कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'आनीबानीमा सुधार देखिएका' चारवटा बाघलाई जंगलमा छाडियो

रासस

नवलपुर — मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको चारवटा बाघलाई ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले प्राकृतिक वासस्थानमै छाडेको छ । निकुञ्जले यस वर्ष ६ वटा बाघ नियन्त्रणमा लिएकोमा चार बाघलाई भने प्राकृतिक वासस्थानमै छाडेको हो । 

'आनीबानीमा सुधार देखिएका' चारवटा बाघलाई जंगलमा छाडियो

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चारवटा बाघ छाडिए पनि अझै तीनवटा बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिए । 'बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन,' उनले भने ।

जंगलमा छाडिएको चारवटा बाघको घाँटीमा स्याटेलाइट कलरसमेत जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिए । बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ र कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उनले बताए ।

हाल खोरमा रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी-व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले स्पष्ट पारे ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र पुन: प्राकृतिक वासस्थानमा छाडिएको बताए । 'हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् । त्यसैले उनीहरूको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जंगलमा लगेर छाड्ने गरेका छौं,' उनले भने ।

निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् ।

प्रकाशित : असार १९, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?