कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्तको दोस्रो चरणमा १७ सय १५ दीक्षित 

नगेन्द्र अधिकारी

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू) को २७ औं दीक्षान्त समारोहअन्तर्गत दोस्रो चरणमा १ हजार ७ सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्तको दोस्रो चरणमा १७ सय १५ दीक्षित 

शुक्रबार केन्द्रीय परिसर धुलिखेलमा भएको समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज विधाका ११ जना पीएचडी तथा एमफिल ४३ जनासहित आर्ट्सका ३२, एजुकेसनका एक सय, इन्जिनियरिङका ३ सय ५२, म्यानेजमेन्टका १६, मेडिकल साइन्सेजका ९ सय ९६ र साइन्सका २ सय १९ जना दीक्षित भएका हुन् । भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १ सय ५७ विदेशी विद्यार्थी पनि दीक्षित भएका छन् ।

विश्वविद्यालयको इतिहासमा पहिलो पटक बीएस्सी इन कम्प्युटेसनल म्याथम्याटिक्समा १५ जना, एमएस्सी फिजिक्समा ९ जना, एमएस्सी पब्लिक हेल्थ (इपिडियोमोलोजी)मा ५ र एमएस्सी पब्लिक हेल्थ (ग्लोबल हेल्थ) मा ५ जनालाई उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । २०७८ मंसिर २९ गते भएको पहिलो चरणको दीक्षान्तमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विद्याका १२ जना पीएचडी र ३० जना एमफिल सहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका थिए ।

कार्यक्रममा स्नात्तकोत्तर तहमा सबैभन्दा बढी ४.०० सीजीपीए प्राप्त गर्ने स्कूल अफ इन्जिनियरिङका दिपेन्द्र पन्त र सुदिप श्रेष्ठलाई चान्सलर स्वर्णपदक र स्नातक तहमा सबैभन्दा बढी सीजीपीए ३.९९ ल्याउने प्राप्त गर्ने स्कुल अफ आट्र्सबाट अभिप्षा रायमाझीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरिएको छ । स्नातक तह एमबीबीएसमा सबैभन्दा बढी अंक प्राप्त गर्ने मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराका जायज अधिकारीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरियो ।

यसैगरी एमबीए तहमा सबैभन्दा बढी सीजीपीए ल्याउने विद्यार्थीलाई प्रदान गरिने जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टबाट एमबीएमा सीजीपीए ३.९२ ल्याउने आरती काफ्लेलाई र एमबीए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टकै सीजीपीए ३.८ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी श्रीजन भण्डारीलाई प्रदान गरिएको हो । छब्बीसौ दीक्षान्त समारोहमा वितरण गर्न बाँकी रणबहादुर शाह स्वर्णपदक एमबीए तहमा सर्वोत्कृष्ट विध्यार्थी सीजीपीए ३.९७ ल्याउने स्कुल अफ म्यानेजमेन्टका प्रदिपकुमार काफ्लेलाई प्रदान गरियो ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको समारोहमा आईआईटी हैदराबादका निर्देशक बी. एस. मूर्ति प्रमुख अतिथि थिए । कुलपति देउवाले दीक्षितहरुलाई मुलुकमा नै गुणस्तरीय शिक्षा प्रदान गरेर केयूले शिक्षाको लागि विदेसिने पैसा नेपालमा रोके भन्दै प्रशंसा गरे । शिक्षामा गुणस्तर कायम गरेकै कारण विदेशी पनि नेपालको शिक्षाप्रति आकर्षित भएको उनको तर्क थियो । प्रधानमन्त्री देउवाले बौद्धिक बेरोजगारी र प्रतिभा पलायन रोक्नेको लागि विद्यार्थीको रुचिअनुसारको विश्वस्तरीय शिक्षा दिनु अहिलेको आवश्यकता भएको बताए । कोरोना महामारीको बेलामा समेत विभिन्न माध्यमको प्रयोग गरी केयूले आफ्नो शैक्षिक क्यालेन्डर बिग्रन नदिएको भन्दै प्रशंसा गरे ।

आईआईटी हैदराबादका निर्देशक बी. एस. मूर्तिले केयूको शैक्षिक गुणस्तरबाट आफू प्रभावित भएको भन्दै सम्भव भए केयूबाट कुनै विधामा शैक्षिक उपाधि लिन रहर भएको बताए । एकीकृत सहकार्यले दुई देशलाई नै जित–जितको स्थिति हुने भन्दै उनले दृढ इच्छाशक्ति र सिकाईको लागि सधै उत्प्रेरित भइहनुपर्ने बताए । आफूलाई नै विश्वास गर्नुपर्ने भन्दै खुसी रहनु नै सफलताको खुड्किलो भएको तर्क गरे ।

विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले केयूका उत्पादन विश्वका प्रतिष्ठित संस्थामा आफ्नो सीप, ज्ञान र पुँजीको उपयोग गर्दै देशवासीलाई सुखी र समृद्ध बनाउनमा निरन्तर योगदान दिने विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ २०, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×