‘मिडियामा मधेसका मुद्दा आवश्यक’

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्यको व्यवहारका कारण मधेस र पहाडी समुदायबीच लामो समयदेखि अविश्वास रहँदै आएको भन्दै अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । यद्यपि समुदायस्तरमा विश्वास कायम गर्न सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने उनीहरूले सुझाव दिए ।

‘परिवर्तनको अभियान नेपाल’ को आयोजनामा मधेस मुद्दामा मिडियाको भूमिका विषयक कार्यक्रमका वक्ताहरूले मधेसी समुदायलाई हेर्ने विभेदपूर्ण दृष्टिकोण अझै परिवर्तन हुन नसकिरहेको चिन्ता व्यक्त गरेका थिए । शुक्रबार काठमाडौंको यस कार्यक्रममा पत्रकार तथा लेखक वसन्त बस्नेत र मिडिया अनुसन्धानकर्ता प्रियंका झाले यसबारे आफ्नो प्रस्तुति दिएका थिए । बस्नेतले मधेसी समुदाय लामो समयदेखि विभेदमा पारिए पनि नेतृत्व तहबाट जनताहरू ठगिने गरेको बताएका थिए । यद्यपि पछिल्लो समय मिडियामा मधेसका मुद्दाले स्थान पाउने गरेको उनले बताए । बस्नेतले अनुभव साट्दै मधेसबारे अझै धेरै कुरा आउन बाँकी रहेको पनि बताए ।

यस्तै मिडियाकर्मीहरू जानेर वा अन्योलमा पनि मधेसप्रति पूर्वाग्रही बन्ने गरेको झाले बताएकी थिइन् । उनले मिडियाले विचार निर्माण गर्न सक्ने क्षमता राख्ने भन्दै कतिपय सन्दर्भमा मिडियाले गलत नियतले पनि मधेसप्रति गलत सूचना फैलाउने गरेको स्मरण गराएकी थिइन् । उनले ऋतिक रोशन प्रकरणलाई एक उदाहरणका रूपमा प्रस्तुत गर्दै मधेसी समुदायले पनि मिडियालाई अपनत्व गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने सुझाव दिएकी थिइन् । यस्तै विश्लेषक तथा अभियन्ता तुलानारायण साहले दुवैको प्रस्तुतिमाथि टिप्पणी गरेका थिए । उनले मधेसको पछिल्लो सामाजिक राजनीतिक अवस्था बुझ्नका लागि राज्यले सदियौंदेखि गरेको व्यवहारलाई बुझ्नुपर्ने बताए । पञ्चायतकालदेखि नै मधेसमाथि संरचनागत रूपमा राज्यले कसरी व्यवहार गरेको छ भन्नेबारे इतिहासको व्याख्या गरेपछि मात्रै मधेस र पहाडी समुदायबीच विश्वास स्थापित गर्न सहज हुने टिप्पणी गरे ।

साहले कुनै व्यक्ति वा समुदायको पहल मात्रै नभएर राज्य, मिडिया र बौद्धिकस्तरबाटै यसका लागि पहल गर्नुपर्ने सुझाव दिए । साथै मधेसमाथि विभेद भएको इतिहास स्वीकार गरेर मात्रै रूपान्तरण सम्भव भएको उनले औंल्याएका थिए । कार्यक्रममा ‘परिवर्तनको अभियान नेपाल’ का संस्थापक अध्यक्ष केशव दाहालले भारतमा त्यहाँका पूर्वउत्तर समुदायका बासिन्दामाथि भएको विभेद देखेर आफूले पनि नेपालको मधेसी समुदायमाथि भइरहेको बहिष्करणबारे अनुभूति गरेको बताएका थिए । जसकारण नेपालका पहाडे र मधेसी समुदायबीच जनस्तरबाट विश्वास र हार्दिकता विकास गर्नुपर्ने बताए ।

यस्तै महासचिव सरोज ढुंगानाले आफूहरूले समुदायमा रूपान्तरणका लागि एक अभियान नै सञ्चालन गरेको बताए । साथै युवा वर्गमा दुई समुदायबीच विश्वास र प्रेम जगाउनका लागि आफूहरूको अभियान केन्द्रित रहेको ढुंगानाले बताए ।


प्रकाशित : जेष्ठ २८, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल ल्यान्डपावर हो: अमेरिकी जनरल फ्लिन 

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए. फ्लिनले नेपाल ‘ल्यान्डपावर’ भएको बताएका छन् । नेपाल भ्रमणको दोस्रो दिन कान्तिपथस्थित फोहोरा दरबारमा नेपालका सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीहरुसँगको शनिबार आयोजित अन्तरक्रियामा जनरल फ्लिनले अमेरिकी सेना र नेपाली सेना बीचको सहकार्य शान्तिका लागि भएको बताए।

फोहोरा दरबारमा अमेरिकी रिक्रिएसन सेन्टर छ । उनले नेपाली सेनासँग सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता उल्लेख गर्दै संगठनको मुक्तकण्ठले प्रशंसा गरे । ‘नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध भएको ७५ वर्ष भयो । नेपाली सेना शान्तिलाई मन पराउने सेना हो । हामी अमेरिकी सेना र नेपाली सेनाको सहकार्य शान्तिको लागि हो,’ अन्तरक्रिया कार्यक्रममा सहभागी एक सुरक्षा जानकारले जनरल फ्लिनलाई उदृत गर्दै कान्तिपुरसँग भने ।

फ्लिनले आफ्नो ३० मिनेट लामो प्रवचनमा नेपाली सेना र सरकारसँग सहकार्य गर्ने उल्लेख गर्दै नेपाली सेनाको व्यवसायीकतासँग आफूहरु प्रभावित भएको प्रस्ट पारे । उनले भने,‘म नेपाल आउने भन्दा र यहाँको सेनाको व्यावसायिकता देख्दा गर्व पनि लाग्छ ।’ कार्यक्रम दिउँसो २ बजदेखि ३:३० बजेसम्म भएको थियो ।

जनरल फ्लिनले अहिले अमेरिका ‘ग्लु’ रहेको उल्लेख गर्दै यसले संसारलाई जोड्ने काम गर्ने उल्लेख गरे । उनले इन्डो–प्यासिफिक र एसिया–प्यासिफिक क्षेत्र बीचको कुरा पनि गरे । इन्डो–प्यासिफिक भित्र ३६ मुलुकहरु रहेको उल्लेख गर्दै उनले अमेरिकाको लागि यो क्षेत्र महत्वपूर्ण भूभाग रहेको भएको बताए । ‘अमेरिकी सेना र नेपाली सेना बीचको सम्बन्ध किन महत्वपूर्ण छ भने यो सम्बन्ध दुवै मुलुकको समृद्धिका लागि हो,’ उनले अन्तरक्रियाको क्रममा भएको सहभागी अर्का सुरक्षा जानकारले भने ।

जनरल फ्लिनले नेपाली सेना विश्वकै एक उत्कृष्ट सेना रहेको उल्लेख गर्दै नेपाली सेनाले क्षमता अभिवृद्धिमा अमेरिकी सेनाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली सेना एसियाकै पहिलो पुरानो सेना रहेको पनि बताए । उनले नेपाली सेनासँग भएको कौशलताको प्रशंसा गरे । ‘नेपालीसँग सहकार्य गर्न पाउँदा, ज्ञानको साटसाट गर्न पाउनु हाम्रो लागि राम्रो कुरा हो,’ उनले थपे । नेपाली सेनासँग उच्च हिमाली क्षेत्रमा हुने प्राकृतिक प्रशिक्षण सहयोगको कुरा पनि गरे ।

नेपाली पक्षसँग द्वीपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिँदै उनले शुक्रबार नेपाल भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए ।

जनरल फ्लिनले शनिबार मौसमको कारणले गर्दा माउन्टेन फ्याइट र पोखरा भ्रमण नगरेपछि काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदाहरुको भ्रमण गरेका थिए । उनी भोलि पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजमा भ्रमण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ २१:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×