कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपीमा बढे विद्युतीय सवारी

राजकुमार कार्की

सिन्धुली — पूर्वी नेपालका जिल्लालाई छोटो दूरीमा राजधानी काठमाडौंसँग जोड्ने बीपी राजमार्गमा वातावारणमैत्री विद्युतीय सवारीसाधन बढ्दै गएका छन् । राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने साना सवारीसाधन गुड्छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय सवारीमा आकर्षण बढेको हो ।

बीपीमा बढे विद्युतीय सवारी

यातायात व्यवसायीका अनुसार अहिले दिगो कम्पनीले १० सिट क्षमताका ३० र सुन्दर यातायात कम्पनीले १९ सिट क्षमताका दुईवटा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका छन् ।

सुरुमा खरिद गर्दा विद्युतीय सवारी महँगो भए पनि सञ्चालन खर्च कम आउने यातायात व्यवसायी टंक कार्कीले बताए । दिगो कम्पनीबाट चाहना यातायात नाम दिएर उनले विद्युतीय सवारी सिन्धुली–काठमाडौं रुटमा सञ्चालन गर्दै आएका छन् । ‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारीमा चार्ज गर्दा लाग्ने सात सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्कंदा पाँच सय भए पुग्छ ।’ जबकि जाउआउको डिजेल/पेट्रालको खर्च कम्तीमा ६ हजार हुन्छ ।

सिन्धुली–काठमाडौं १ सय ६० किलोमिटरमा करिब १८ लिटर डिजेल खपत हुन्छ । यो दूरीमा बिजुली ५० युनिटसम्म खपत हुन्छ । काठमाडौंबाट फर्कंदा ओरालो बढी पर्ने भएकाले इन्धन खर्च कम हुने कार्कीले बताए । विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन कम रहेको व्यवसायी कार्कीको गुनासो छ । सदरमुकाम सिन्धुलीमाडी र बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिकाको रामटारमा मात्र चार्जिङ स्टेसन भएकाले चार्ज गर्न भने समय लाग्छ । चाहना यातायातकै चालक सुवर्ण भुजेल पालो पाउँदा चार्ज गर्न आधा घण्टा समय लाग्ने बताउँछन् । ‘चार्जिङ स्टेसन कम हुँदा लाइन बस्नुपर्ने भएकाले कहिलेकाहीं एक घण्टा नै लाग्छ,’ उनले भने, ‘स्टेसन बढाइदिए सहज हुने थियो ।’

अन्य सवारीको तुलनामा टुटफुट पनि कम हुने र इन्धन नचाहिने हुँदा पछिल्लो समय विद्युतीय सवारीप्रति व्यवसायीको आकर्षण बढ्दै गएको चालक भुजेलले बताए । विद्युतीय सवारी मर्मतका लागि सामान नआएको र बिग्रिएमा कम्पनीले नयाँ गाडीको खोलेर हालिदिने गरेकाले खर्च बढेको उनको भनाइ छ । यस्ता सवारी हाल कालोपत्रे सडकमा मात्रै सञ्चालन हुँदै आएको व्यवसायीले बताए ।

गाडी किन्दा कम्पनीले नै एउटा सानो चार्जर दिएकाले घरमा नै चार्ज गर्न मिल्ने अर्का व्यवसायी तारा दाहाल बताउँछन् । बीपी राजमार्गको बीच–बीचमा अरू चार/पाँचवटा चार्ज गर्ने स्टेसन हुनुपर्ने उनको भनाइ छ ।

सुनकोसी गाउँपालिका–५ रामटारमा एक वर्षदेखि विद्युतीय सवारीसाधनका लागि रिचार्ज स्टेसन सञ्चालन गर्दै आएका व्यवसायी रामहरि पौडेल चार्जिङ स्टेसनका लागि लगानी धेरै हुने बताउँछन् । विद्युत् नियमित नहुँदा ग्यासबाट जेनेरेटर सञ्चालन गरी चार्ज गर्दा महँगो पर्न जाने उनको अनुभव छ । नियमित विद्युत् उपलब्ध भए अझ सस्तिने उनी बताउँछन् । सवारीसाधन रिचार्ज गरेबापत प्रतियुनिट १५ रुपयाँ शुल्क लिने गरेको र यो डिजेल/पेट्रोलभन्दा धेरै नै कम खर्च भएको उनको भनाइ छ । उनका अनुसार ५० युनिट भए काठमाडौंसम्म सजिलै पुग्न सकिन्छ । फर्कंदा ४० युनिट खपत हुन्छ । एउटा विद्युतीय सवारीसाधन रिचार्ज गर्न आधा घण्टा समय लाग्छ ।

रिचार्ज स्टेसनमा १२० किलोवाट क्षमताको चार्जर जडान गरेको भए पनि अहिले ६० किलोवाट सञ्चालन गरी तीनवटा नोजलबाट एक पटकमा तीनवटा सवारी रिचार्ज हुँदै आएको छ । दिगो कम्पनीको ५० प्रतिशत अनुदानमा १७ लाख रुपैयाँ आफूले लगानी गरी चार्जर जडान गरेको व्यवसायी पौडेलले बताए ।

प्रकाशित : असार २५, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?