२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घण्टौं हिँडेर विद्यालय जानुपर्ने चेपाङ बालबालिका छात्रावासमा

सरिता श्रेष्ठ

(विदाङ, धादिङ) — सुस्मी चेपाङ कालिका माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन् । घर (दुङवाङ) देखि विद्यालय पुग्न उनलाई तीन घण्टा पैदल हिँड्नुपर्छ । बिहान र बेलुका गरी दैनिक ६ घण्टा हिँड्नुपर्दा भोक, थकाइ लाग्थ्यो । त्यही भएर बीचमै पढाइ छाडिन् । विद्यालय पुग्न टाढा, जंगलको बाटो, उकालो ओरालो, भोकप्यास र थकाइले उनको पढाइमा ब्रेक लाग्यो ।

घण्टौं हिँडेर विद्यालय जानुपर्ने चेपाङ बालबालिका छात्रावासमा

घरको काम, मेलापात, भाइबहिनीको स्याहारमा दुई वर्ष गुज्रियो तर पढ्न पाइनन् । बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ विदाङमा कालिका छात्रावास निर्माण भएपश्चात् उनको पढाइमा इँटा थपियो । उनले पढाइलाई फेरि निरन्तरता दिइन् ।

१६ वर्षीय सुस्मीले कक्षा १ देखि ३ सम्म घर नजिकैको जलदेवी आधारभूत विद्यालय, ४ र ५ कक्षा एक घण्टा हिँडेर गोठीभन्ज्याङ आधारभूत विद्यालयमा पढिन् । त्यसपछिको पढाइ पूरा गर्न दूरी बाधक बन्यो । उनी भन्छिन्, ‘घरबाट बिहान ७ बजे हिँड्दा मुस्किलले विद्यालय पुग्थ्यो, भोक, थकानले पढाइमा ध्यान नै जाँदैनथ्यो, बेलुका घर फर्कंदा अँध्यारो हुन्थ्यो जंगलको बाटो हिँड्नुपथ्यो त्यही भएर दुई वर्ष पढ्नै गइनँ ।’ उनीसहित गाउँका अन्य बालबालिकाको कक्षा ६ देखिको पढाइ रोकियो ।

सिमान्तकृत चेपाङ समुदाय बसोबास विकट बस्ती, आर्थिक अवस्था कमजोर भएकै कारण यहाँका अधिकांश बालबालिकाको माथिल्लो कक्षा पढ्ने धोको अधुरो हुन्छ । चेपाङ बालबालिकाका यस्तो समस्यापछि २०७३ मा विद्यालयमा छात्रावासको निर्माण भयो । छात्रावासको निर्माणपश्चात् पढ्ने सपना पूरा भएको छ । सुस्मी तीन वर्षअघिदेखि छात्रावासमा बसेर पढिरहेकी छन् । ‘दुई वर्ष पढाइ रोकिएपछि अहिले छात्रावासमा बसेर पढ्न पाएकी छु, खुसी लागेको छ, बिदाको दिन घर जान्छु,’ उनले भनिन् ।

उनका तीन बहिनी र एउटा भाइ पनि छात्रावासमा बसेर पढिरहेका छन् । सविता चेपाङ (१५ वर्ष) कक्षा ८, अस्मिता चेपाङ (१३ वर्ष) कक्षा ७ र अञ्जन चेपाङ (११ वर्ष) कक्षा ४ मा पढ्छन् । कान्छी बहिनी अनिसा चेपाङ (९ वर्ष) भने गाउँकै विद्यालयमा पढ्छिन् । उनका आमाबुबाले पढ्न पाएनन् । खेतीकिसानीमा दिनरात गुज्रिन्छ । मिहिनेत गरेर लगाएको बालीले वर्षदिनभरि खान पुग्दैन । छात्रावासले उनको परिवार उज्यालिएको छ । छोराछोरीले पढ्न पाएका छन् ।

सुस्मीसँगै एउटै कक्षामा सविता चेपाङ पनि पढ्छिन् । विद्यालय टाढा भएपछि दुई वर्ष पढ्न नपाएपछि सविता पनि दिदीसँगै एउटै कक्षामा पढ्न पाइन् । छात्रावासले पढ्ने धोको पूरा भएको उनले बताइन् । सविता भन्छिन्, ‘छात्रावासले हामीजस्ता बालबालिकाको पढाइलाई निकै नै सहयोग मिलेको छ, छात्रावास नभएको भए गाउँकै मेलापात, घरधन्दामै दिन बित्थ्यो होला ।’ सविता पढेर नर्स बन्न चाहन्छिन् । गाउँमा नजिकै विद्यालय, स्वास्थ्य चौकी निर्माण भएका छैनन्, सडकबाटोसमेत बनेको छैन, पढेर गाउँको मुहार फेर्ने सपना सविताको छ ।

यूएलएम वएस्ली फाउन्डेसनको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित छात्रावासमा १० जना छात्र र १३ जना छात्राहरु छन् । उनीहरु सबै चेपाङ समुदायका हुन् । नि:शुल्क रूपमा बस्ने व्यवस्था मिलाइएको छ । छात्र र छात्रालाई छुट्टाछुट्टै कोठा छ । विद्यार्थीहरु पालैपालो खान बनाउँछन्, सरसफाइ गर्छन् । विद्यालयले समेत बेलाबेलामा निरीक्षण गर्ने गरेको विद्यालयका शिक्षिका सजना मैनालीले बताइन् । उनी भन्छिन्, ‘विद्यालय नजिकै निर्माण भएको छात्रावासले चेपाङ बालबालिकालाई पढ्न सहज भएको छ, छात्रावासमा हामी शिक्षकहरुले बेलाबेलामा अवलोकन गरिरहेका हुन्छौँ ।’ शिक्षा नियमावलीमा समेत दूरीका हिसाबले टाढा भएका विद्यार्थीलाई छात्रावास निर्माण गरिनुपर्ने उल्लेख छ तर टाढा टाढा भएका यस्ता विद्यार्थीहरुले पढ्न पाएका छैनन् ।

अधिकांश चेपाङ समुदाय बसोबास क्षेत्र बेनिघाट रोराङ गाउँपालिकाको शंखादेवी उच्च माध्यमिक विद्यालयमा पालिकाको समन्वयमा प्रदेश सरकारले व्यवस्थित छात्रावास निर्माणको तयारी थालेको गाउँपालिकाको शिक्षा शाखा प्रमुख बोधराज पाठकले बताए । उनले भने, ‘छात्रावासको निर्माणपश्चात् सिमान्तकृत, दलित, आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाइमा टेवा पुग्नेछ ।’


छात्रावासमा बसेर पढ्दै गरेका एकै घरका बालबालिका । तस्बिर : सरिता श्रेष्ठ/कान्तिपुर


प्रकाशित : चैत्र १९, २०७८ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?