हृदयरोग निवारण प्रतिष्ठान धादिङ सभापतिमा श्रेष्ठ - वाग्मती - कान्तिपुर समाचार

हृदयरोग निवारण प्रतिष्ठान धादिङ सभापतिमा श्रेष्ठ 

सरिता श्रेष्ठ

धादिङ — नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङको सभापतिमा राजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको भेलाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपसभातिमा शान्तबिक्रम बानियाँ र डा.रामहरि रेग्मी, सचिवमा विष्णुलाल श्रेष्ठ, सहसचिवमा डा.राम रिजाल र सहकोषाध्यक्षमा दिपसिंह ठकुरी निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यहरुमा उर्मिला श्रेष्ठ, गोगनमाया प्रधान, नारायणलाल श्रेष्ठ, बोधप्रसाद नेपाल र भेषराज खाँण ठकुरी चयन भए ।

नवनिर्वाचित सभापति राजकुमार श्रेष्ठले संस्थालाई थप मजबुत बनाई विधिसम्वत सञ्चालन गर्ने, स्थानीय तह र सरोकार निकायहरुसँग सहकार्य गरी मुटु रोगसम्बन्धी जनचेतना फैलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

मुटु रोग रोकथामका लागि स्क्रिनिङ क्याम्प सन्चालन गर्ने र धादिङ जिल्ला अस्पतालमा महिनाको एक पटक मुटुरोग विशेषज्ञबाट मुटुरोगको उपचारको व्यवस्था मिलाउन पहल लिने पनि उनको प्रतिबद्धता छ ।

सो अवसरमा मुटुरोग विशेषज्ञ डा. देवकुमार न्यौपाने र डा सुमन्त बन्जाडेबाट ४३ जना गरिब र विपन्न तथा ज्येष्ठ नागरिकहरुको मुटु तथा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित : भाद्र १८, २०७९ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्

धादिङमा दैनिक बढ्दै डेंगु संक्रमित

धादिङमा साउन महिनामा ६२ र भदौ महिनाको हालसम्म ६४ गरी १ सय २६ जना संक्रमित छन् ।
सरिता श्रेष्ठ

धादिङ — गत असार ३ गते डेंगुको उपचार गराइरहेका ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भयो । बिरामी भएर स्वास्थ्य परीक्षणका लागि धादिङ अस्पतालमा पुगेका उनको ल्याव परीक्षणबाट डेंगु रोगको संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा एक्कासी वान्ता सर्केपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्लामा डेंगु संक्रमित बिरामीको संख्या बढ्दो छ । स्वास्थ्य परीक्षणका लागि धादिङ अस्पताल आएका एक सय २६ जनामा डेंगु संक्रमण भेटिएको हो । यस आर्थिक वर्षको साउन महिनामा ६२ जना र भदौको शुक्रबारसम्म ६४ जना गरी एक सय २६ जनामा डेंगु देखिएको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ४८ जनालाई डेंगु संक्रमित भएको थियो ।

टाउको दुख्ने, ज्वरो आउने लगायत समस्या भएर जाँचका लागि अस्पताल आएका अधिकांश बिरामीहरूमा डेंगुको संक्रमण भेटिएको अस्पतालका सूचना अधिकारी विकले बताए ।

‘धादिङमा डेंगुको प्रकोप नै फैलिएको छ, विगतका वर्षहरूमा भन्दा यो वर्ष संक्रमितको संख्या उच्च देखिन्छ’ उनी भन्छन्, ‘ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने भएपछि डेंगुको लक्षण हो कि भन्दै बिरामी परीक्षणका लागि आउने गरेका छन् ।’

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने बताइन्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइन्छ ।

यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग सर्छ । पोथी लामखुट्टेले अण्डा पार्न रगत चाहिने भएकाले दिनको समयमा यसले मानिसलाई टोक्ने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. मधुकर दाहाल बताउँछन् । ‘उपचार गर्न अस्पताल आएका बिरामीहरूमध्ये एकै दिन ११ जनासम्म संक्रमित भेटिएका छन्, स्वास्थ्य संस्थाले न्यूनिकरण तथा उपचारमा केन्द्रित गरिरहेको छ तर नागरिक आफै पनि सचेत हुनुपर्छ’, डा. दाहाल भन्छन्, ‘सामान्य लक्षण देखिएको तर जटिल अवस्था नभएका बिरामीहरूलाई सिटामोल र झोलिलो खाना खान सुझाव दिइएका छौं ।’

घाम उदाएको दुइ घण्टापछि र घाम अस्ताउनुभन्दा दुइ घण्टाअघिसम्म यो लामखुट्टे सक्रिय रहन्छ । विशेषगरी घरगाउँ वरपर रेहेका खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने, सवारी साधनका टायर भए सुरक्षित राख्ने, लामखुट्टेबाट सुरक्षित रहने जस्ता उपाय अपनाए डेंगुबाट बच्न सकिने उनले बताए । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । त्यसैगरी, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांशपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् ।

धादिङ अस्पतालमा डेँगु बिरामीको उपचार गर्न किट पर्याप्त रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. दाहालले बताए । ‘अहिलेसम्म किट पर्याप्त छ, अस्पतालमा आएका सबै बिरामीलाई परीक्षण गरेर उपचार गर्न सक्ने अवस्थामा छौं,’ डा. दाहाल भन्छन्, ‘सिकिस्त बिरामीहरू आइसीयूमा राखेर उपचार गरिरहेका छौँ ।’

डेंगु लागेमा प्लेट लेट घट्छ । धेरै घटेमा नशा फुटेर बिरामीको मृत्युसमेत हुन सक्छ । त्यसैले सबै नागरिक डेंगुबाट बच्न सचेत रहनु पर्ने उनले बताए । स–साना बालबालिका, वृद्धवृद्धा तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई चाँडै डेंगुको संक्रमण हुन सक्छ । शंकास्पद लामखुट्टले टोकेमा, उच्च ज्वरो आएमा, आँखाको पछाडि भाग दुखेमा, मांसपेसी दुखेमा, रगत बान्ता हुने जस्ता लक्षण देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा गइ जाँच गरी उपचार गर्न आग्रह गरेका छन् । डेंगु रोग दोहोरिने सम्भावना पनि हुन्छ ।

प्रकाशित : भाद्र १७, २०७९ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×