कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोपीडितलाई बस्ने घर न सर्ने भर

‘पहिरोले घर लगेपछि केही दिनसम्म त्रिपाल र चामल बाँड्न आए, अब हामीलाई पनि बगाएपछि मात्र बिचरा भन्न आउने त होलान् ।’
सरिता श्रेष्ठ

आगिन्चोक, धादिङ — त्रिपुरासुन्दरी गाउँपालिका–५ आगिन्चोकको धिमिरेमा गत जेठ २६ को राति पहिरो जाँदा ५५ वर्षीय नेत्रप्रसाद खाँणको मृत्यु भयो । सुतिरहेका बेला पहिरोले घर पुर्दा बेपत्ता भएका खाँण मृत भेटिएका थिए । भूकम्पपछि सरकारी अनुदानमा बनाएको पक्की घरमा नेत्रप्रसाद सुतेका थिए । त्यसको नजिकै सडकको तलपट्टि ढुंगामाटो र जस्तापाताले बारेको घरमा कनमाया सुतेकी थिइन् ।

पहिरोपीडितलाई बस्ने घर न सर्ने भर

ढुंगासहित खसेको लेदो माटोले घर बगाएपछि कनमायाले छिमेकीसँग गुहार नमागेकी होइनन् तर लगातार परिरहेको पानीको आवाजले उनको बिलौनालाई मलिनो बनाइदियो । झन्डै २ घण्टापछि मात्रै छिमेकी पहिरोस्थलमा आउन सकेका थिए ।

छोरा सुरेन्द्र डेढ महिनाअघि मात्र कोरिया गएका थिए । घरमा बज्रपात परेको सुनेपछि उनी हालै मात्र स्वदेश फर्किर्एका छन् । श्रीमान्लाई पहिरोले लगेपछि कनमायाका आँखा ओभाना छैनन् । कोरा कपडामै रहेकी उनी श्रीमान्लाई सम्झँदै रुने, कराउने गर्छिन् । ‘श्रीमान् गुमाएदेखि आँखा ओभाना छैनन्, सम्झाउन सकिएको छैन,’ जेठानी रेशमकुमारी खाँण भन्छिन्, ‘पुस्तौंदेखि बसिरहेको ठाउँमा यसपालि पहिरो गयो, हाम्रो परिवारमा परेको यो बज्रपातले गाउँ नै शोकमा डुबेको छ ।’

गंगाजमुना–७ बुढाथुमको चेपारेमा पनि हालै पहिरोमा परी एक वृद्धाको मृत्यु भएको छ । अघिल्लो बिहीबार वर्षापछिको पहिरोले घर बगाउँदा ८४ वर्षीया धनमाया सार्कीको मृत्यु भएको हो । यो वर्षको मनसुन सुरु भएसँगै धादिङमा विपद्का घटनामा परी कतै मानवीय क्षति नै भएको छ भने कतै बस्ती नै जोखिममा परेका छन् । ३ सातायता गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न बस्तीमा विपद्–बाट व्यापक क्षति पुगेको छ । ‘माथिबाट पहिरो खस्छ, तलबाट भाँसिँदै गएको छ,’ गंगाजमुना–५ भीरमौरीकी टुलकुमारी विक भन्छिन्, ‘जेठ ३१ गते रातिको पहिरोले घरमा क्षति पुगेको छ । पानी पर्न थालेपछि भागाभाग हुन्छ, पस्केको भातसमेत आरामले खान पाउँदैनौं ।’

भूकम्पपछि बनाएको पक्की घर पहिरोको जोखिम परेपछि फेरि उठिबास लाग्ने हो कि भन्ने चिन्तामा स्थानीय छन् । ‘७ वर्षअघि भूकम्पले दिएको पीडा अझै उस्तै छ, अहिले फेरि पहिरोको डरले अत्तालिएका छौं,’ उनले भनिन्, ‘आफ्नो थातथलो छाडेर अन्यत्र जाऊँ ठाउँ छैन । न बस्ने घर छ, न सर्ने भर छ ।’

त्रिपुरासुन्दरी गाउँपालिका–६ छापथोकका बालबहादुर भण्डारी पनि बर्खाभर कसरी जोगिने होला भन्ने चिन्तामा छन् । गत जेठ २६ मा गएको पहिरोसँगै उनको घर भने बगेको थियो । पहिरो आएको थाहा पाएपछि सुतिरहेकी श्रीमतीलाई बोलाएर भागेर ज्यान जोगाएका उनी बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । ‘एकपछि अर्को विपद्सँग जुध्नुपरेको छ,’ उनले भने ।

पहिरो प्रभावितलाई जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले त्रिपाल, भाँडाकुँडा, खानेकुरालगायत लत्ताकपडा वितरण गरे पनि त्यो पुग्दो छैन । बस्ती नै जोखिममा परे पनि पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरोकारवालाले चासो दिएका छैनन् । जोखिम छ भन्ने थाहा हुँदाहुँदै बस्नुपरिरहेको बालबहादुरले दुःखेसो पोखे । ‘पहिरोले घर लगेपछि केही दिनसम्म त्रिपाल र चामल बाँड्न आएका थिए, त्यसपछि कोही फर्किएका छैनन्,’ उनले भने, ‘अब हामीलाई पनि पहिरोले बगाएपछि मात्र बिचरा भन्न आउने त होलान् ।’

प्रकाशित : असार १४, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?