कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालिज फार्ममा चितुवा पस्यो, स्थानीयले ढुंगा हानेर घाइते बनाए

रातभरमा चितुवाले ५ सयभन्दा बढी कालिज मारेको फार्म सञ्चालकको भनाइ
केदार शिवाकोटी

दोलखा — दोलखाको सदरमुकाम चरीकोट नजिकैको कालिज फार्ममा चितुवा पसेर ५ सयभन्दा बढी कालिज मारेको छ । भीमेश्वर नगरपालिका– ७ मा रहेको दूधपोखरी वाइल्ड लाइफ एग्रो विथ रिसोर्टमा शनिबार राति पसेको चितुवाले ५ सयभन्दा बढी कालिज मारेको हो ।

कालिज फार्ममा चितुवा पस्यो, स्थानीयले ढुंगा हानेर घाइते बनाए

फार्ममा पसेको चितुवालाई आइतबार दिउँसोसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । आइतबार बिहान फार्ममा काम गर्ने मजदुरले कालिज मरेको देखेपछि के भयो भनेर पस्दा चितुवाले आक्रमण प्रयास गरेको थियो ।

रातभर चितुवाले ५ सयभन्दा बढी कालिज मारिसकेको सञ्चालक मिङगुर शेर्पाले बताए । ‘कालिज मरेको हेर्न जाँदा चितुवा देखेपछि भाग्यौं,’ उनले भने, भित्र रहेका कालिज सबै मारिसकेका छन्, वन कार्यालयलाई नियन्त्रण गरिदिन आग्रह गरेका छौं ।’

फार्ममा पसेको चितुवा स्थानीयले लखेट्ने प्रयास गरे पनि सबैतिर तारजाली लगाएका कारण चितुवाले स्थानीयलाई नै आक्रणमको प्रयास गरेको छ । स्थानीयहरूले भने नियन्त्रणमा लिन नसकेपछि चितुवालाई ढुंगामुढा गरेर घाइते बनाएका छन् ।

चितुवाले आक्रमण गर्न सक्ने भन्दै फार्म नजिकै जान रोक लगाइएको छ । फार्ममा चितुवा हेर्न आएकाहरूले चितुवालाई घोच्ने र ढुंगाले हिर्काउने गर्दा चितुवा घाइते नै बनेको शेर्पाले बताए ।

डिभिजल वन कार्यालयबाट खटिएका कर्मचारीले चितुवा नियन्त्रण गर्न नसकेपछि थप जनशक्ति र साधन मगाइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताए । 'चितुवा नियन्त्रणका लागि जनशक्ति र साधन नभएकाले थप समस्या भएको हो,’ उनले भने, ‘नियन्त्रणका लागि दक्ष जनशक्ति बोलाइसकेका छौं ।’ तर चितुवालाई थप आक्रोशित नपार्न पनि उनले स्थानीयहरूलाई सचेत गराएका छन्।

पछिल्लो समय यसरी मानव बस्तीमा वन्यजन्तुहरू छिरेर 'ट्र्याप'मा पर्ने क्रम बढ्दो छ । वन्यजन्तु संरक्षणकर्मीहरूले भने यस्तो अवस्थामा वन्यजन्तुलाई आक्रमण नगरिकन सुरक्षित स्थानमा फर्काउनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण ८, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?