२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

भरतपुरमा कांग्रेसले अघि बढायो उम्मेदवार चयन प्रक्रिया, मेयरका लागि २५ जनाको आवेदन

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट मात्रै २५ जनाको आवेदन परेको छ । कांग्रेसको महानगर समितिले उम्मेदवार बन्न चाहनेहरूबाट आवेदन माग गरेकामा महानगरपालिका प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाको आवेदन परेको छ । स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास भइरहेको छ । तालमेल कसरी गर्ने भन्ने बहसको केन्द्रमा छ भरतपुर ।

भरतपुरमा कांग्रेसले अघि बढायो उम्मेदवार चयन प्रक्रिया, मेयरका लागि २५ जनाको आवेदन

गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गत चुनावमा नेकपा माओवादी केन्द्रलाई मेयर पद छोडेकाले अब आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो गृहजिल्लाको महानगरमा पुनः आफ्नै छोरीलाई दोहोर्‍याउन प्रयास गरिरहेका छन् ।

महानगरपालिकामा कसरी चुनावी तालमेल होला ? भन्ने सर्वत्र चासोका बीच कांग्रेसको महानगर कार्यसमितिले उम्मेदवार चयनका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसक्रममा आकांक्षीहरूबाट आवेदन मागिएको दर्जनौँ नेताहरूले इच्छा जाहेर गरेका हुन् ।

महानगरको प्रमुख र उपप्रमुखमा दाबी गर्नेमध्ये पुर्वमन्त्री, सांसद र पार्टीका केन्द्रीय सदस्यहरू समेत छन् । बागमती प्रदेशका उद्योगमन्त्री मिलनबाबु श्रेष्ठले पनि भरतपुरको मेयरमा दाबी गरेका छन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता हुन् । त्यस्तै, केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङले पनि मेयरमा दाबी गरेका छन् । कोइराला गत चुनावमा उम्मेदवारी मनोनयन गरेपछि फिर्ता गराइएका उम्मेदवार हुन् भने गुरुङ पार्टीका पुर्व जिल्ला सभापतिसमेत हुन् ।

त्यस्तै, मेयर पदको उम्मेदवार बन्न आकांक्षा राख्नेमा निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पुर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगरका पुर्वसभापति भरत अधिकारी, पुर्वजिल्ला कोषाध्यक्ष शंकर कँडेल लगायत छन् । हाल उपमेयर रहेकी नेतृ पार्वती शाह ठकुरीले पनि मेयरमा दाबी गरेकी छिन् ।

त्यस्तै, नेताहरू नीलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दुवाडीले पनि मेयरको उम्मेदवार बन्न महानगरपालिकाबाट सिफारिसमा पर्न चाहेका छन् ।

अब महानगरपालिका कार्यसमितिले आकांक्षा राख्नेमध्ये पार्टीको विधानबमोजिम तीन जनाको नाम सिफारिस गर्नेछ । जिल्ला सभापति राजेश्वर खनालले पार्टीको विधानले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था गरेकाले त्यहीअनुसार तीन जनाको नाम सिफारिस भएर आउने बताए । ्

त्यस्तै, महानगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्न २४ जनाले आकांक्षा देखाएका छन् । उपमेयरका लागि नेताहरू टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ, राजिब न्यौपाने, वीरेन्द्र के सी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवि भद्र शर्मा खनालले दाबी पेश गरेका छन् ।

त्यस्तै, निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले पनि उपमेयरका लागि दाबी गरेका छन् ।

निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन गर्ने मिति तोकेको छ । कांग्रेसको विधानअनुसार महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार चयन केन्द्रीय संसदीय समितिले गर्नेछ । विधानअनुसार भरतपुरबाट सिफारिस भएर आउने मेयर/उपमेयर पदका तीन–तीन जना आकांक्षीका विषयमा जिल्ला र प्रदेश कार्यसमितिको राय लिएर केन्द्रीय संसदीय समितिले निर्णय गर्ने र टिकट दिने व्यवस्था छ ।


प्रकाशित : चैत्र २८, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?