कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देखिनै छाडे मयूर

केदार शिवाकोटी

दोलखा — भीमेश्वर नगरपालिकाको तामाकोसी क्षेत्रस्थित जरेपानीका खेतबारीमा केही वर्षअघिसम्म बथानै चरिरहेका मयूरहरू देखिन्थे । बाली खान खेतमा मयूर आउँदा स्थानीयले लखट्थे ।

देखिनै छाडे मयूर

पछिल्लो समय जरेपानीका स्थानीयले मयूर खेतमा देख्नै पाएका छैनन् । न त मयूरले बाली खाएर दुःख नै दिएका छन् । अचेल ती मयूरका बथान कता हराए ? स्थानीय प्रकाश खत्री भन्छन्, ‘सडक निमार्णका क्रममा डोजरको कर्कस स्वरले गर्दा मयूर आउनै छाडे । सडकमा काम गर्ने मजदुरले राति जंगल पसेरै मारेर पनि खाएका हुन्थे ।’

चरिकोट—जिरी सडक स्तरउन्नोतिका क्रममा सडकमा चलाइएका डोजरले अत्तालिएर धेरै मयूर उक्त क्षेत्रमा आउनै छाडेको स्थानीय बताउँछन् ।

यस्तै सीताकुण्ड सामुदायिक वनमा वर्षेनि लाग्ने डढेलोले समेत मयूरका बासस्थान मासिएको उनीहरू बताउँछन् । खत्रीका अनुसार केही वर्षअघिसम्म घरआँगनमा बथानै चर्न आउने मयूर अचेल विरलै देखिन्छन् । ‘खेतमा भटमास खान आउने मयूर कमै छन् । पहिले त खेतमा मयूर धपाउन पालो नै बस्नुपर्थ्यो,’ खत्रीले भने ।

स्थानीयहरूका अनुसार यस क्षेत्रमा यात्रा गर्दा जरेपानीमा अडिएर मयूर हेर्नेहरू धेरै हुन्थे ।

मयूरको मुख्य आहार धमिरा हो । सीताकुण्ड वन प्रसस्त धमिरा पाइने वनको रुपमा चिनिन्छ । यसैले पनि यस क्षेत्रमा मयूर धेरै हुने गरेको यस क्षेत्रका बासिन्दाको बुझाइ छ । धमिराकै कारण पनि यो वनमा मयूरको बासस्थान रहेको स्थानीय कमल तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार सीताकुण्डका वनमा सय भन्दा बढी मयूर थिए ।

तर अचेल घटेर औंलामा गन्न सकिने मयूर मात्रै वनमा रहेको उनको आकलन छ । ‘मुस्किलले अहिले १४/१५ वटा होलान् । तामाकोसी नदीमा क्रसरको आवाजले पनि मयूर बिच्किएका हुन्,' तिमिल्सिना भन्छन् ।

मयूरका लागि यो मौसम बच्चा हुर्काउने र प्रजनन समय पनि मानिन्छ । मयूरका निलो र हरियो प्रजातिमध्ये जरेपानी र विरुवा क्षेत्रमा निलो प्रजातिका मयूर बढी पाइन्छ ।

त्यसो त यस क्षेत्रलाई मयूर संरक्षण क्षेत्रसमेत घोषणा गरिएको थियो । भीमेश्वर नगरपालिकाले मयूर संरक्षणका लागि पार्क निर्माण पनि गरिहेको छ । जसले गर्दा हराएका मयूरहरू फेरि यस क्षेत्रमा आउन सक्ने अपेक्षा गरिएको छ ।

चराहरूको 'ग्यालिफर्म्स' वर्गमा पर्ने मयूरको मूल बासस्थान दक्षिणी र दक्षिणपूर्वी एसिया मानिन्छ । जुन अन्य चराचुरुंगी जस्तै खुल्ला वनमा बसोबास गर्छ। भाले 'पिकक'को निलो, हरियो तथा सुनौलो रंगी-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ । पोथी 'पिहेन' भने केही भिन्न देखिन्छ । विशेषगरी बसन्त तथा वर्षाको मौसममा पोथीले प्रजनन प्रक्रिया सुरु गर्छ । पोथीलाई फकाउन भाले पंखेटा फिँजाएर नाच्ने गर्छ ।

प्रकाशित : असार २२, २०७९ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?