कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा डेंगी संक्रमित युवककाे मृत्यु

रमेशकुमार पौडेल

चितवन — डेंगी संक्रमित एक युवककाे मृत्यु भएकाे छ । चितवन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्राेल निरीक्षक राम केसीका अनुसार उपचारका लागि पुरानाे मेडिकल कलेजकाे भरतपुरमा रहेकाे शिक्षण अस्पतालमा भर्ना भएका रत्ननगर नगरपालिका-१ का २८ वर्षीय युवककाे आइतबार मृत्यु भएकाे हाे ।

चितवनमा डेंगी संक्रमित युवककाे मृत्यु

साे अस्पतालका चिकित्सक डा. आलाेक प्रधानले अस्पताल आएकाे दुई घण्टाभित्रै ती व्यक्तिकाे मृत्यु भएकाे जानकारी दिए । उच्च ज्वराे र लगातार बान्ता हुन थालेपछि आइतबार मध्याह्नतिर उनी उपचारका लागि आएकाे डा. प्रधानले बताए । उनकाे परीक्षण चार पाँच दिन पहिल्यै अन्यत्र नै भएकाे प्रधानकाे भनाई छ । डेंगीका कारण चितवनमा याे वर्ष भएकाे याे पहिलाे मृत्यु हाे ।

नेपालमा सन् २००४ मा डेंगी राेग आएकाे पुष्टि भएकाे थियाे । चितवनमा नै एक जना विदेशीलाई गरेकाे परीक्षणमा साे वर्ष डेंगी देखिएकाे थियाे । त्यसपछि सन् २००९ मा चितवनमा नाैजनामा डेंगी देखियाे । डेंगीले सन् २०१० मा चितवनमा महामारीकाे रूप लियाे । त्याे वर्ष ७३९ जना संक्रमित भए । त्यसपछि तीन तीन वर्षकाे फरकमा चितवनमा डेंगीका महामारी आउन थाल्याे ।

सन् २०१९ मा चितवनमा डेंगीले निकै उग्ररूप लिएकाे थियाे । साे वर्ष चितवनका १९ हजारमा परीक्षण गर्दा चार हजार ८०३ जनामा संक्रमण पुष्टि भएकाे भेक्टर कन्ट्राेल निरीक्षक राम केसीले जानकारी दिए । संक्रमित धेरै भए पनि त्याे वर्ष तीन जनाकाे मात्रै मृत्यु भएकाे थियाे । तीन वर्षकाे अन्तराल परे पनि याे वर्ष चितवनमा संक्रमण अनियन्त्रित भइसकेकाे छैन । स्वास्थ्य कार्यालयबाट प्राप्त विवरण अनुसार साउनयता असाेज ३ सम्म चितवनमा २६१ जनामा संक्रमण पुष्टि भएकाे छ । तर मृत्यु भने सुरू भएकाे छ ।

प्रकाशित : आश्विन ४, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?