कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डायलासिस मेसिन थन्किएपछि बिरामीलाई सास्ती

केदार शिवाकोटी

दोलखा — जिल्लाको पशुपति चौलागाईं स्मृति अस्पतालमा डायलासिस मेसिन सञ्चालन नभएपछि मिर्गौलाका बिरामीहरु काठमाडौं धाउन बाध्य भएका छन् । 
वाग्मती प्रदेश सरकारले नि:शुल्क संचालनका लागि पठाएको डायलासिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा एक वर्षअघिदेखि अस्पतालको भर्‍याङमुनि थन्किएपछि बिरामीले सास्ती बेहोर्नु परेको हो ।

डायलासिस मेसिन थन्किएपछि बिरामीलाई सास्ती

६ महिनादेखि काठमाडौंमा डायलासिस गर्दै आएका भीमेश्वर नगरपालिका–३ पुरानो बजारका उद्धव श्रेष्ठ जिल्लामै डायलासिस सुविधा संचालन ल्याइदिए धेरै जना लाभान्वित हुने बताउँछन् ।

‘चरिकोटमै एक वर्षअघि ल्याइएको मेसिन संचालन नगर्दा लाखौं रकम खर्च भयो,’ श्रेष्ठले भने, ‘मैले त ऋण काढेर काठमाडौंमा आएर भए पनि डायलासिस गरेँ, विपन्न बिरामीले काल पर्खनभन्दा अर्को विकल्प छैन ।’

भीमेश्वर नगरपालिका–६ का ६९ वर्षीय टिकाबहादुर गुरुङलाई पनि चिकित्सकले डायलासिस गर्नपर्ने अवस्था पनि आउन सक्छ भनेकोले उनको छोरा सुजनलाई पीडा थपेको छ । ‘घर नजिकैको अस्पतालमा मेसिन छ,’ उनले भने, ‘तर संचालनमा नल्याई भर्‍याङमुनी राखिएको छ, काठमाडौं लैजाँदा मासिक/५० हजार खर्च हुन्छ । अस्पतालले मेसिन संचालनमा ल्याइदिएको भए खर्च जोगिने र उपचार पनि हुने थियो ।’

अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले भने प्रदेश सरकारले खरिद गरेर पठाएको डायलासिस मेसिन पूर्वाधार, जनशक्ति अभावमा थन्किएको बताए । ‘संचालनमा ल्याउन चाहे पनि पूर्वाधार छैन,’ उनले भने, ‘अस्पतालका भवनहरु बनिसक्न अझै २ वर्ष लाग्छ ।’ डायलासिस मेसिन चलाउने जनशक्ति पनि नभएको उनले बताए । ‘हस्तान्तरणका बेला आएका डायलासिसका सामान बुझेर राखेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म खोलेर के कति सामान छन् हेरेका छैनौं ।’

५० लाख रुपैयाँभन्दा बढी पर्ने मेसिन राख्ने ठाउँ अभावमा भर्‍याङमुनी राखिएको उनले बताए ।

अस्पताल परिसरमा जिल्ला स्वास्थ्य कार्यालयको भवनमा डायलासिस संचालन गर्न मिल्ने भए पनि प्रदेश सरकारले निर्णय नगरिदिँदा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर केसीले बताए । २०७६ पुसमा खाली भएको महिला विकास समितिको भवनमा जिल्ला स्वास्थ्य कार्यालय सार्न जिल्ला कार्यालय व्यवस्थापनका लागि पत्र पठाए पनि सुनुवाइ नभएको उनले बताए ।

अस्पतालमा भेन्टिलेटर र आईसियू पनि पूर्वाधार अभावमा थन्किएका छन् । अस्पताल परिसर नजिकैका कर्मचारी नभएका प्रदेश मातहातका सरकारी भवन खाली छन् । उक्त भवनहरु अस्पताल संचालन गर्न उपयुक्त भए पनि व्यवस्थापन भने भएको छैन । ५० शय्याको प्रादेशिक अस्पताल एउटा भवनबाट संचालन हुँदै आएको छ । पूर्ण क्षमतामा अस्पताल संचालन गर्न कठिनाई भएको अध्यक्ष केसीले बताए । ‘बिरामीलाई सेवा दिन सक्ने भएका उपकरण पूर्वाधार अभावमा थन्क्याउनुको विकल्प छैन,’ उनले भने, ‘प्रदेश सरकारले थप सेवाका लागि उपकरण पठाउने भनेको छ कहाँ राखेर सेवा दिने हो ?’ कोभिड बढेमा अन्य सेवासमेत बन्द गरेर अस्पताल संचालन गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

भीमेश्वर नगरपालिकाले अस्पताललाई असार मसान्तमा खरिद गरेर थप भेन्टिलेटर र आइसियू दिने बताएको छ । तर भएका भेन्टिलेटर र आईसियू ठाउँ अभावमा थन्किएको छ ।

प्रकाशित : असार २१, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?