२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

जब शिक्षामन्त्री पौडेल मञ्चमै घेरिए

अनिश तिवारी

सिन्धुपाल्चोक — शनिबार बाह्रबिसे नगरपालिका ३, खुर्बासानी बजारको एक कार्यक्रममा पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई शिक्षकले मञ्चमै घेरा हालेका छन् । जिल्लाको तीन नगर र नौ गाउँपालिकाबाट गुनासो गर्न  जम्मा भएका शिक्षकले शिक्षामन्त्री पौडेललाई विभिन्न गुनासो राख्दै घेरा हालेका हुन् ।

जब शिक्षामन्त्री पौडेल मञ्चमै घेरिए

नेपाल राहत शिक्षक समितिका केन्द्रीय सदस्य पृथ्वीजंग पाण्डेकाअनुसार एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायतका माग शिक्षामन्त्रीसामु राखिएको थियो ।

'शिक्षामन्त्रीले जायज माग पूरा गर्ने आश्वासन दिनुभएको छ, हामीले मञ्चमा घेरा हाल्दै कठिन विषयलाई राहत शिक्षकले पढाउँदै आएकोमा सेवासुविधामा विभेद हुँदै आएको छ,' पाण्डेले भने । पाण्डेले जिल्लाकै दुर्गम गाउँमध्ये एक त्रिपुरासुन्दरी गापा ४ पिस्करबाट शिक्षकको गुनासो बोकेर करिब १४ किलोमिटर हिँडेर बाह्रबिसे आइपुगेको बताए ।

झण्डै चार घण्टा पैदल हिँडेर ज्ञापनपत्र बुझाउन आएका बाह्रबिसे नगर वडा नं २ दुरुम्थली गाउँका स्थानीय शिक्षक बमहादुर तामाङले शिक्षामन्त्रीलाई अस्थायी शिक्षकको समस्या समाधान गरेझैं राहत शिक्षकको पनि समस्या समाधन गरी देशभर एकै प्रकृतिको शिक्षक कायम गर्न अनुरोध गरे । शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यालयमा राजनीति नगर्न शिक्षामन्त्रीको आग्रह

एकीकत अखिल नेपाल शिक्षक संगठनद्वारा शनिबार आयोजित दोस्रो जिल्ला अधिवेशनमा सहभागी शिक्षामन्त्री पौडेलले विद्यालय समयभित्र राजनीति नगर्न आग्रह गरेका छन् । शिक्षकलाई सम्मान गरेमात्रै शिक्षा क्षेत्र आफै सुधारिने र शिक्षलाई अन्तर्राष्ट्रिय सेवा सुविधा दिन आफू कटिबद्ध रहेको उनको बताए । ' विद्यालयमा राजनीति नगरौं, केही काम नपाए शिक्षक बन्छन् भन्ने भ्रमलाई चिरौं, शिक्षक सम्मानित पेसा हो,' पौडेलले शिक्षकसामु भने ।

देशभरमा बागलुङ, चितवन र सिन्धुपाल्चोकका नमुना विद्यालयहरुको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्ने प्रस्ट्याए ।

प्रकाशित : चैत्र २६, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?