वेद, व्याकरण, कर्मकाण्ड सिक्नेका लागि केन्द्र भएकाले नेपालसँगको सम्पर्कलाई यस स्थानले शिक्षाको माध्यमबाट अहिले पनि जोडेको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा धर्म दर्शन विभागका अध्यक्ष हरिप्रसाद अधिकारी बताउँछन् ।

संख्यामा कमी भएको भए पनि नेपालबाट शिक्षाका लागि बनारस आउनेहरूको क्रम भने टुटेको छैन । गुरुकुल, धर्मशाला वा युनिभर्सिटीका होस्टलहरूमा बसेर पढ्ने नेपालीहरुको संख्या यहाँ राम्रै छ । संस्कृत पढाउने अनेकौं कलेजहरु छन् । त्यसबाहेक मेडिकल, विज्ञान, सहात्य, कलालगायत क्षेत्रमा अध्ययन गर्न पनि नेपालीहरू बनारस हिन्दू विश्वविद्यालयमा आउने गर्छन् । बनारसमा तीनवटा विश्वविद्यालय छन् ।

नेपाली संस्कृत छात्र समितिका अध्यक्ष देवेन्द्र घिमिरे यहाँका विभिन्न विद्यालय र विश्वविद्यालयमा धर्म, संस्कृत र दर्शन क्षेत्रमा अध्ययन गर्ने नेपालीहरुको संख्या एक हजारको हाराहारीमा रहेको बताउँछन् । त्यसबाहेक भाषा, कानुन, विज्ञान र चिकित्सा क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरू पनि ३-४ सय रहेको उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७९ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×