काभ्रेमा लागूऔषधसहित ५ जना पक्राउ- वाग्मती - कान्तिपुर समाचार

काभ्रेमा लागूऔषधसहित ५ जना पक्राउ

नगेन्द्र अधिकारी

काभ्रे — लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिसहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट सादा पोसाकमा खटिएको प्रहरी गस्ती टोलीले डाईजिपाम, फेनेरागन र नोफिम ३०२/ ३०२ एम्पुलसहित ९ सय ६ एम्पुल लागूऔषध बरामद भएको हो । जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बरामद भएको उक्त लागूऔषध हालसम्मकै धेरै हो ।

बाराको पिपरपाती गाउँपालिका –४ का अन्दाजी ३५ वर्षीय समसोदिन मिया, बनेपा–१० का २८ वर्षीय सबिन हुमागाईं दुवैले बोकेको झोलामा बरामद भएपछि अनुसन्धानको लागि बनेपाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मिया र हुमागाईंले उक्त औषधि कलैया–५ की ३० वर्षीय संगिता चौधरीले ल्याइदिएको बयान दिएका थिए । चौधरीलाई पनि बनेपाबाटै नियन्त्रणमा लिइएको छ । चौधरीले वीरगञ्ज –२४ का २४ वर्षीय शेषनाथ साह र कलैया–१२ बस्ने २३ वर्षीय पवनकुमार साहले वीरगन्जबाट ल्याएको भनि खुलाएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरुलाई विरगञ्जबाटै पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए ।


प्रकाशित : श्रावण १६, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा डेंगुका ११ बिरामी 

नगेन्द्र अधिकारी

काभ्रे — एक महिनाको अवधिमा काभ्रेमा डेंगुका ११ जना बिरामी पत्ता लागेका छन् । असार १० यता परीक्षण गरिएका उच्च ज्वरो आएका १ सय ३ जनामध्ये ११ जनामा डेंगु ज्वरो देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईंले जानकारी दिए । विगतमा पनि डेंगु संक्रमण हुने भए पनि कोरोना महामारीका कारण ओझेलमा पर्दै आएको थियो । 

सेढाईंका अनुसार, शुक्रबारसम्म धुलिखेलका ४, पनौतीका २ र बनेपा तथा पाँचखालका १/१ मा डेंगुको संक्रमण देखिएको छ । दोलखा, सिन्धुपाल्चोक र काठमाडौंका १/१ जनालाई पनि काभ्रेमा उपचारको क्रममा डेंगु संक्रमण पुष्टि भएको हो । ६ जनालाई धुलिखेल अस्पतालमा, ४ जनालाई प्राथमिक उपचार केन्द्र धुलिखेलमा र १ जनालाई पाँचखालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ११ मध्ये ७ जना महिला र ४ जना पुरुष छन् ।

संक्रमितमध्ये १ जनाको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य छ । स्वास्थ्य कार्यालय काभ्रेले उपचारको लागि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पठाउने गरेको छ । डा. सेढाईंले अरुमा संक्रमण हुन सक्ने भन्दै १३ वटै पालिकालाई परीक्षणका लागि किट उपलब्ध गराएको बताए । जम्ने सफा पानी, टायर तथा प्लाष्टिकजन्य पदार्थमा बस्ने एडिस जातको संक्रमित लामखुट्टेको टोकाइबाट हुने डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ अभियान चलाइएको उनले बताए ।

बीपी र अरनिको राजमार्ग काभ्रे हुँदै जाने, उपत्यकासँग जोडिएको र लामखुट्टेका लागि उपयुक्त तापक्रमसमेत भएकोले काभ्रे डेंगु संक्रमणको उच्च जोखिममा छ ।

प्रकाशित : श्रावण १३, २०७९ १८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×