२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

रुबी भ्यालीमा मतदानस्थल थपिँदै

पालिकाभर ६ मतदानस्थल थप्न र एउटा खारेज गर्न जिल्ला निर्वाचन कार्यालयद्वारा आयोगमा सिफारिस
सरिता श्रेष्ठ

धादिङ — जिल्लाको उत्तरी भेगमा पर्ने रुबी भ्याली गाउँपालिकाका ६ वटा वडामा ८ वटा मात्रै मतदानस्थल थिए । निर्वाचनमा मतदान गर्नकै लागि अघिल्लो दिन नै मतदानस्थलनजिक आएर बास बस्नुपर्ने बाध्यता थियो । भौगोलिक हिसाबले मतदानस्थल अपायक स्थानमा तोकिने गरेको गरेको भन्दै रुबी भ्यालीबासीले मतदानस्थल थप गर्न माग गर्दै आएका थिए ।

रुबी भ्यालीमा मतदानस्थल थपिँदै

अहिले बल्ल उनीहरूको माग पूरा हुने भएको छ । रुबी भ्यालीमा ६ वटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । एक मतदानस्थल भने खुला मैदान र अपायक भएको भन्दै खारेज गर्न सिफारिस गरिएको छ ।

यसअघिका हरेकजसो निर्वाचनमा रुबी भ्याली–५ नेवेरका मतदाता मतदानकै लागि भनेर ३ दिन छुट्याउँथे । गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनताका कान्तिपुर दैनिकमा ‘मतदान गर्न ३ दिन’ शीर्षकको समाचार प्रकाशन भएको थियो । अन्ततः स्थानीयको माग र सकसलाई ध्यानमा राख्दै आगामी संघीय र प्रदेश निर्वाचनका लागि मतदानस्थल थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न सिफारिस गरेपछि आयोगले आवश्यक प्रक्रिया अघि बढाएको हो ।

अब गाउँमै मतदान गर्न पाउने भन्दै नेबेरवासीले खुसी व्यक्त गरेका छन् । वडा–५ स्थित नेबेर आधारभूत विद्यालयलाई मतदान केन्द्र बनाउन सिफारिस गरिएको छ । ‘अहिलेसम्म भोट हाल्न सदाचेत पुग्थ्यौं । भीर, खोलानालाको बाटो हुँदै पुग्नै करिब एक दिन लाग्थ्यो,’ नेबेरका मनसिंह तामाङ भन्छन्, ‘अबदेखि गाउँमै मतदानस्थलमा पुगेर भोट हाल्न पाउने व्यवस्था हुन लागेको सुनेर खुसी लागेको छ ।’

भौगोलिक कठिनाइका कारण मतदान गर्न सबै जना मतदान केन्द्रसम्म पुग्न सक्दैनथे । जसले मतदाताको सहभागितामै प्रभाव पार्ने गर्थ्यो । यसअघि वडा–५ मा एउटा मात्रै मतदानस्थल थियो । अहिले २ वटा थप गर्न सिफारिस भएपछि अब ३ वटा मतदानस्थल हुने भएका छन् । जसका कारण नेबेर, कपुरगाउँलगायत विकट क्षेत्रका मतदातालाई निर्वाचनको अघिल्लो दिन नै मतदानस्थलसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुबी भ्याली–५ को नेबेर आधारभूत विद्यालयसहित वडा–१ को लब्दुङस्थित वडा कार्यालय, लाप्साङस्थित कर्पो आधारभूत विद्यालय, वडा–४ को हिन्दुङ आधारभूत विद्यालय, वडा–५ को कपुरगाउँस्थित तिम्ला आधारभूत विद्यालय र तिङचेत आधारभूत विद्यालयमा मतदान केन्द्र थप गर्न आयोगलाई सिफारिस गरिएको छ ।

गाउँमै मतदानस्थल तोकिने भएपछि नेबेर मात्रै होइन लापाको तेन्चेत, तिङ्चेत, कचेत, छुम्राङ, चपाङचेतलगायत बस्तीका मतदातालाई पनि सहज भएको छ । जिल्लामा ६ वटा मतदानस्थल थप, ६ वटा परिवर्तन र १ वटा खारेज गर्न आयोगलाई सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोषकुमार श्रेष्ठले जानकारी दिए । ‘मतदान केन्द्र टाढा भएका ठाउँहरूमा थप गर्न सिफारिस गरेका हौँ, अपायक ठाउँमा परिवर्तन र खारेजसमेत गर्न पत्र पठाएका छौँ, प्रमुख श्रेष्ठ भन्छन्, ‘स्थानीयहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थपिएको मतदानस्थलले थप सहज गर्नेछ भन्ने आशा लिएका छौँ ।’

त्यस्तै, कार्यालयले ६ वटा मतदान स्थलको स्थान परिवर्तन गरेको छ । गजुरी गाउँपालिकाको कन्या प्राविबाट वडा–२ को अमिलटारस्थित कार्यालय, ज्वालामुखी गाउँपालिकाको रानाचौतारास्थित साविक वडा कार्यालय भवनबाट रत्नज्योति आधारभूत विद्यालय, धुनीबेंसी नगरपालिकाको रमाइलो चौरबाट वडा–३ को कार्यालयमा केन्द्र परिवर्तन गर्न सिफारिस गरिएको छ । यसैगरी, नीलकण्ठ नगरपालिकाको रत्नदेवी आधारभूत विद्यालयबाट ठाडोखोरियास्थित रामकोट मावि, नेत्रावती डबजोङ गाउँपालिकाको ताङजोमाने (खुलाचौर) बाट नागरिक आरोग्य केन्द्र, बेनीबाट रोराङ गाउँपालिकाको मोहरियास्थित कालिका आधारभूत विद्यालयबाट गोदामस्थित हर्कपुर माविमा केन्द्र हुने गरी सिफारिस गरिएको छ ।

निर्वाचन कार्यालयले रुबी भ्याली–१ को जुम्लाप्दुङ खेलमैदानलाई खारेज गर्न पनि आयोगमा पत्र पठाएको छ । खुला मैदान र अपायक भएकाले खारेज गर्न सिफारिस गरिएको निर्वाचन अधिकृत श्रेष्ठले बताए । साविकको लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलाएर रुबी भ्याली गाउँपालिका बनेको हो । जिल्लाको विकट क्षेत्रमा पर्ने भएकाले यहाँ मतदान गर्न मात्रै होइन, उम्मेदवारलाई मत माग्न गाउँगाउँ डुल्न पनि कठिनाइ छ । मतदानस्थल थप भए वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई धेरै नै सहज हुने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए ।

‘मतदानस्थल पुग्न केन्द्रनजिकैका गाउँहरूबाहेक धेरैजसो गाउँबाट घण्टौं भीरपाखा, डाँडाकाडा, खोलानालाको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘मतदानस्थल थप गर्न निरन्तर माग गरिरहेका थियौं । अहिले थपिएर आउने चरणमा छ । यसले निकै नै सहज हुनेछ ।’

प्रकाशित : भाद्र १०, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?