कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा सार्वजनिक लेखा समितिबारे छलफल

नगेन्द्र अधिकारी

काभ्रे — वाग्मती प्रदेश सभाको सार्वजनिक लेखा समितिले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग स्थानीय तहमा सार्वजनिक लेखा समिति गठन र यसको प्रभावकारिताको विषयमा अन्तरक्रिया गराएको छ ।

स्थानीय तहमा सार्वजनिक लेखा समितिबारे छलफल

काभ्रेका १३ र सिन्धुपाल्चोकका १२ गरी २५ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, सार्वजनिक लेखा समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृत र आन्तरिक लेखा परिक्षकसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा प्रदेश सभाका सदस्यहरू पनि सहभागी छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लेखा समितिको महत्व, शून्य बेरुजु, सार्वजनिक खरिद लगायत विषयमा जानकारी दिन कार्यक्रम गरिएको वाग्मती प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छे नारायण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधिले बहुमतको दम्भ देखाउन नहुने तर्क गरेका थिए । तल्लो तहमा रहेका जनता, कर्मचारी, जनप्रतिनिधिसँग छलफल नगरी काम गर्दा समस्या आउन सक्ने भन्दै उनले स्थानीय तहमा पारदर्शीता, जवाफदेहिता र सुशासन कायम गर्न सार्वजनिक लेखा समितिले भूमिका खेल्नसक्ने बताए ।

स्थानीय तहमा पनि कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सबैको भूमिका रहेको तर्क गर्दै उनले सरकारलाई ‘चेक एण्ड व्यालेन्स’ गर्नको लागि लेखा समिति आवश्यक रहेको बताए ।

वाग्मती प्रदेशको लेखा समिति सदस्य रहेका पूर्वकृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्रबहादुर लामाले लेखा समिति प्रभावकारी नहुँदा कतिपय स्थानीय तह सञ्चालनमा नै समस्या आएको उदाहरण पेस गरे ।

कार्यक्रममा संघीय संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सचिव लक्ष्मण अर्यालले स्थानीय तहमा लेखा समितिको गठन, महत्त्व र प्रभावकारिताको बारेमा र नायव महालेखापरिक्षक त्रिलोचन आचार्यले बेरुजु, त्यसको फर्छ्योट, प्रतिवेदन प्रणाली र लेखा समितिको भूमिका बारेमा कार्यपत्र पेस गरेका थिए ।

प्रकाशित : असार २२, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?