कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्याम्पस प्रमुख नियुक्तिमा मनोमानी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस प्रमुख नियुक्तिमा आफ्नालाई जिम्मेवारी दिन सिफारिस समिति र त्रिवि पदाधिकारीले मापदण्ड, विधि, प्रक्रियालाई बेवास्ता गरेको पाइएको छ । पछिल्लो समय पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा मनोमानी भएको हो । गत जेठ ९ मा क्याम्पस प्रमुख धनप्रसाद पण्डितको कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले राजु मल्ललाई निमित्त जिम्मेवारी दिएको छ । 

आफूले रोजेकालाई नियुक्ति दिन सिफारिस समितिदेखि त्रिवि पदाधिकारीसम्मले ‘बदनियत’ राखेको प्राध्यापक र कर्मचारीको गुनासो छ । पद्मकन्या स्वायत्त क्याम्पस भएकाले सञ्चालक समितिको सिफारिसमा त्रिविले प्रमुख नियुक्ति गर्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा प्राध्यापक, सहप्राध्यापक हुँदाहुँदै सिफारिस समितिले उपप्राध्यापकलाई मात्रै क्याम्पस प्रमुखमा सिफारिस गरेर मनोमानी गरेको छ भने त्रिविले सिफारिस भएकामध्येबाट क्याम्पस प्रमुख नियुक्ति गर्न नसकेर निमित्तको जिम्मेवारी थुपारिदिएको छ । चार वर्षअघि पण्डितलाई क्याम्पस प्रमुख बनाउँदा पनि सिफारिस र नियुक्ति मापदण्डबारे प्रश्न उठेको थियो । समितिले वरिष्ठ प्राध्यापक, सहप्राध्यापक हुँदाहुँदै उपप्राध्यापकबाट मात्रै सिफारिस गरेकाले पहिलेका सहायक क्याम्पस प्रमुखलाई निमित्तको जिम्मेवारी दिइएको त्रिविका रेक्टर शिवलाल भुसालले जनाए । ‘क्याम्पसमा धेरै जना प्राध्यापक र सहप्राध्यापक छन्, किन उपप्राध्यापकको मात्रै सिफारिस भयो ?’ उनले भने, ‘सिफारिसमा अरू प्रक्रिया पनि मिलेको देखिँदैन, समितिको गठनकै पनि प्रक्रिया पुगेजस्तो छैन । क्याम्पसलाई मिलाएर पठाउन भनेका छौं ।’

पद्मकन्या क्याम्पसकै अध्यापकहरू सञ्चालक समिति र सिफारिस समितिले स्वायत्तताको दुरुपयोग गरेको आरोप लगाउँछन् भने कांग्रेसनिकट केही प्राध्यापकहरू त्रिवि पदाधिकारीले क्याम्पसको स्वायत्तता खोसेको गुनासो गर्छन् । ३० जनाभन्दा बढी प्राध्यापक–सहप्राध्यापक त्यहाँ कार्यरत छन् ।

प्रकाशित : असार १९, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?