कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब धादिङ अस्पतालमै डायलाइसिस सेवा

सरिता श्रेष्ठ

धादिङ — धादिङ अस्पतालले डायलाइसिस सेवा सुरु गरेको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा अस्पतालले शनिबार एक कार्यक्रम आयोजना गरी हेमोडायलाइसिस सेवा सुरु गरेको हो । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गरेका हुन् । अस्पतालमा सुरु गरिएको सेवा गुणस्तरीय र भरपर्दो बनाउन आग्रह गरेका छन् ।

अब धादिङ अस्पतालमै डायलाइसिस सेवा

उद्घाटन समारोहको सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा डायलाइसिस सेवा सुरु गर्न जति जटिल छ । उत्तिकै सेवालाई गुणस्तर दिनु महत्वपूर्ण रहेको बताए ।

सेवा सुरु गर्नजस्तै सेवा राम्रो र निरन्तरता दिन खटिनु पर्छ । ‘चिकित्सकलाई तालिम दिएर सक्षम बनाउनुपर्छ । उनीहरुको क्षमता र व्यवहारले बिरामीको रोग निको हुन्छ,’ मुख्यमन्त्री पाण्डे भन्छन्, ‘सेवा प्रभावकारी बनाउनु हामी सबैको दायित्व हो ।’ धादिङ अस्पतालमा अहिले ५० शय्या क्षमता छ । आगामी वर्ष एक सय शय्या क्षमताको सुविधासम्पन्न अस्पताल बनाउने लक्ष्यसहित अस्पताललाई सुधार गर्नुपर्ने उनले बताए ।

बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए ।

चार वटा डायलाइसिस उपकरणसहित थालिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका बिरामी लाभान्वित हुने अध्यक्ष धमलाले बताए । हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मिर्गोला रोगीहरुलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । धादिङ अस्पतालमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मिर्गौलामा असर पर्‍यो भने धादिङ अस्पतालमा डायलाइसिस गर्न सकिने अनमी अस्मिता भुसाल बताउँछिन् । आकस्मिक सबै बिरामीलाई डायलाइसिस गर्न सकिन्न । उनी भन्छिन्–‘मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मिर्गौलामा समस्या देखिएका बिरामीलाई धादिङ अस्पतालमा डायलाइसिस सेवा दिन सकिन्छ ।’


प्रकाशित : श्रावण २१, २०७९ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?