कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

राजधानीनजिकै सुत्केरीलाई हवाई उद्धारको भर

समयमै स्वास्थ्य सेवा नपाउँदा ग्रामीण क्षेत्रका आमा र बच्चा अकालमै ज्यान गुमाउँदै 
सरिता श्रेष्ठ

धादिङ — रुबी भ्याली गाउँपालिका–३ सेर्तुङकी १७ वर्षीया सजिना तामाङको सुत्केरी हुने दिन आउँदै थियो । जाँचका लागि उनी सेर्तुङ स्वास्थ्य चौकी पुग्ने गर्थिन् । गत साउन २३ गते उनलाई बेथा लाग्यो । बच्चा जन्माउन नसकेपछि आफन्तले काठमाडौं लैजाने तयारी गरे ।

राजधानीनजिकै सुत्केरीलाई हवाई उद्धारको भर

गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई खबर गरेपछि हेलिकोप्टर गाउँमा आयो । हेलिकोप्टरमार्फत काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएपछि भोलिपल्ट उनले पहिलो सन्तानलाई जन्म दिइन् । ‘हवाई सुविधा नपाएको भए आमा र बच्चाको ज्यान तलमाथि हुने थियो,’ सजिनाका श्रीमान् मिनी तामाङ भन्छन्, ‘धन्न सरकारले यो सुविधा ल्याएर सहज भयो ।’

रुबी भ्याली–३ कै २५ वर्षीया डलीमाया तामाङ पनि हवाई उद्धारमार्फत काठमाडौं पुगेपछि सुत्केरी भइन् । सुत्केरी हुने दिन नजिकिँदै गर्दा पेटको बच्चा चल्न छाडेपछि श्रीमान् टोपमानले स्वास्थ्य चौकी लगे । त्यहाँबाट सकेसम्म छिटो काठमाडौं लैजान सुझाव पाए । ०७६ असोज २३ गते धादिङबेसीबाट एम्बुलेन्स बोलाए र एम्बुलेन्स आउने बाटोसम्म बोकेरै लगे । एम्बुलेन्समा चढेर करिब ४ घण्टाको बाटोमा पुगेपछि श्रीमती अचेत भइन् । तत्काल काठमाडौंमा भएका मामालाई फोन गरे । ‘मामाले प्रमुख जिल्ला अधिकारीलाई खबर गर्नुभएछ,’ उनले भने, ‘करिब आधा घण्टामा काठमाडौंबाट हेलिकोप्टर आइपुग्यो ।’

प्रसूति गृह पुर्‍याएको केहीबेरपछि डलीमायालाई सुत्केरी बेथा लाग्यो, भोलिपल्ट बिहान दोस्रो सन्तानका रूपमा छोरी जन्माइन् । अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेर घर पठायो । हेलिकोप्टरले निःशुल्क उद्धार गरेर ज्यान बचाउन पाउँदा खुसी लागेको टोपमान बताउँछन् । गत वर्षको असार ११ गते रुबी भ्याली–५ लापाकी ४० वर्षीया माइली घलेले लापा स्वास्थ्य चौकीको पहलमा निःशुल्क हेलिकोप्टर सेवा लिइन् । स्वास्थ्य चौकीमा सुत्केरी गराउन पुगेकी उनको अवस्था नाजुक बन्दै गएपछि सुरक्षित प्रसूतिका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो ।

संघीय राजधानी काठमाडौंसँग जोडिएको जिल्लाका महिलाले उपचार सेवाका लागि हवाई उद्धारको भर पर्नुपर्ने अवस्था छ । आमा र बच्चाको ख्याल गर्दै सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनका लागि यातायात खर्च, पौष्टिक आहार दिने गरिए पनि अझै घरमै बच्चा जन्माउने महिलाहरू छन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाकै स्वास्थ्य जोखिममा पर्ने री स्वास्थ्य चौकीका प्रमुख अरुण तामाङले बताए ।

‘कतिपय दुर्गम गाउँका महिला सुत्केरी हुन अस्पताल जानुपर्छ भन्ने ठान्दैनन्,’ उनी भन्छन्, ‘जटिल अवस्थाकालाई चाँडै स्वास्थ्य संस्थामा नल्याए आमा र बच्चा दुवैको ज्यान जान्छ ।’ पहिलो सन्तान घरमै जन्माउनेहरू दोस्रो सन्तान पनि घरमै जन्मिन्छन् भनेर ढुक्क हुने गरेको तामाङले बताए ।

परम्परागत सोच, आर्थिक अवस्था कमजोर, स्वास्थ्य चौकीसम्म पुग्न घण्टौं हिँड्नुपर्ने बाध्यताका कारण पनि स्वास्थ्य संस्थासम्म पुग्न कठिन छ । लामो बेथा लागेर बच्चा जन्माउन कठिन भएका, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुनिएको, सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएका महिलाको अवस्थाअनुसार अन्यत्र रिफर गर्ने गरेको उनले बताए ।

आर्थिक वर्ष २०७८/७९ मा रुबी भ्यालीमा १२ जना सुत्केरी र ४ जना अन्य गरी १६ जनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई सेवा पाएका छन् । त्यसमध्ये १२ जनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ४ जनालाई गृह मन्त्रालयले उद्धार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साउनयता भने एक सुत्केरीको उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार प्रभावकारी बनेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । ‘गाउँका स्वास्थ्य संस्थामा नसक्ने अवस्था आएमा तुरुन्तै हेलिकप्टरमार्फत काठमाडौं लैजाने व्यवस्था छ,’ प्रजिअ लम्साल भन्छन्, ‘यसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय मिलाउने गरेको छ ।’

भौगोलिक विकटता, आर्थिक अवस्था कमजोर र ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार महिलाहरूको उद्धार हुने गरेको छ । गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र सुरक्षित प्रसूति गराउन कठिनाइ भएकालाई निःशुल्क हेलिकोप्टर उपलब्ध गराउँदै आएको छ ।

निःशुल्क हवाई सुविधाका कारण जोखिममा रहेका धेरै आमा र बच्चाको ज्यान जोगिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए । गाउँपालिकाभित्र अघिल्लो वर्ष ५ जना महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । यस वर्ष भने राष्ट्रपति महिला उत्थान कार्यक्रम रुबी भ्यालीसहित गंगाजमुना र खनियाबासमा गाउँपालिकामा पनि सुरु भएको छ ।

समयमै स्वास्थ्य सेवा नपाएकै कारण ग्रामीण क्षेत्रका आमा र बच्चाहरूले अकालमै ज्यान गुमाउनुपरेको घटनासमेत रहेको रुबी भ्याली गाउँपालिकाका स्वास्थ्य संयोजक राज तामाङ बताउँछन् । ‘निःशुल्क हवाई सेवाले धेरै सुत्केरी र गर्भवती महिलाको ज्यान बचेको छ,’ उनी भन्छन्, ‘विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा ज्यानसमेत गुमेको घटना छ ।’

हवाई एम्बुलेन्सको व्यवस्था भएपछि दुर्गम ठाउँका धेरै गर्भवती र सुत्केरी महिलाको ज्यान जोगिएको छ । मुलुकी ऐनमा महिलाको उपयुक्त विवाह उमेर २० वर्ष तोकिए पनि धेरैले त्योभन्दा कम उमेरमा विवाह गर्छन् । उमेर परिपक्व नभई गर्भवती हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्छ । यसैगरी, उमेर पुगेकै कतिपय गर्भवती तथा सुत्केरीको पनि स्वास्थ्य समस्यालाई गम्भीर रूपले नलिइदिँदा उनीहरूले अकालमै ज्यान गुमाउनुपरेको छ ।

प्रकाशित : भाद्र १२, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?