पनौतीमा भोकेसनल सेन्टरको भवन शिलान्यास- वाग्मती - कान्तिपुर समाचार

पनौतीमा भोकेसनल सेन्टरको भवन शिलान्यास

नगेन्द्र अधिकारी

काभ्रे — बर्सेनि १ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित पनौती नगरपालिका–४, डिहीगाउँमा नेपाल भोकेसनल सेन्टर स्थापना गरिने भएको छ ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले बिहीबार भोकेसनल सेन्टरको बहुउद्देश्यीय भवन शिलान्यास गरेका हुन् ।

कृषि तथा पशुपालन विषयमा तालिम सुरु गरी बजारको मागअनुसार अन्य संकाय थप गर्दै जाने लक्ष्यसहित सेन्टर सुरु गरिएको नेपाल भोकेसनल एकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले जानकारी दिए । सेन्टरको संरचना निर्माणका लागि रवीन्द्र पुरी फाउन्डेशनले करिब १ अर्ब मूल्यको १ सय ७ रोपनी जग्गा उपल्बध गराएको छ । फाउन्डेशनका अध्यक्ष रहेका पुरीले बिहीबार नै सेन्टरका प्रिन्सिपल प्रकाश कुइँकेललाई जग्गाधनीपूर्जा हस्तान्तरण गरेका थिए ।

पुरीका अनुसार, पहिलो बहुउद्देश्यीय भवन जर्मन नागरिक हान्स जोआकिम स्नाइडरको सहयोगमा सुलन फ्युर नेपालमार्फत ७ करोडका लगानीमा निर्माण हुनेछ । भवनमा वर्कसप, कक्षाकोठा, कन्फेरेन्स हल, मिटिङ कक्ष, अफिस कक्षलगायतका कक्ष रहनेछन् ।

२०७२ देखि व्यावसायिक तालिम संचालन गरिरहेको फाउन्डेशनले हरेक वर्ष ६० देखि ७० जनासम्म डकर्मी, सिकर्मी, लौहकारलगायतका जनशक्ति उत्पादन गर्दै आएको छ । प्रशिक्षार्थीहरुको संख्या वृद्धि तथा अन्य संकाय थप्न माग भएपछि एकेडेमीले २०७७ देखि भक्तपुरमा पनि नेपाल भोकेसनल एकेडेमी सञ्चालन गरिरहेको छ । इलेक्ट्रीसियन, प्लम्बिङ, काष्ठकलालगायतका क्षेत्रमा वार्षिक करिब २०० जना दक्ष जनशक्ति उत्पादन गर्ने क्षमता रहेको पुरीले जानकारी दिए ।

प्राविधिक तथा व्यावसायिक तालिम लिने प्रशिक्षार्थीको संख्या वृद्धि भएसंगै र अन्य प्राविधिक विषयगत संकायहरूको आवश्यकता महसुस गरेरै नेपाल भोकेसनल सेन्टरको निर्माणमा जुटेको पुरीले बताए । नेपालमा विद्यमान युवा बेरोजगारी, चुलिँदै गएको विदेश पलायनको यथास्थितिलाई जतिसक्दो सम्बोधन गर्ने उद्देश्य रहेको उनले बताए ।

प्रकाशित : श्रावण १२, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रेमा दुई बालकसहित तीन जना नदीमा बेपत्ता

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लाका दुई स्थानमा नदीले बगाएर ३ जना बेपत्ता भएका छन् । तेमाल–२ स्थित सुनकोसी नदीमा पौडी खेल्न गएका दुई बालक र रोशी खोलामा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार, बिहान पौडी खेल्न गएका ११ वर्षीय समिर माझी र ८ वर्षीय कान्छो माझी बेपत्ता भएका हुन् ।

त्यस्तै, रोशी खोलामा चौपायासहित एक जना बेपत्ता भएका छन् । गोठालो गएका नमोबुद्ध–९ का अन्दाजी ४८ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएको खतिवडाले जानकारी दिए ।

सुनकोसी नदीमा उद्धारका लागि शसस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली पुगे पनि बाढीका कारण सम्भव भएको छैन । बिहीबार पनि उद्धार जारी राखिने खतिवडाले जानकारी दिए ।


प्रकाशित : श्रावण ४, २०७९ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×