३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

राजमार्गमा शाखा बाटोले निम्त्याउँदै जोखिम

मुग्लिङ–नौबिसे खण्डसँग जोडिएर मात्रै ८३ वटा शाखा बाटो, पर्याप्त अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिँदा हिलो, गेग्रान र पहिरो खसेर पटक–पटक राजमार्ग अवरूद्ध
संवेदनशील भूबनोटबाट सडक लैजानु बाध्यता हो तर हामीकहाँ पूर्वसावधानी अपनाउने परिपाटी छैन : नरेशमान शाक्य‚ भूगर्भविद्
सरिता श्रेष्ठ

धादिङ — सामान्य वर्षा हुनेबित्तिकै हिलो, गेग्रान र लेदोले राजमार्ग हिलाम्मे हुन्छ । कति ठाउँमा पहिरो खसेर आवागमन अवरुद्ध हुने गर्छ । राजमार्गभन्दा माथिल्लो क्षेत्रमा खनिएका शाखा बाटोका कारण त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडक, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्डमा यस्तो समस्या लगातार दोहोरिने गरेको छ ।

राजमार्गमा शाखा बाटोले निम्त्याउँदै जोखिम

भरतपुरस्थित सडक डिभिजन कार्यालयका अनुसार मुग्लिङ-नौबिसे खण्डसँग जोडेर ८३ वटा शाखा बाटो खनिएका छन् । पर्याप्त अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी खनिएका यस्ता सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा मुख्य राजमार्ग क्षेत्रमा देखिने गरेको हो । यसबाहेक सडकको नियमित मर्मतसम्भार नहुँदा पनि आवागमनमा समस्या हुने गरेको चालक र यात्रु बताउँछन् ।

यात्रामा निस्किँदा पनि कतै पहिरोले पुर्छ कि भन्दै झस्किनुपर्ने अवस्था रहेको धादिङका सवारी चालक शरण गिरी बताउँछन् । ‘सडक हिलाम्मे हुन्छ, यत्रतत्र खाल्टाखुल्टी रहेकाले सवारी चलाउनै दिक्दारी छ,’ उनले भने, ‘पानी पर्नेबित्तिकै राजमार्गमा पहिरो र लेदो थुप्रिँदा सडक झन् जीर्ण बनिरहेको छ ।’

सडकमाथिबाट मात्रै होइन, कतिपय स्थानमा तल्लो भागमा पहिरो जाँदा सडक नै भासिएको छ । त्यस्ता स्थानमा महिनौंसम्म मर्मत नहुँदा आलोपालो सवारी कटाउनुपर्ने अवस्थासमेत छ । सडक आडैमा बगिरहेका र पुल बनाएर कटाउन सकिने खोला, खोल्सा र नालामा पानी नियन्त्रणको काम पनि योजना बनाएर हुने गरेको छैन । जसले गर्दा वर्षामा ठूलो भेल आउँदा त्यसले सडक, पुल र कल्भर्ट नै बगाएर लैजाने अवस्था रहेको भूगर्भविद् नरेशमान शाक्य बताउँछन् । ‘पहिरो नै नझरी सडकका दायाँबायाँ नयाँ पर्खाल लगाएको रेकर्ड कमै मात्र छ, त्यसैले पनि राजमार्गमा माथिबाट पहिरो खस्ने, सडक नै भासिनेलगायतका समस्या आउने गरेको छ,’ उनी भन्छन्, ‘संवेदनशील भूबनोटबाट सडक लैजानु बाध्यता हो तर पूर्वसावधानी र तयारी गर्ने परिपाटी छैन । मुख्य समस्या यही हो ।’

सरकारले राजधानी काठमाडौंलाई तराई क्षेत्रसँग जोड्ने मुख्य खण्ड नागढुंगा–मुग्लिङ सडक विस्तारको तयारी थालेको छ । ९५ किलोमिटर लामो यो सडक फराकिलो बनाउन तयारी थालेका कारण अहिले बिग्रिएको स्थान सामान्य मर्मत गर्ने काम मात्र भइरहेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमाल बताउँछन् । ‘पृथ्वी राजमार्गअन्तर्गत धादिङतर्फ पर्ने मोवा खोला, जवाङ खोला, फिस्लिङलगायत ठाउँमा खाल्टाखुल्टी पुर्ने काम गरेका छौं,’ उनले भने, ‘सडक फराकिलो बनाउने सरकारको योजना भएका कारण अहिले सामान्य खाल्टाखुल्टी पुर्ने काम मात्र गरिरहेका छौं । १०/१२ पटक सडकका खाडल पुरिसकेका छौं ।’

सडक भत्किँदा, खाडल बन्दा मर्मत गर्ने गरिए पनि सरकारले राजमार्गको स्तरोन्नति भने गर्न सकेको छैन । २०३१ सालमा सञ्चालनमा आएयता २०४९ सालमा मात्रै पृथ्वी राजमार्गको आवधिक मर्मत भएको थियो । त्यतिबेला राजमार्गका सुरक्षात्मक पर्खालहरूको मर्मत भने भएको थिएन । खाल्डाखुल्डी टाल्ने र सानातिना पहिरो रोकथामको काम भने गरिएको थियो । तर, पहिरोको जोखिम रहेका क्षेत्रहरू किटान गरी नियन्त्रणका ठोस उपाय अपनाउन भने कुनै प्रयास गरिएको छैन । सडक सुरक्षित बनाउनेतिर ध्यान नजाँदा दुर्घटना हुने र जनधनको क्षति हुने क्रम पनि बर्सेनि बढ्दो छ । ‘दिगो रूपमा काम नहुनुमा आर्थिक स्रोतको अभाव मुख्य कारण हो । तर यही काम नगरिँदा हरेक वर्षातमा पृथ्वी राजमार्गले पहिरोको चपेटा भोग्नुपरेको छ,’ प्रमुख रिमालले भने, ‘यसअघि जोखिम क्षेत्र पहिचान गरिएका भन्दा यो वर्ष नयाँ–नयाँ ठाउँमा पहिरो झरिरहेको छ ।’

मर्मतका नाममा सडकमा वषौंदेखि कालोपत्रमाथि कालोपत्र थप्ने काम मात्रै हुँदै आएको छ । तर, सडकलाई बाढी र पहिरोजस्ता जोखिमबाट जोगाउन ठूलो बजेट खर्च गरिएको छैन । पछिल्लो समय शाखा बाटोबाट निम्तिरहेको जोखिम घटाउन पनि कसैको चासो गएको देखिँदैन । यसरी खनिएका सडकमध्ये अधिकांश स्थानीय तहले खोलेका हुन् । तर, त्यसका लागि आवश्यक मापदण्ड पूरा पनि नगर्ने र सुरक्षाका लागि गर्नुपर्ने अध्ययन पनि नगर्नाले समस्या थपिएको रिमालको दाबी छ । ‘सडक खनेकोबारे हामीलाई जानकारीसम्म हुन्न । एकैचोटि पहिरो गएर र लेदो बगेर राजमार्ग अवरुद्ध भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘सेवा सुविधा विस्तार हुनु राम्रो हो तर स्थानीय तहले सुरक्षालाई भने ध्यान दिएर कदम चाल्नुपर्छ ।’

प्रकाशित : भाद्र २१, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?