कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पनौतीमा भोकेसनल सेन्टरको भवन शिलान्यास

नगेन्द्र अधिकारी

काभ्रे — बर्सेनि १ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित पनौती नगरपालिका–४, डिहीगाउँमा नेपाल भोकेसनल सेन्टर स्थापना गरिने भएको छ ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले बिहीबार भोकेसनल सेन्टरको बहुउद्देश्यीय भवन शिलान्यास गरेका हुन् ।

पनौतीमा भोकेसनल सेन्टरको भवन शिलान्यास

कृषि तथा पशुपालन विषयमा तालिम सुरु गरी बजारको मागअनुसार अन्य संकाय थप गर्दै जाने लक्ष्यसहित सेन्टर सुरु गरिएको नेपाल भोकेसनल एकेडेमीका अध्यक्ष रवीन्द्र पुरीले जानकारी दिए । सेन्टरको संरचना निर्माणका लागि रवीन्द्र पुरी फाउन्डेशनले करिब १ अर्ब मूल्यको १ सय ७ रोपनी जग्गा उपल्बध गराएको छ । फाउन्डेशनका अध्यक्ष रहेका पुरीले बिहीबार नै सेन्टरका प्रिन्सिपल प्रकाश कुइँकेललाई जग्गाधनीपूर्जा हस्तान्तरण गरेका थिए ।

पुरीका अनुसार, पहिलो बहुउद्देश्यीय भवन जर्मन नागरिक हान्स जोआकिम स्नाइडरको सहयोगमा सुलन फ्युर नेपालमार्फत ७ करोडका लगानीमा निर्माण हुनेछ । भवनमा वर्कसप, कक्षाकोठा, कन्फेरेन्स हल, मिटिङ कक्ष, अफिस कक्षलगायतका कक्ष रहनेछन् ।

२०७२ देखि व्यावसायिक तालिम संचालन गरिरहेको फाउन्डेशनले हरेक वर्ष ६० देखि ७० जनासम्म डकर्मी, सिकर्मी, लौहकारलगायतका जनशक्ति उत्पादन गर्दै आएको छ । प्रशिक्षार्थीहरुको संख्या वृद्धि तथा अन्य संकाय थप्न माग भएपछि एकेडेमीले २०७७ देखि भक्तपुरमा पनि नेपाल भोकेसनल एकेडेमी सञ्चालन गरिरहेको छ । इलेक्ट्रीसियन, प्लम्बिङ, काष्ठकलालगायतका क्षेत्रमा वार्षिक करिब २०० जना दक्ष जनशक्ति उत्पादन गर्ने क्षमता रहेको पुरीले जानकारी दिए ।

प्राविधिक तथा व्यावसायिक तालिम लिने प्रशिक्षार्थीको संख्या वृद्धि भएसंगै र अन्य प्राविधिक विषयगत संकायहरूको आवश्यकता महसुस गरेरै नेपाल भोकेसनल सेन्टरको निर्माणमा जुटेको पुरीले बताए । नेपालमा विद्यमान युवा बेरोजगारी, चुलिँदै गएको विदेश पलायनको यथास्थितिलाई जतिसक्दो सम्बोधन गर्ने उद्देश्य रहेको उनले बताए ।

प्रकाशित : श्रावण १२, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?