कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिउरी संरक्षणमा जुट्दै चेपाङ

प्रताप विष्ट

मकवानपुर — मकवानपुरका दुर्गम क्षेत्रका चेपाङ समुदाय चिउरीका बिरुवा रोप्न जुटेका छन् । परम्परागत र प्राकृतिक रूपमै चिउरीसँग विशेष सम्बन्ध रहँदै आएको चेपाङ समुदाय आम्दानीको स्रोत सुनिश्चित र पर्यावरण संरक्षण गर्ने भन्दै चिउरी संरक्षणमा जुटेका हुन् ।

पछिल्लो समय चिउरी नासिँदै गएपछि चेपाङको चिउरीप्रतिको अपनत्व हराउँदै गएको देखिन्छ । चिउरीबाट हुने आम्दानीको स्रोत पनि क्रमशः गुम्दै गएको छ । उक्त कुरालाई ध्यानमा राखी चिउरी संरक्षणको प्रयास थालिएको डिभिजन वन कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

उनका अनुसार राक्सिराङ गाउँपालिकाको चेपाङ बाहुल्य क्षेत्र वडा–५, ६, ७, ८ र ९ मा चिउरीका बोट रोप्ने र भएका बोटको संरक्षण गर्ने अभियान थालिएको छ । चिउरीलाई चेपाङ समुदायको स्थायी आम्दानीको स्रोतमा परिणत गर्न चेपाङ चिउरी युवा क्लब र राष्ट्रिय जनवकालत मञ्चले चिउरी संरक्षण शिविर नै सञ्चालन गरेका छन् ।

मञ्चले पालिकाभर ४ स्थानमा शिविर सञ्चालन गरेको छ । चिउरीको संरक्षणमा विगत ४ वर्षदेखि फिनल्यान्ड सरकारको सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको संयोजक थलबहादुर थापाले बताए । मञ्चको समन्वयमा भदौभित्रमा १६८ परिवारलाई चिउरीको बिरुवा प्रदान गरिने उनले जनाए ।

चिउरीबाट घिउ, तेल, पिना, मह आदि उत्पादन गर्न सकिन्छ । चिउरीको दान प्रशोधन गरी निकालिएको तेल सौन्दर्य प्रशाधन सामग्री, मैनबत्ती र साबुन उत्पादनमा उपयोगी मानिन्छ । पछिल्लो समय चिउरी अधिक उत्पादन हुने क्षेत्र राक्सिराङ–६, ७, ८ र ९ लाई मौरीपालन पकेट क्षेत्रको रूपमा समेत विकास गरिएको छ । स्थानीय चिउरीको जंगल भएको क्षेत्रमा मौरीपालन गरेर राम्रै आम्दानी लिन सफल भएका छन् ।

राक्सिराङ–६ सिलिङेका आईतेसिंह चेपाङले मौरीपालनबाटै वार्षिक १५ लाख रुपैयाँ कमाउने गरेको बताए । तर, पुराना चिउरीका रुख नासिँदै गएको र नयाँ नलगाउँदा यसबाट हुँदै आएको आम्दानीको स्रोत गुम्ने खतरा बढेको उनको भनाइ छ । हाल राक्सिराङ–६ स्थित सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिले ५ हजार चिउरीका बिरुवा उत्पादन गरिरहेको छ । चिउरी संरक्षणले चेपाङ समुदायको अर्थोपार्जनमा सहयोगसँगै वातावरण संरक्षण र भूक्षयसमेत रोक्न सहयोगी हुने अपेक्षा समितिले लिएको छ ।

चिउरीको मह स्वास्थ्यवर्धक र उच्च गुणस्तरको हुने भएकाले सिलिङेमा विगतमा बाहिरी जिल्लाका मौरीपालक किसान मौरी चराउन ल्याउँथे । केही वर्षदेखि सिलिङे सामुदायिक वनले बाहिरी जिल्लाका किसानलाई मौरी चराउन ल्याउन रोक लगाएको छ । राक्सिराङ–६ लाई चिउरी पकेट क्षेत्रका रूपमा विकास गर्न सिलिङे सामुदायिक वन क्षेत्रमा गत आवमा चिउरी रोपिएको थियो । उक्त कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सिलिङेमा करिब एक लाख २० हजारभन्दा बढी चिउरीका रुख छन् । तीमध्ये अधिकांश पुराना छन् । केही वर्षयता स्थानीयले चिउरीसँगै चमेराको पनि संरक्षण गरिरहेका छन् । चिउरीमा परागशेचन गराउन चमेराको भूमिका मूख्य रहन्छ । विगतमा चेपाङ समुदायले चमेरा मारेर खाने गर्थे । अहिले यहाँ चमेरा मार्न रोक लगाइएको छ ।

‘अरु वनस्पतिको फागुनदेखि चैतसम्म सबै पात झरेर जंगल नै उराठ हुन्छ,’ जिल्ला वन कार्यालयका प्रमुख प्रल्हाद धितालले भने, ‘तर चिउरीको पात साउन–भदौमा मात्र झर्छ । यसले डढेलो लाग्न पाउँदैन ।’ चिउरी समुद्री सतहबाट ३ सय मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा हुर्कन्छ । यसको रूख २० मिटरसम्म अग्लो हुन्छ ।

चिउरीको दानामा प्रचुर मात्रामा तेल हुन्छ । दानाको वजनको ४२–४७ प्रतिशतसम्म तेल हुन्छ । चेपाङ समुदायमा छोरीको विवाह भएको चौथो वर्षमा दाइजोका रूपमा चिउरीको बोट दिने प्रचलन पनि छ ।

प्रकाशित : भाद्र २९, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?