१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पहिरोले दोलखाको खोलिखिम बजार तहसनहस, सबै विस्थापित

पहिरोसहित ढुंगा झर्न सक्ने भन्दै आवतजावत नगर्न प्रशासनको आग्रह, ६ वटा वडाका स्थानीय सम्पर्कविच्छेदमा
केदार सिवाकोटी

दोलखा — भूकम्पले भत्काएपछि नयाँ बनाएको घरमा बस्न नपाउँदै विगु गाउँपालिका–४ खोलिखिमका रोबहादुर श्रेष्ठ पहिरोले घर पुरिएपछि शिथिल बनेका छन् । श्रीमतीसँग दिनभरि सिंगटी खोलावारि आउँछन्, पहिरो हेरेर एकोहोरिन्छन् । साउन २३ मा माथिल्लो क्षेत्रबाट आएको पहिरोले उनको घर क्षतविक्षत भएको छ ।

पहिरोले दोलखाको खोलिखिम बजार तहसनहस, सबै विस्थापित

७० घर रहेको बजार क्षेत्र पहिरोका कारण अहिले रित्तिएको छ । लादुक, बुलङ ओराङ जाने सडक विस्तारका क्रममा ठेकेदारको लापरबाहीले पहिरो गएको बताईन्छ । सडक विस्तार गर्दा नाला नबनाएका कारण पहिरो खसेको रोबहादुरले बताए । ‘सडक विस्तार गर्दा जथाभावी ग्याबिन लगाइयो, नाला कतै बनाइएन,’ उनले भने, ‘विकासका नाममा जथाभावी गर्दा बजारै उठीबास लाग्यो ।’ उनले अब कता जाने ? के गरेर खाने भन्नेमा किंकर्तव्यविमूढ भएको बताए ।

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययनमा भूगर्भविद्ले सिंगटीलाई जोखिम बस्तीका रूपमा राखेर बस्न अयोग्य भन्दै प्रतिवेदन दिएका थिए । तर सरकारले उक्त प्रतिवेदनको कार्यान्वयन नगर्दा भूकम्पपछि स्थानीयले विकल्प नपाएर पुनः सोही स्थानमा घर बनाएका हुन् । जिल्लाको उत्तरी क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक केन्द्र सिंगटी नै हो । विगु गाउँपालिकाका ६ वटा वडाका बासिन्दा खोलिखिम बजार हुँदै आवतजावत गर्छन् ।

बुधबार अपराह्न परेको पानीले पहिरोको बढाएको छ । बिहीबार स्थानीय घरबाट धमाधम सामान निकालिरहेका थिए । उक्त पहिरोले बजार नै क्षतिग्रस्त बनाएपछि भएका सामान निकालेर सुरक्षित स्थानमा भाडाको कोठामा राखेको बताउँछन् । पहिरोले क्षतविक्षत बनेको घर देखाउँदै एक स्थानीयले भने, ‘व्यापार, व्यवसाय गरेर गुजारा चलाउँदै आएको थिएँ, पहिरोले घर पनि लग्यो, पसलका सामान भाडाको घरमा एउटा कोठामा राखेको छु ।’

खोलिखिम बजार आसपास क्षेत्रमा पनि पहिरो झर्न थालेपछि स्थानीय विस्थापित बनिरहेका छन् । दैनिक सुरक्षित स्थानतर्फ जानेक्रम बढेको गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले बताए । ‘विगतबाट नै खोलिखिम बजार जोखिममा थियो,’ उनले भने, ‘सरकारले विकल्प नदिएपछि स्थानीयले जोखिम स्थलमै घर बनाउँदा ठूलो क्षति भयो ।’

पहिरोबाट विस्थापितलाई तत्काल सुरक्षित स्थानमा लान र खानपानको व्यवस्था मिलाउन पालिकाले तयारी थालेको ओलीले बताए । पहिरोको कारण ६ वटा वडाका स्थानीय सम्पर्क विच्छेदमा परेको उनले बताए । ‘बाढीपहिरोले विगुका सडक सञ्जालसमेत तहसनहस बनाएको छ,’ उनले भने, ‘स्थानीय बिरामी भइहाले औषधि उपचार गर्न अस्पताल पुग्ने अवस्था छैन ।’ ग्रामीण सडक पहिरोले क्षतविक्षत बनाएकाले माथिल्लो क्षेत्रमा खाद्यान्न अभाव हुन सक्ने भन्दै सडक खुलाउने प्रयास भइरहेको ओलीले बताए । ‘सडक पहिरोले लगेको छ, खोलामा भएका फड्के पनि बाढीले बगाएको छ,’ चिलंखाका प्रवीण खड्काले भने, ‘ज्यान जोखिममा पारेर बिरामी बोक्नुपर्ने बाध्यता छ ।’ आधा घण्टाको दूरी काट्न घण्टौं लाग्ने गरेको उनले बताए ।

खोलिखिम बजारको माथिल्लो भेग पूरै चिरिएको छ । त्यस क्षेत्रमा आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ । पहिरोमाथिको ढुंगा झर्न सक्ने भन्दै स्थानीयलाई बजार क्षेत्रमा हिँडडुलमा समेत सचेतना अपनाउन आग्रह गरिएको प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । ढुंगा खसेमा बस्तीसहित मोटरेबल पुलमा समेत क्षति हुन सक्ने स्थानीयको अनुमान छ ।

पहिरोले सिंगटी इलाका प्रहरी कार्यालयसमेत जोखिममा परेपछि राति प्रहरीलाई सुरक्षित स्थानमा जान भनेको उनले बताए । सिंगटीका धेरै क्षेत्रमा पहिरोले क्षति गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजानेक्रम चलिरहेको बताउँदै उनले भने, ‘अहिले उक्त क्षेत्र र आसपासमा नबस्न भनेका छौं ।’

प्रकाशित : श्रावण २८, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?