कहाँ गए सुनचाँदीका ढोका ?

‘नाच हुने बेलामा हामीले याद त गरेनौं तर हामीलाई बुबा, हजुरबाले सुनचाँदीका ढोका भएको सुनाउनुहुन्थ्यो’
दामोदर न्यौपाने

काठमाडौँ — दुई हजार वर्ष पुरानो मानिने हरसिद्धि नाच देखाउँदा प्रयोग हुने सुन र चाँदीका ढोका यो वर्ष १२ वर्षे नाच देखाउँदा पनि भेटिएनन् । २०१८ सालदेखि रोकिएको नाच २०६६ सालमा ब्युँतियो । तर त्यही नाच ब्युँताउने बेलादेखि खोजिएको ढोका नभेटिँदा सुन र चाँदीको संकेत जनाउने रङ प्रयोग गरेर यो वर्ष काम चलाइएको छ । 

कहाँ गए सुनचाँदीका ढोका ?

१२ वर्षमा देखाइने हरसिद्धि नाचको पहिलो दिन हरसिद्धि मन्दिरमा देवगण जाने चलन छ । मन्दिरसँगैको पोखरीमा नुहाएर पूजा गरेपछि औपचारिक रूपमा १२ वर्षे नाच प्रारम्भ हुन्छ । मन्दिरमा सुनको ढोका (स्वर्णद्वार) बाट छिरेर चाँदी (रजत द्वार) को ढोकाबाट निस्कने परम्परा थियो । हरसिद्धि मन्दिर जयबागेश्वरी मन्दिरको पश्चिमतिरको भण्डारखाल बगैंचाभित्र छ । देवगण पस्ने स्वर्णद्वार भण्डारखाल बगैंचाको पूर्वदक्षिणतिर पर्छ । निस्कने रजतद्वार भने उत्तरपूर्वतिर पर्छ । जयबागेश्वरी मन्दिरका पूर्वमुख्य पुजारी मृत्युञ्जय कर्माचार्यले पनि देवगण स्वर्णद्वारबाट प्रवेश गरेर रजतद्वारबाट निस्कने परम्परा रहेको बताए । ‘२०१८ सालमा नाच भएपछि २०३० सालमा पनि तयारी थालिएको थियो । त्यसका लागि कौशी तोषाखानाबाट ल्याएर ढोका जडानसमेत गरिएको थियो,’ उनले भने, ‘तर, पछि विभिन्न कारणले नाच भएन ।’ कर्माचार्य त्यतिबेला पनि हरसिद्धि नाच देखाइने डबली छेउको जयबागेश्वरी मन्दिरका पुजारी थिए । उनी उमेर हदले चार वर्षअघि मात्र मुख्य पुजारीबाट अवकाश पाएका हुन् । त्यस्तै पशुपति क्षेत्रका संस्कृतिका ज्ञाता तथा पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्यले पनि आफूले बुबा, हजुरबुबाबाट सुन र चाँदीको ढोकाका बारेमा सुनेको बताए । ‘नाच हुने बेलामा हामीले त सुनको र चाँदीका ढोका त याद गरेनौं,’ उनले भने, ‘तर हामीलाई बुबा, हजुरबाले सुनको र चाँदीको ढोका भएको सुनाउनुहुन्थ्यो ।’

भण्डारखाल बगैंचा घेरिएको पर्खालसमेत यही नाचका लागि भत्काउने चलन छ । सुनको ढोका राख्ने ठाउँमा बिम भने काठकै हुन्छन् । काठको बिम त्यहीं राखेर नाच सकेर ढोका लैजाँदा फेरि पर्खाल लगाएर टाल्ने गरिएको हुन्छ । सुन र चाँदीको ढोका नपाएपछि सुनको ढोका भएको ठाउँमा त्यसको झल्को दिने गरी सुनजस्तै रङ लगाएर काठको ढोका राखेर यो वर्ष काम चलाइएको थियो । चाँदीको ढोका भएको ठाउँमा चाहिँ फलामको डन्डीमा चाँदी रङ लगाएर ढोकाको आकार दिइएको थियो । ‘२०६६ सालमा पनि रङ लगाएर नै काम चलाएका थियौं,’ हरसिद्धि नाच (जलद्योः) व्यवस्थापन समिति अध्यक्ष दिलीप वैद्यले भने, ‘रङ लगाएरै काम चलायौं ।’

१२ वर्ष नाच हुने समय आएपछि ढोका राख्ने र नाच सकिएपछि फेरि ढोका झिकेर लाने गरिएको वैद्यले बताए । ढोका राख्ने र लैजाने काम कौशी तोषाखानाका कर्मचारीले गर्थे । नाच ब्युँताउने क्रममा ढोका पनि सुन र चाँदीकै राख्न स्थानीयवासीले कोसिस गरेका थिए । ढोका खोज्न उनीहरू पशुपति विकास कोषमा गए सुरुमा । कोषले चिठी लेखेर गुठी संस्थान पठाइदियो । दिलीप र जयबागेश्वरी टोल विकास समितिका अध्यक्ष छत्रानन्द वैद्य गुणी संस्थान गए । गुठी संस्थानले प्राचीन सामग्री संग्रह गरेर राखेका ठाउँमा गए । ढोका भेटिएनन् । गुठीले कौशी तोषाखानामा हुन सक्ने अनुमान लगायो । त्यसपछि उनीहरू गुठीको अर्को चिठी लिएर कौशी तोषाखाना गए । तोषाखानाले यस्ता सामग्री भण्डार गरेको ठाउँ देखाइदियो । उनीहरू हनुमानढोका दरबार क्षेत्रसँगै रहेको ढुकुटी घर गए । त्यहाँ भित्र गएर खोजे । ‘तपाईंहरू नै खोज्नुस् भनेर तोषाखानाले हामीलाई ढुकुटीभित्र पठाइदियो,’ वैद्यले भने, ‘त्यहाँ यसैगरी मन्दिरबाट हराएका बहुमूल्य सामान थिए । त्यही खोज्यौं, भेटिएन । नाच आइसकेको थियो । कति अल्झनु भनेर खोज्न छाड्यौं । प्लाइउडमा रङ लगाएर काम चलायौं ।’

दुई पटकको जात्रा सुन र चाँदीका ढोकाबिना नै काम चलाए पनि यसको खोजी भने जारी राखेका छन् । खोजीका लागि अमलकोट कचहरीले पनि चासो दिएको कचहरीका द्वारे पूर्णमान ढंगोलले बताए । हरसिद्धि नाच व्यवस्थापन २०६६ सालमा स्थानीयवासीले गर्नुअघि पशुपति अमालकोट कचहरीले गर्दै आएको थियो । २०१८ सालसम्म अमालकोटले व्यवस्थापन गरेको तर त्यसको १२ वर्षपछि २०३० सालमा भने देवगण शंखमूल आइसकेको अवस्थामा रोकिएको डंगोलले जानकारी दिए । खर्च अभाव भएपछि नाच रोक्नुपरेको थियो । ‘रोकिए पनि समुदायको पहलमा फेरि नाच ब्युँतिएको छ तर ढोकाचाहिँ भेटिएन,’ द्वारे डंगोलले भने, ‘अमालकोटले पनि खोज्न प्रयास गरेको हो तर सकिएन, हाम्रो प्रयास जारी छ ।’ अमालकोट कचहरी भनेको पशुपति क्षेत्रको गुठी प्रशासन तथा पशुपतिनाथ मन्दिरलगायतका क्षेत्र व्यवस्थापनको काम गर्ने मुख्य निकाय हो । २०४४ सालमा पशुपति क्षेत्र विकाष कोष गठन हुनुअघि कोषले गर्ने सम्पूर्ण काम अमालकोट कचहरीले नै गथ्यो । कोषको स्थापना भएपछि पनि लामो समय कचहरी स्वायत्त प्रशासनिक निकाय थियो । २०५५ सालेदेखि भने अमालकोट पनि कोषकै मातहात छ । पशुपति क्षेत्रको गुठी जग्गाको तिरो उठाउनेलगायतका कामको जिम्मेवारी भने कोषले अमालकोटलाई नै दिएको छ । अमालकोटको प्रशासनिक प्रमुखलाई द्वारे भनिन्छ ।

नाच रोकिएपछि लथालिंग भएको हरसिद्धि मन्दिर पनि यही वर्ष अमालकोटका द्वारे डंगोलले व्यक्तिगत खर्चमा बनाइदिएका थिए । बनाउन स्थानीयवासीले विकास कोषसँग अनुरोध गरेका थिए । तर कोषले बनाइदिएन । बनाउन अनुमति भने दिएको थियो । ‘मैले व्यक्तिगत खर्चमा बनाइदिएँ,’ द्वारे डंगोलले भने, ‘अघिल्लो १२ वर्ष नाचको बेलामा मन्दिर क्षतविक्षत अवस्थामा थियो ।’

सुनको ढोकाबाट छिर्ने चलन रहेको भण्डारखाल बगैंचा जंगल क्षेत्र हो । जंगल क्षेत्रमा पनि आफ्नो परम्परा जोगाइराखेको वैद्यले बताए । पशुपति क्षेत्रका विज्ञ संस्कृतिविद् गोविन्द टण्डनका अनुसार अहिले घना जंगल भएको भण्डारखाल क्षेत्रमा कोही बेला मानव बस्ती थियो । विसं १८५६ मा बस्ती उठाइएको अभिलेख छ । भण्डारखाल बगैंचासहित देवपाटनलाई चार किल्ला बाँधेर विसं १८७० मा रणबहादुरको छोरा गीर्वाणयुद्धविक्रम शाहले पशुपतिनाथलाई चढाएको अभिलेखमा उल्लेख छ । जग्गा चढाएर भण्डारखालसहितको रेखदेखको जिम्मा अमालकोट कचहरीलाई नै दिएका थिए । भण्डारखाल क्षेत्रलाई पर्खाल लगाएर घेर्ने काम पनि रणबहादुर शाहकै पालामा भएको थियो । लिच्छविकालदेखि नै भण्डारखाल बगैंचा भए पनि बस्ती उठाएर क्षेत्र अझ विस्तार गरिएको थियो । अहिले भण्डारखालको क्षेत्रफल १३४ रोपनीमा फैलिएको छ । भण्डारखाललाई ११ फिट अग्लो पर्खालले घेर्ने काम पनि रणबहादुर शाहले गरेका थिए । स्वर्णद्वारको भने उचाइ करिब ४ फिट र लम्बाइ २ फिट छ ।

हरसिद्धि मन्दिर भने बगैंचाको पश्चिम दक्षिणतिर पर्छ । यहाँ स्वर्णद्वारबाट करिब सय मिटर पश्चिमतिर जानुपर्छ । डंगोलका अनुसार भण्डारखालको हरसिद्धि बुद्ध धर्म र हिन्दु धर्मको मिश्रणका रूपमा छ । इँटाले बनाइएको डबलीमाथि चैत्य स्वरूपको हरसिद्धि मूर्ति छ । हरसिद्धिको मुख्य मन्दिर रहेको ललितपुरमा पनि तीनवटा शक्तिको प्रतीकका रूपमा रहेको स्वर्गीय लेखक कुलचन्द्र कोइरालाले पुस्तक नेपालका आराध्यदेव भगवान् पशुपतिनाथमा उल्लेख गरेका छन् । कोइरालाका अनुसार हरसिद्धि पीठ माहेश्वरी, वैष्णोदेवी र कौमारीको संयुक्त रूप हो । हरसिद्धिको नृत्य फर्पिङ, भक्तपुर, देउपाटन (पशुपति), धुलिखेल, दोलखा, पनौतीलगायतका स्थानमा समेत देखाइन्छ ।

प्रकाशित : चैत्र ३०, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?