२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

प्रांगारिक खेती गर्नेलाई छैन मलको चिन्ता

खेतमा गोठे र गड्यौला मल प्रयोग गर्छन् । ब्याडमा पिना कुटेर छर्छन् । अपुग मललाई घरमै कम्पोस्ट च्याम्बर राखेका छन् । त्यसैले रासायनिक मलको अभावले उनलाई कहिल्यै पिरोल्दैन ।
रमेशकुमार पौडेल

चितवन — असार लागेपछि धमाधम धान रोपाइँ सुरु हुँदा धेरैजसो किसानलाई रासायनिक मल अभावले पिरोलेको छ । मल गोदाम खाली भएको खबरले किसानहरू चिन्तामा छन् । कहींकतै मल बाँडेको खबर सुन्दा हुत्तिँदै लाइन लाग्न पुग्छन् । तर, चन्द्रप्रसाद अधिकारीलाई यसको कुनै चिन्ता छैन । उनको खेतमा आज (असार १५) हिले कार्यक्रम हुँदै छ । बिहीबार रोपाइँ पनि गर्दै छन् ।

प्रांगारिक खेती गर्नेलाई छैन मलको चिन्ता

असारको चटारोले बेफुर्सदी भएका उनले बजारमा मल पाइएला–नपाइएला भनेर ख्याल राख्नै पर्दैन । ‘खेतमा वर्षको एकपटक राम्रोसँग प्रांगारिक मल राखेपछि धान पनि हुन्छ, तरकारी र मकैलाई पनि त्यसैले धान्छ । कतै बढी पो हुने हो कि भन्ने डर पनि हुन्न,’ उनले भने ।

उनी साढे ४ बिघा जमिनमा खेती गर्छन् । धान, मकैजस्ता अन्न बालीका अलावा व्यावसायिक तरकारी खेती पनि गर्छन् । उनी व्यावसायिक तरकारी खेती गर्ने चितवनकै अगुवा किसान हुन् । भरतपुर महानगरपालिका–१५ फूलबारी श्रीपुरका उनले २०४७ सालेखि नै रासायनिक मल र विषादीबिनै खेती गर्दै आएका हुन् । फूलबारी र शिवनगरका २३० जना किसानलाई समेटेर गठन भएको प्रांगारिक कृषि उत्पादक सहकारीका उनी अध्यक्ष पनि हुन् ।

उनले खेतमा गोठेमल, गड्यौला मल प्रयोग गर्छन् । नर्सरी र ब्याडमा पिना कुटेर छर्छन् । हरियो मलका रूपमा ढैंचा लगाउँछन् । हुर्किएको ढैंचालाई जोतेपछि कुहिन्छ र मल बन्छ । अपुग मल जोहो गर्न कम्पोस्ट च्याम्बर पनि राखेका छन् । उनी घरबाट निस्कने कुहिने वस्तु खेर जान दिँदैनन् । गोठ पनि सुधार गरेर मल तयार गर्दै आएका छन् । ‘गोठ सुधार गरेर मल राम्रोसँग पच्ने तरिकाले च्याम्बर बनाएको छु । वर्षमा ५/७ ट्र्याक्टर मल गोठबाट निस्कन्छ । सामान्य गोठको ५ ट्र्याक्टर बराबर यो एक ट्र्याक्टर मलले काम गर्छ,’ उनले भने । यति गर्दा पनि पुगेन भने कहिलेकाहीँ उनी गाउँबाट गोबर मल खरिद गर्छन् । त्यसैले विदेशबाट रासायनिक मल आयो–आएन भन्ने खबरले उनको कृषि कर्मलाई केही फरक पार्दैन ।

रासायनिक मल र विषादी प्रयोग गरेको भन्दा आफ्नो जमिनमा धान बिघामा २/४ क्विन्टल र गाजर लगायतका तरकारी कट्ठामा १/२ क्विन्टल बढी फल्ने उनले दाबी गरे । ‘झारले भने अलि दुःख दिन्छ । झार मार्नका लागि प्रायः ले झारनाशक विषादी छर्छन् । म भने झार गोड्न खेताला नै लगाउँछु,’ उनले भने, ‘तर यसो गर्दा खर्च भने १० गुणा बढी हुन्छ ।’ उत्पादन राम्रो हुने, मल किन्न नपर्ने, माटो सुधार हुने, रोग किराले दुःख नदिने भएकाले उनी खर्चको पीर मान्दैनन् ।

सबैले यसरी पनि सोच्दैनन् । उनको सहकारीमा आबद्ध २५० जनामध्ये पूर्ण रूपमा प्रांगारिक खेती गर्ने निकै कम छन् । आफ्नो जमिनमध्ये कम्तीमा २ कट्ठामा प्रांगारिक खेती गर्ने व्यक्ति मात्रै सहकारीको सेयर सदस्य हुन पाउँछ । पूर्ण प्रांगारिक खेती गर्ने २५ जना मात्रै रहेका उनले जानकारी दिए । झार गोड्ने पिरलोले उनीहरूलाई सताएको उनको भनाइ छ । ‘खर्च धेरै हुने भएपछि किसानहरूले झारनाशक राख्न थाले । झारनाशक राखेपछि त्यो प्रांगारिक भएन । खर्चको तुलनामा मूल्य र प्रोत्साहन नभएपछिहामीले मात्रै रोक्न पनि सकेनौं,’ उनले भने ।

डेढ बिघा जमिन भएकी स्नेहलता न्यौपाने पनि सहकारीको सेयर सदस्य हुन् । उनी पनि पूर्ण रूपमा प्रांगारिक खेती गर्छिन् । तर, कहिलेकाहीँ कुनै नयाँखाले रोगको समस्या देखा पर्दा भने उनी आत्तिन्छिन् । ‘मैले अघिल्लो वर्ष छरेको जै घाँसमा डढुवा देखियो । के गर्ने कसो गर्ने भयो । पछि प्रांगारिक तरिकाले नै समाधान खोज्यौं,’ उनले अनुभव सुनाइन्, ‘यस्तो बेला रासायनिक मल हाल्नुपर्छ भन्ने धेरै निस्कन्छन् । नत्र त हामीलाई गोबर मल नै पुग्दो छ ।’

प्रांगारिक खेतीमा अनुसन्धान नियमित नहुँदा नयाँखाले समस्या निम्तिँदा किसान आत्तिने गरेको अधिकारी पनि बताउँछन् । ‘हामीले २०/३० वर्षदेखि एकै तरिकाले खेती गर्दै आएका छौं । नयाँ केही समस्या देखिँदा यसको विकल्प यो छ है भन्ने भए सजिलो हुन्थ्यो तर त्यस्तो छैन । समग्रमा कृषि क्षेत्र नै ओझेलमा छ । त्यसमाथि प्रांगारिक कृषि झनै छायामा छ,’ उनले भने ।

प्रांगारिक खेती गर्दै गए माटो आफैं मलिलो हुँदै आउने गरेको उनको अनुभवले देखाएको छ । माटो र मानव स्वास्थ्य रक्षा गर्ने, आयातित मलको भर पर्नु नपर्ने प्रांगारिक कृषिमा प्रोत्साहन गर्ने नीति सरकारले लिए किसानहरू यसतर्फ लाग्न अभिप्रेरित हुने उनले बताए ।

प्रकाशित : असार १५, २०७९ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?