कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुटिएको गहना भेटिएपछि ९५ वर्षीया असली भन्छिन् : ‘चुँडिएकै कानको लोतीमा लगाउँछु’ 

केदार सिवाकोटी

दोलखा — उमेरले ९५ वर्ष पुगेकी असली तामाङलाई आफ्नो कान चुँडिएको भन्दा पनि गहना लुटिएको पीरले अचेत बनायो । खाइनखाइ घरमा भएका बाख्रा,कुखुरालगायत बचेर जोडेका गहना शरीरबाटै लुटपाट भएपछि चिन्तित नहुने कुरै भएन ।

लुटिएको गहना भेटिएपछि ९५ वर्षीया असली भन्छिन् : ‘चुँडिएकै कानको लोतीमा लगाउँछु’ 

बैत्यश्वर गाउँपालिका–७ माझीबुस्ती घाम ताप्न पिँढीमा बसेका बेला एक समूहले कुटपिट गरेर कानै चुँडेर जेठ ३० गते असलीको सुन लुटपाट गरेको थियो । त्यो दिनबाट अचेत भएकी उनी गहना लुटिएको पीरले खाना खानसमेत छाडेर झनझन कमजोर बन्दै गएकी थिइन् । आफन्तले लुटिएका जति सुन किनेर नयाँ गहना बनाइदिन्छौँभन्दा पनि उनी मानिनन् । आफन्तलाई गहना खोजिदिन आग्रह गरिरहिन् ।

सोमबार भने उनको अनुहारमा खुसी छाएको थियो । असलीको घरमा आफन्त र गाउँलेको बाक्लो जमघट थियो । लुटिएको गहना प्रहरीले घरमै पुगेर फिर्ता गर्दैथ्यो । उनी नातिनीको हात समातेर कहिले यता कहिले उता गरिरहेकी थिइन् । प्रहरीले गहना फेला पारेको खबर थाहा पाएपछि सोमबार हजुरआमाले खाना खाएको नाति मानकाजी तामाङले बताए । ‘गहना लुटिएको दिनदेखि हजुरआमा अचेत जस्तै हुनुभयो, चुँडिएको कानको उपचार गर्न जाऔंभन्दा समेत मान्नु भएन,’ उनले भने, ‘हामी अर्को गहना बनाइदिन्छौँभन्दा रिसाउनु भयो, खाना खानसमेत छाडनुभयो ।’ बुढेसकालमा मेहनतले जोडेको गहना लुटपाट भएपछि पीरले हजुरआमा रातभर जागै बस्ने गरेको उनले बताए । ‘बाख्रा,कुखुरालगायत बेचेर हजुरआमाले आफैले जोडेको सम्पत्ति हो त्यो गहना,’ उनले भने, छोरा नाति कसैले उहाँको गहना लगाउने इच्छा बुझेर दिएको होइन ।’ आफन्तको आग्रहमा प्रहरीले असलीको लुटिएको सुन खोजी गरिदिएको हो । दुःखले जोडेका गहना हात परेपछि असली खुसी देखिन्थिइन् ।

‘तिलहरीको पोते पनि चुँडिएछ, कानको लोती पनि चुँडिएको छ,’ उनले भनिन्, ‘बनाएर लगाउँछु ।’ सत्यको धन कसैले लुट्न उनको भनाइ थियो । ‘यसो कान र गलामा सुन लगाउन मन लाग्यो,’ उनले भनिन्, ‘माग्दा कसले दिन्छ, बुढेसकालमा बाख्रा कुखुरा बेचेर इच्छा पूरा गरेको हो ।’

घरमै गहना पुर्‍याउन गएका डीएसपी गंगाप्रसाद पौडेल भन्छन्, ‘गहना उहाँकै हो प्रहरीले आफ्नो काम गरेको हो ।’ ९५ वर्षको उमेरमा प्रहरी र अदालत धाउन नपरोस् भनेर घरमै पुगेर गहना दिइएको उनले बताए ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई कानुनी कारबाही हुने डीएसपी पौडेल बताउँछन् । घटनामा संलग्न भएको आशंका प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । प्रहरीले असलीको घरभन्दा केहीमाथि मन्दिरनजिकै गाडिएको अवस्थामा गहना फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ७, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?