कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२५

दुर्गमका स्वास्थ्य संस्थामा ब्याण्डेज र कटनगजभित्र कुहिएको पराल !

केदार शिवाकोटी

दोलखा — गाउँघरमा प्राथमिक स्वास्थ्योपचारका लागि स्थानीयले भरोसा गर्ने संस्थामै गुणस्तरहीन औषधि र अन्य फोहोरजन्य वस्तु भेटियो भने स्थानीयहरू औषधि सेवन गर्न कहाँ जाने ?

दुर्गमका स्वास्थ्य संस्थामा ब्याण्डेज र कटनगजभित्र कुहिएको पराल !

दोलखाको कालिञ्चोक गाउँपालिका १ को वेगुम्पास्थित स्वास्थ्य चौकीमा पनि यस्तै पाइएको छ । दुर्गम कालिञ्चोक क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा ‘ब्याण्डेज’ र ‘कटनगज’मा स्वास्थ्यकर्मीले कुहिएका कालो परालका टुक्रा र फोहोर फेला पारेका छन्।

‘ब्याण्डेज’ र ‘कटनगज’ बिरामीको चोटपटक तथा घाउ सफा गरेपछि संक्रमण फैलन नदिन प्रयोग गरिन्छ । बुधबार यस्ता बिरामीका लागि ‘ब्याण्डेज’ र ‘कटनगज’ तयार पार्ने क्रममा परालका टुक्रा फेला परेको कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य शाखा निरीक्षक धिरेन्द्र चौधरीले बताए ।

घाउमा संक्रमण नहोस् भनेर अति संवेदनशील मानिन्छ यस्ता सामग्री । तर संवेदनशील सामग्रीमै फोहोर प्याकेटिङ भएर आएको बताउँछन् स्वास्थ्यकर्मीहरू । सन्तोष ब्राण्ड नाम गरेको उक्त ब्याण्डेज र कटनगज चाभो हेल्थ केयरले उत्पादन गरेको हो । गत मंसिरमा पालिकाले सबै स्वास्थ्य संस्थाका लागि औषधि खरिदका लागि बोलपत्र आह्वान गरेको थियो ।

२० लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको पालिकाले भक्तपुरको बासुकी मेडिसिन सप्लार्यसले खरिदका लागि स्वीकृति पाएको थियो । उक्त पालिकाका लागि बासुकीले ७५ प्रतिशत घटेर करिब ५ लाखमा कवोल गरेर जिम्मा पाएको थियो । यसमा ब्याण्डेज र कटनगज ०.०१ पैसामा सप्लाइ गर्ने भन्ने उल्लेख छ । जबकि प्रतिथान बजारमा ब्याण्डेज र कटनगज मूल्य अभिवृद्धि करसहित २ सय रुपैयाँ पर्छ । तर बासुकीले एक पैसा भन्दा कम मूल्यमा उक्त ब्याण्डेज र कटनगज कालिञ्चोकका स्वास्थ्य संस्थालाई सप्लाइ गर्दै आएको छ ।

उक्त ब्याण्डेजको प्याकेट बाहिर उत्पादन मिति नै सामान झर्नुभन्दा तीन महिना पछिको राखेको पाइएको छ । सप्लायर्सले उक्त सामग्री एक महिनाअघि सप्लाइ गरेको थियो । ब्याण्डेजको प्याकेट बाहिर भने उत्पादन मिति अंग्रेजीमा २०२२ अगस्ट लेखिएको छ । दुई महिनापछिको आउनु पर्ने मितिअघि नै फेला परेपछि मिलेमतोमा भएको आशंका गरिएको छ ।

कालिञ्चोकको वेगुम्पा स्वास्थ्य चौकी उक्त पालिकाको सबैभन्दा दुर्गम क्षेत्रमा पर्छ । स्वास्थ्यकर्मीले ब्याण्डेज तयार पार्दा फोहोर फेला पारेको वडा अध्यक्ष पदम थामीले पनि पुष्टि गरेका छन् । उनी उक्त स्वास्थ्य संस्थाको अध्यक्ष समेत हुन् । ‘स्वास्थ्यकर्मीले खोलेर हेर्दा औषधिजन्य ब्याण्डेजमा फोहोर रहेछ,' उनले भने, 'यसअघि पनि पटकपटक कार्यालय सहयोगीले फोहोर पारेको मलाई भनेका थिए ।’

वडा नं १ लाई जनचेतना नभएको वडा भन्दै हेप्ने गरेको अध्यक्ष थामीको गुनासो छ। ‘अधिकांश समुदाय जनचेतनाको अभावमा छन् । स्वास्थ्य संस्थाले जस्तो औषधि दिन्छ त्यै विश्वास गरेर लाने गरेका छन् । औषधिको मिति हेर्न कसले जानेको छ र ?’ उनले भने । यस्तै दुर्गममा मिलेमतोमा गुणस्तरहीन स्वास्थ्य सामग्री पठाउने गरेको पनि थामी बताउँछन् ।

पालिकाको स्वास्थ्य शाखाले समेत एक पैसा कममा ब्याण्डेज सप्लाई गर्ने भनेपछि गुणस्तर परीक्षणसमेत नगरेको पाइएको छ । थानमा प्याकेट भएर आउने भएकाले बाहिरबाटै हर्दा राम्रै देखिएको शाखका निरीक्ष चौधरीले बताउँछन् । उनी भन्छन्, ‘ब्याण्डेज र कटनगज प्लास्टिकको थानमा आउने गर्छ । बाहिरबाट हेर्दा केही देखिएन, तर राम्रै होला भनेर खोलेर हेरेनौं । पछि पो थाहा भयो, भित्र त परालका टुक्रा र फोहोर रहेछ ।’

स्वास्थ्य शाखाको स्टोरमा भएका ब्याण्डेज र कटनगजका पोकाहरू खोलेर हेर्दा स्टोरमा भएका अन्य स्वास्थ्य सामग्रीमा पनि फोहोर वस्तु फेला पारिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । पछिल्लो समय गुणस्तरहीन सामग्री फिर्ता लगेर कबोल अनुसारका स्वास्थ्य सामग्री ल्याउन ताकेता गरिसकेको चौधरी बताउँछन् ।

साथै त्यस्ता गुणस्तरहीन औषधिजन्य सामग्री सप्लाई गर्ने कम्पनीको भुक्तानी रोकिदिएको उनले बताए । ‘हामीले कम्पनीलाई गुणस्तरहीन औषधिजन्य सामग्री फिर्ता लैजान भनेका छौं । उहाँहरूले कुनै त्रुटीका कारण भएको होला फिर्ता लगेर साट्ने भन्नुभएको छ,’ चौधरीले भने ।

प्रकाशित : असार ३, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×