कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरी लगाउने एउटा, सिदा उठाउने अर्कै

कान्तिपुर संवाददाता

सिन्धुली — ओखलढुंगाको सुनकोसीका ३३ वर्षीय शिव जोगीलाई बिहानीपख निद्रा लाग्यो । केहीबेर निदाए । ब्युँझिँदा घाम झलमल्ल भइसकेको थियो । रातभर फेरी लगाएर उनी यजमानकै पेटीमा झोला सिरानी हालेर निदाएका थिए । घामले आँगन टेकेपछि उनले तिनै घर चहारे, जसमा राति आफूले फेरी लगाएका थिए । तर अचम्म, सिदा अर्कैले लगिसकेछ । 

फेरी लगाउने एउटा, सिदा उठाउने अर्कै

कमलामाई नगरपालिकाको मल्लागाउँ, हिरापानी, ढुंग्रेवास, राम्माडी, दोभान्टार, टारी, कुलाबाँध, पोखरेलगाउँमा शिवले फेरी लगाएका थिए । ‘बिहानको ४ बजेसम्म घरघर घुमेर फेरी लगाए, सिदा त अर्कैले भ्याइसकेछ,’ उनले भने, ‘मैले फेरी लगाएको घर कुनै बाँकी राखेनछ । सबैले सिदा लगिसकेको बताउँदा पो छक्क परें ।’ राति फेरी लगाउन सुरु गर्दा अर्का जोगी हर्कसँग भेट भएको थियो । दुवैले आआफ्नो क्षेत्र बाँडे । तर हर्कले धोका दिएको शिवको आरोप छ ।

साउन महिनाको मध्य भएकाले हस्याङफस्याङ गर्दै हिँडेका शिव रित्तो हात थिए । अरूबेला उनी फेरी लगाएपछि बिहान सिदा उठाएर सकेपछि मात्र सुत्ने गर्थे । ‘मलाई दशा लागेको होला, आफ्नै पेसाको साथीबाट धोका पाएँ,’ उनले भने । राति फेरी लगाएको सुनेकाहरूले बिहान पहिला आउनेलाई सिदा दान गरे । ‘फेरी लगाएको सुनेपछि बिहान जो आयो उसैलाई सिदा दिने चलन छ,’ हिरापानीका कृष्णबहादुर कार्कीले भने ।

यहाँ साउन, कात्तिक र चैत गरी वर्षमा तीन पटक घरको ग्रहशान्तिका लागि भन्दै फेरी लगाउने चलन छ । साउने झरीको समेत पर्वाह नगरी फेरी लगाउने जोगीहरू विभिन्न जिल्लाबाट आउने गर्छन् । फेरीबाट हुने आम्दानीले गुजारा चल्ने भएकाले यो काम गरिरहेको शिवले बताए । जोगीले फेरी लगाउँदा भूतप्रेत भाग्ने जनवश्विास छ । फेरी लगाउन बराँठको सिङबाट आवाज निकालिन्छ ।

राति गाउँघरमा फेरी लगाउने जोगीहरूलाई बिहान सिदा दिने चलन छ । रामेछाप, दोलखा र ओखलढुंगाबाट फेरी लगाउन जोगीहरू सिन्धुली आउने गर्छन् । कमलामाई–६ का लोकविक्रम थापा फेरी लगाएमा अनिष्ट हटेर पवित्र हुने विश्वास रहेको बताउँछन् । ‘राति उठेर हेरिँदैन कसले फेरी लगायो भनेर, बिहान सिदा लिन आउनेलाई खाली हात फर्काएको छैन,’ उनले भने ।

प्रकाशित : श्रावण १९, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?