कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

घोषणापत्रमा पुरानै कार्यक्रम

नगेन्द्र अधिकारी

काभ्रे — स्थानीय तह निर्वाचन २०७९ को लागि दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । मत माग्नको लागि जनताको घरदैलोमा पुगिरहेका दलहरुले नयाँ कार्यक्रम दिन सकेका छैनन् ।

घोषणापत्रमा पुरानै कार्यक्रम

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका गठबन्धन दलले साझा संकल्प–पत्र अघि सारेका छन् भने एमाले लगायतका अन्य दलले आगामी ५ वर्षमा गर्ने कामको खाकासहित प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । सोमबारसम्म गठबन्धनले नमोबुद्ध, पनौती नगरमा आफ्नो साझा संकल्प प्रस्तुत गरेको छ भने एमालेले धुलिखेल, बनेपा र पनौतीमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

गठबन्धनले नमोबुद्धमा शिक्षा, पर्यटन, स्वास्थ्य र पूर्वाधारलाई नै जोड दिएर आफूले ५ वर्षमा गर्ने ‘विकासको खाका’ सार्वजनिक गरेको छ । प्राविधिक शिक्षालय स्थापना र स्तरोन्नती, एक वडामा एक स्वास्थ्य संस्थासहित अनिवार्य एम्बुलेन्सको व्यवस्था, नगरभित्र खानेपानी व्यवस्थापनका निम्ती २ वटा ठूला खानेपानी आयोजना सञ्चालन, एक वडा एक कृषि प्राविधिक, दाप्चा र मेथिनकोट कानपुर क्षेत्रमा कम्तीमा १/१ वटा कोल्ड स्टोर स्थापना गर्नेलगायतका विषय साझा संकल्पमा छन् । निर्माणाधीन दाप्चा सडकलाई बीपी राजमार्ग जोड्ने, अन्य सडक कालोपत्रे र स्तरोन्नती गर्ने, छिमेकी स्थानीय तहसमेत जोड्ने गरी २ वटा चक्रपथ निर्माण गर्ने, नगरपालिका कार्यालयलाई सार्वजनिक यातायातमार्फत प्रत्येक वडासम्म पहुँच विस्तार गर्ने बिषय साझा संकल्पमा परेका छन् ।

नमोबुद्ध नगर प्रमुख पदका उम्मेदवार कुन्साङ लामाले साझा धारणा बनाएर नगरको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए । अघिल्लो पटक पनि नगर प्रमुखका प्रत्यासी रहेका लामाले कार्यान्वयन गर्न नपाएका योजना यो पटक पूरा गर्ने बताए । उपप्रमुखका उम्मेदवार रत्न लामाले समृद्ध नगर बनाउने योजना गठबन्धनले पूरा गर्ने बताए ।

गठबन्धनले पनौतीमा एमालेले नेतृत्व गरेको स्थानीय तहको ५ वर्ष ‘खेर गएको’ भन्दै आफू विजय भएपछि असल शासन, जवाफदेहीता, सहज र प्रभावकारी सेवा प्रवाहमा जोड दिने जनाएको छ । गठबन्धनले गुणस्तरीय स्वास्थ्य, शिक्षा, आधुनिक र व्यवसायिक कृषिलाई प्राथमिकतामा राखेर संकल्प प्रस्ताव प्रस्तुत गरेको छ ।

साझा घोषणापत्रमा गर्भवती महिलाको पोषणको लागि भत्ता, एकल महिला र पुरुषको लागि पनि भत्ता जस्ता लोकप्रियक कार्यक्रम पनि राखिएका छन् । ५ श्य्याको अस्पताल बनाउने प्रतिबद्धता जनाएको गठबन्धनले स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशत बनाउने, प्रत्येक वडामा स्वास्थ्य प्रयोगशाला बनाउने लगायतका विषय समेटेको छ । ६ महिनाभित्र एकीकृत खानेपानी खुवाउने प्रतिबद्धता गठबन्धनको छ । नगरप्रमुखका प्रत्यासी रामशरण भण्डारीले गएको ५ वर्षमा कुनै काम हुन नसकेको आरोप लगाउँदै शून्यबाट काम गर्नुपर्ने अवस्था रहेको बताए । उपप्रमुखका उम्मेदवार छविलाल हुमागाईंले घोषणापत्र कार्यान्वयन गर्न आफूले हातेमालो गर्ने बताए ।

पनौतीमा एमालेले पनि घोषणापत्र सार्वजनिक गर्दै पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरप्रमुखमा पुन: प्रत्यासी रहेका भीमप्रसाद न्यौपानेले अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी काम यो पटक पूरा गर्ने दाबी गरे । ‘अघिल्लो पटक घोषणापत्रमा उल्लेख भएका केही काम पूरा गर्न बाँकी छन्, ती काम यो कार्यकालमा पूरा गर्छाैं,’ न्यौपानेले भने ।

तीन महिनाभित्र विशेषज्ञ सेवासहित नगर अस्पताल सञ्चालन गर्ने, नगरबासीको स्वास्थ्य बिमा, ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पूर्ण स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतापत्रमा छ । पूर्वाधार विकास, शिक्षा, सवास्थ्य, खानेपानी, कृषि तथा पशुपालन, सहकारी, संस्कृति तथा पर्यटन, महिला, बालबालिका तथा जेष्ठ नागरिक, अपांगता भएका, युवा तथा खेलकुदलगायतका विषय प्रतिबद्धता पत्रमा छ ।

एमाले बनेपाले एकीकृत खानेपानी ४ महिनामा पूरा गर्ने योजनासहितको प्रतिबद्धता प्रस्तुत गरेको छ । नगर उपप्रमुखका उम्मेदवार विमला सापकोटा दाहालले गुणस्तरीय शिक्षा, स्वास्थ्य बिमा, नगर अस्पताल स्थापना, दिगो र सर्वसुलभ फोहोर व्यवस्थापन, रोजगारीमूलक उद्योगलाई सुरुका ३ वर्षमा कर छुट, एक वडा एक नागरिक केन्द्र स्थापना आफनो प्रतिबद्धता पत्रमा समावेश भएको बताइन् । बनेपा नगरपालिकामा एमालेका तर्फबाट नगर प्रमुखका प्रत्यासी रत्नकुश रञ्जितकारले विगतका कुरा नकोट्याउने भन्दै घोषणापत्रमा भएका कुराहरु पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘विगततर्फ नजाऔं, यो पटक प्रतिबद्धता पत्रमा भएका काम हामीले पूरा गर्छौं,’ उनले भने, ‘बाँकी काम पनि हाम्रै नेतृत्वले पूरा गर्छ ।’ आफू निर्वाचित भएको ४ महिनाभित्र बनेपालीले एकीकृत खानेपानी पाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

एमाले धुलिखेलले शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, खानेपानी र सरसफाई रोजगार, संस्कृति र सम्पदा संरक्षण, पर्यटन, सुशासनलाई प्राथमिकतामा राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे, धुलिखेल चक्रपथ, ग्रामीण सडकहरुलाई १२ महिना चल्न सक्ने गरी स्तरोन्नती, विद्युतीय नगरबस सञ्चालन लगायतका विषय प्रतिबद्धता पत्रमा छन् । नगर प्रमुखका प्रत्यासी अशोककुमार व्याञ्जु श्रेष्ठले योजनाबद्ध विकास अघि बढाएको भन्दै यसले अन्तर्राष्ट्रिय मानक स्थापना गरेको बताए ।

अन्य स्थानीय तहमा गठबन्धन, एमाले र अन्य साना दलले पनि आफ्नो घोषणापत्र तयारी गरिरहेका छन् ।

प्रकाशित : वैशाख २०, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?